काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा सरूवा–बढुवामा चलखेल गरी रातारात मालामाल बन्न खोज्ने केही अधिकृत, उपसचिव र सहसचिवहरुको छटपटी चलेको खबर छ । तत्कालीन मन्त्री अमनलाल मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिर्ता बोलाएर जनमत पार्टीकी नेतृ अनिता देवीलाई मन्त्रालयको जिम्मेवारी दिएसँगै उनीहरुको बम्हलुटको धन्दा समाप्त भएको छ । लगत्तै प्रधानमन्त्री प्रचण्डलाई गाली गर्दै रातारात गृह मन्त्रालयमा सरुवा मिलाएर हिंड्न थालेका छन ।
सचिव डा. कृष्णहरि पुस्कर तत्कालीन मन्त्रीसँग कुरा मिल्न नसकेको कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा मिलाएर हिंडिसकेका छन । सो मन्त्रालयमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका ‘एसमेन’ सचिव विनोद प्रकाश सिंह(सुप)लाई लगिएको छ । कर्मचारी प्रशासनमा बसेर सरूवामा निकै चलखेल गर्दै आएका सहसचिव हेमराज तामाङ, उपसचिव कमान सिंह थापा मगर, खिलाराज राई र मन्त्रीको निजी सचिव रहेका ज्ञाननाथ ढकालले गृह मन्त्रालयमा सरूवा मिलाएर हिंड्ने तरखरमा लागेको चर्चा छ ।
पाँच वर्ष भन्दा बढी समयदेखि मन्त्रालयमा बसेका कर्मचारीको सरूवामा मन्त्री र सचिवलाई समेत गुमराहमा राख्दै उनीहरुले सरुवामा चलखेल गरेर मालदार कार्यालयमा अन्तर निकायमा सरूवाको चाँजोपाँजो मिलाउँदै आएको आरोप खेप्दै आएका थिए । मन्त्रीको निजी सचिव समेत रहेका उपसचिव ढकालले आफ्नै भाइबुहारीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरूवा गरेको भएपनि विरोध बढेपछि फिर्ता गरेका थिए ।
उनीहरुले कतिसम्म बेतिथि गरेका थिए भने २०८० साउन २६ गते सामान्य प्रशासनले १८ जना विभिन्न मन्त्रालयमा कार्यरत उपसचिवहरूको स्थानीय तहमा सरुवा निकालेका थिए । तर, संचारमाध्यमार्फत सम्प्रेसन गराए तर मन्त्रालयको वेभसाइटमा सार्वजनिक गरेनन् । सरुवा गरिएका कर्मचारीलाई मन्त्रालयमा बोलाएर थैली खेती गर्दै सरूवा बदर गराएको चर्चा सिंहदरवार परिसरमा चुलिएको छ ।
सञ्चार क्षेत्रमा सरूवा भएको सूचना चुहाउने तर मन्त्रालयको वेभसाइटमा नराखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्यलाई पत्र पठाएर सोधखोज गरेको खण्डमा यस्ता कुकर्मको पर्दाफास हुने स्रोत बताउछ । दोषी कर्मचारी माथि निर्मम ढंगले कारवाही गर्नुपर्ने आवाज कर्मचारीहरूले उठाउदै आएका छन । (साँघु साप्ताहिक, २०८० भदौ १८)



