काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले अनिता देवीलाई मन्त्री बनाएर मन्त्रालयको सम्पूर्ण कमाण्ड आफैंले लिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवा गरेर आर्थिक चलखेल गर्ने कुरामा बद्नाम छ । यस अघिका मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा व्यापक आर्थिक चलखेल गरेको विषय मिडियामा छरपस्टै भयो । अध्यक्ष राउतले अनितालाई मन्त्री बनाएर मन्त्रालयको सरुवामा आर्थिक चलखेलका लागि एक विवादास्पद पात्रलाई नियुक्ति दिएको आरोप छ ।
मन्त्री साहको अवैतनिक सल्लाहकारका रुपमा राउतले सरुवामा चलखेल गर्न झापाका बुद्धिराज न्यौपानेलाई खटाएको समाचार साँघुले भदौ ११ गते नै प्रकाशित गरेको हो । न्यौपाने नेपाली कांग्रेस कमल गाउँपालिका झापाका अध्यक्ष समेत हुन् । नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षलाई राउतले यस अगाडि खानेपानी मन्त्रालयमा राख्दा सरुवा र ठेक्कापट्टामा आर्थिक चलखेल गरेको अनुभवका आधारमा अहिले सामान्य प्रशासन मन्त्रालयमा सरुवामा खर्च उठाउन परिचालन गरेको जनमत पार्टीभित्रैबाट आरोप लागेको छ र सिकेका नेता कार्यकर्ता समेत रुष्ट भएका छन् ।
पार्टीका एकसेएक नेता हुँदाहुँदै अनिता देवीलाई मन्त्री बनाएर न्यौपानेलाई दूतका रुपमा परिचालन गरी कर्मचारी सरुवा गर्न खटाइसकेका छन् । न्यौपानेले महानगरपालिका, नगरपालिकालगायतका स्थानीय तहमा सरुवा हुने प्रमुख प्रशासकीय अधिकृतहरुसँग राउतले आफूलाई मन्त्रालयको जिम्मा दिएको बताउँदै क्याफे र होटलहरुमा मिटिङ गर्न थालिसकेको जनमत पार्टी स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८० भदौ १८)



