२०४७ बाटै प्रजातन्त्रको आवरणमा बहुदलीय तानाशाही सिन्डिकेटको उदय । जनवर्गीय संगठन मध्येको जेठो ने.रा.शि. संघ (ल्ल्त्ब्) तिनको प्रथम प्रहारको निशाना निर्दलीय पञ्चायती शासनकालमा आफ्नो बलबुतामा २०३६ सालमा स्थापित एवं २०४६ सालको बहुदलीय प्रजातन्त्र प्राप्तिको लागी सहयोद्धाको अहं भूमिका निर्वाह गरेकोे ने.रा. शि. संगठनलाई तिनले दमनको प्रथम निशाना बनाए ।
२०४७ सालको प्रारम्भबाट ने.का. नेता गिरिजा प्र. कोइरालाको इशारामा ने.का पक्षीय शिक्षकहरुलाई ने.रा.शि संगठनबाट अलग्याएर नेपाल शिक्षक संघ नामको भिन्न समूह खडा गरे । तत्पश्चात् मूल संगठनवाट चोइटाइँदै दलहरु पिच्छेका शिक्षक समूहहरु बनाउने क्रम सुरु भयो । चोइटिएर अन्तिम बाँकी रहेको ने.रा.शि. संघको शेष अंश नेता केपी ओलीको डम्फूको तालमा अलोकतान्त्रिक बेढंगको नाच चाच्दै छन् ।
विचार गरी हेर्दा लोकतन्त्रको पनि एक जोडी पँखेटा छन् । ती पँखेटा हुन् ः १) राजनीतिक दल, २) जनवर्गीय संगठन यी पँखेटाको सन्तुलित उडान बिना लोकतन्त्र लक्ष्यमा पुग्न असम्भव छ । स्वतन्त्र पेशागत जनवर्गीय संगठनको सहकार्य एवं प्रयास विना दलहरुको एक्लो प्रयासले मुलुक हाँक्ने दुस्साहस गर्दा विगत साँढे ३ दशकदेखि मुलुकले गति लिन सकिरहेको छैन । रामायणको कथामा जटायुको एउटा पँखेटा रावणको तरवारले काटिएपछि जटायु थला प¥यो, यति राम्रो कथाबाट हाम्रा स्वार्थ अन्ध दलहरुले शिक्षा लिन सकेनन्, जसको फलस्वरूप विगत ३६ वर्षदेखि मुलुकको स्थिति झन् झन् खस्कँदो स्थिति तर्फ अग्रसर छ । यसको एक मात्र प्रमुख कारण जनवर्गीय संगठनको भूमिकाको उपेक्षा ।
हाल जनवर्गीय संठन, पँखेटा काटिए सरह कुँजो अवस्थामा छन् । यी भए पुराना दलहरूको जनवर्गीय संगठनहरुलाई हेर्ने दोषपूर्ण दृष्टि । नवोदित रवि लामिछानेको रा. स्व. पा.को जनवर्गीय संठनलाई हेर्नेे दृष्टि पुराना दलहरुको तुलनामा अझ पूर्ण निषेधित र निरंकुश छ । उक्त पार्टीको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेलामा अध्यक्ष रवि लामिछानेको गर्जन यस्तो छ ः– तपाईंहरु संगठन बनाउने झमेलामा नलाग्नुहोस्, तपाईंका यावत मुद्दाहरू हामी रा.स्व.पा.को संरचना भित्रैबाट संवोधन र समाधान गर्दछौँ । पुराना दलहरुले जनवर्गीय संगठनहरुको स्वहरण क्षतविक्षत र पँखेटा कँुजो बनाएतापनि संगठनको अस्तित्वलाई नकार्न सकेका थिएनन् । रा. स्व. पाले जनवर्गीय संगठनहरुको अपरिहार्यतालाई बुझ्न नसक्नु र निषेध गर्नु मुलुककै लागि दुर्भाग्य हो । यो भनेको नवोदित रा. स्व. पा.को विनाशको संकेत हो ।
निरीह किसान, मजदुर, दलित, महिला आदि शोषित पीडितहरुलाई वर्गीय संगठन नवनाउन उपदेश दिने, रा.स्व.पा, पुँजीपति वर्गको नेतृत्व गर्ने नेपाल उद्योग महासंघ, नेपाल व्यापार संघ, नेपाल उद्योग परिसंघ र बैंकर्स एशोशिएसन जस्ता मालिक संगठनहरुलाई विघटन गर्ने उपदेश दिने हैसियत राख्छ कि, मौन बस्छ हेर्न बाँकी छ । अहिलेसम्मको अभिव्यक्तिबाट रा. स्व. पा. विश्व पुँजीपति क्याम्पको दलाल हो भन्ने पुष्टि हुन्छ । उसले अन्जानमा यी अभिव्यक्ति दिएको हो भन्ने सार्वजनिक माफी माग्नु पर्दछ ।
रा. स्व. पा.ले पुराना दलहरुको पद चिन्हमा हिंड्न छाड्नु पर्छ जस्तैः सांसदले विकासको नाममा लिने गरेका रु ५ करोड त्याग्न सक्नु पर्छ र सांसदहरुलाई निर्माण ठेकेदार बनाउनु गलत कार्य हो । यो विकास निर्माण कार्य स्थानीय निकायको हो । रा. स्व. पा.ले यो रकम स्वीकार गर्छ कि, अस्वीकार गर्छ हेर्न बाँकी छ । अन्यथा उसमाथिको हाल प्राप्त जनसमर्थन खस्किने निश्चित छ । अत: अहिलेको जनसमर्थन चिया कप भित्रको आँधीबेहेरी सावित हुने छ । रा. स्व.पाले जनवर्गीय संगठनलाई हेर्ने दृष्टिकोण र अन्य गल्तीहरुलाई सुधार गरेन भने “दिउँसो तेल नखाने, राति कोल चाट्ने“ उखान उसमा चरितार्थ हुनेछ ।
जनवर्गीय एवं पेशागत संगठनलाई हेर्ने तिन प्रकारको दृष्टिकोण पाइयो :– १) जनवर्गीय संगठनको अस्तीत्व नकार्ने रा. स्व. पा. २) संगठनको स्व–हरण गरी त्यसलाई भजन मण्डलीमा परिणत गर्ने पुराना दल, ३) स्वतन्त्र, एकल जनवर्गीय संगठनको पक्षमा उभिनेहरुसँग मतैक्य राख्ने यो रचनाकार ।
जनवर्र्गीय संगठन र भातृ (भगेनी) संगठन बिचको भिन्नता नबुजेसम्म पठित वर्ग पनि अलमलमा परेका छन् । २०३६ सालमा स्थापित ने. रा. शि. संगठन नेपालको एक मात्र जेठो र स्वतन्त्र पेशागत वर्गीय संगठन हो । ०३६– देखि ०४६ सम्म एक दशक यो संगठनको स्वर्णिमकाल खण्ड रह्यो, यो स्वर्णिमकालखण्डभित्र काम गर्न अवसर पाएका यावत शिक्षकहरु आफूलाई गौरवान्वित सम्झन्छन् । बहुदलको पुनः स्थापना पछि जन्मेका जन्माइएका मूल संगठनवाट चोइटिएर जन्मेका जे जति नामधारी जनवर्गीय संगठनहरु छन् तिनीहरूको स्वतन्त्र हैसियत छैन ।
ती विभिन्न दलका भातृ संगठनको हैसियत मात्र राख्दछन् । किसान, मजदूर, शिक्षक, विद्यार्थी, दलित आदि स्वतन्त्र संगठनहरुले संविधानत एक–एक ओटाले मात्र राष्ट्रिय रुपको वैधानिक र कानूनी मान्यता पाउनु पर्छ । यसो नगरिएको खण्डमा हाम्रो लोकतन्त्रको विगत ३५ वर्ष खेर गए झैँ यस्तै भइरहेमा आगामी ३५०० वर्ष पनि मुलुकले सु–शासन, समुन्नति र शान्तिको राग अलापेरै बित्ने छ ।
जनवर्गीय संगठनहरुको स्वतन्त्रता दलीय तानाशाहीले गर्दा हाल अपहरित अवस्थामा छ अर्थात् लोकतन्त्ररूपी चराको एउटा पँखेटाको सबै प्वाँख काटिएको अवस्थाको छ । तिनीहरुलाई पँखेटा काटिएको जटायुको अवस्थामा पु¥याइएको छ । जसले गर्दा यातायातको सञ्जाल पुगेको चितवन जस्तो जिल्लाका सचेत कृषकहरु पनि आ–आफ्ना जायज मागहरु लिएर जोडदार आन्दोलन गर्ने हैसियतमा छैनन् । ती किसानले मिहेनत गरि पसिना बगाएर उत्पादन गरेका तरकारी, दुध सडकमा फ्याँक्न बाध्य छन् ।
यसको एक मात्र कारण स्वतन्त्र जनवर्गीय संगठनको अस्तित्व हरण हुनु हो । निरंकुश पञ्चायतकालमा एउछै ने.रा.शि. संघले पञ्चायतलाई घँुडा टेकाएर आफ्ना मागहरु पूरा गराएको इतिहास साक्षी छ । शिक्षक संगठन लगायत सम्पूर्ण जनवर्गीय संगठनहरू आ–आफ्नो अनुकूलको राजनैतिक दलहरुको अरौटे–परौटे भजन मण्डलीमा परिणत छन् । यसवाट नाममात्रका सबै जनवर्गीय संगठनहरुले नेपाल वार एशोशिएसनको संगठनात्मक ढाँचाबाट शिक्षा ग्रहण गरौँ, स्वतन्त्र बनौँ र फुटेर होइन संगठित भएर एउटा संगठनमा जुटाँै । यसले गर्दा सांगठनिक खर्च समेत कम हुन्छ । जनवर्गीय संगठनभित्र वैचारिक प्रतिस्पर्धा कायम हुन्छ, यो नै लोकतान्त्रिक अभ्यास हो ।
मुलुक तेस्रो र अन्तिम जनआन्दोलनको पर्खाइमा छ । पहिलो जनआन्दोलन २०४६ सालमा भयो यसले बहुदलीय प्रजातन्त्रको पुनः स्थापन ग¥यो । दोश्रो जन आन्दोलन २०६२÷०६३ मा भयो र त्यसले लोकतन्त्रको स्थापना ग¥यो । कुशल राजनीतिक नेतृत्वको अभावमा ती दुवै आन्दोलनले पनि ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकेनन् ।
भारत, चिन, भियतनाम, दक्षिण अफ्रिकामा एउटै क्रान्ति पर्याप्त भयो र मुलुकलाई दिशावोध गरिरहेको छ । नेपालमा २००७ सालदेखि २०६३ सम्मका सबै आन्दोलनका निर्णयहरु विदेशी भूमिमा, विदेशीको ईशारामा संचालित रहे । जसले गर्दा ती परिवर्तनले नेपालीको अपनत्व पाएनन् र असफल शिद्ध भए ।
अबको क्रान्तिमा सांसद भनौ जनप्रतिनिधि छान्ने मतदाताहरुको तिनकै नेतृत्वमा निर्णायक अन्तिम तेस्रो आन्दोलन हुने छ । मतदाताले विगतको गल्ती दोहो¥याउनु हुने छैन । हाम्रोलाई होइन राम्रोलाई छान्नु हुने छ । मतदाताको जिम्मेवारी मतदान गर्ने काम मात्र होइन, निरन्तर आफूले चुनेको प्रतिनिधि र सम्वद्ध दललाई खबरदारी पनि गरिरहनु पर्छ । निरन्तर खबरदारीको लागी मतदाताहरुले आ–आफ्नो क्षेत्रमा सतर्कता समूहको अभ्यास थाल्नु उचित हुने छ । यसैको नाम हो ब्यालेट क्रान्ति, नौलो प्रयोग ।
स्वतन्त्र जनवर्गीय संगठन जिन्दावाद । जिन्दावाद ।। जिन्दावाद ।।। (साँघु साप्ताहिक, २०८० भदौ ११)



