फलेवास (पर्वत), २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा उनी जेल जीवन बिताइरहेका छन् ।
स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो । मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । “कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले भने, “उसको उमेर नपुग्दासम्म जेलमै बस्नुपर्छ । अब मेरो जीवन उसैको हातमा छ ।”
कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । “उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” पुनले भने ।
निम्न वर्गको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको पुन बताउछन । पुनका एक श्रीमती र तीन छोरा छन् । एक छोरा अपाङ्ग छन् । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै जीवन धान्दैछन् । “उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,” मायाले भनिन, “दिनभरि दुःख गर्यों, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।”
सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उनले बताइन । सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो ।
तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन् । “द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्नसक्ने अवस्था थिएन,” दाजु कुलबहादुरले भने, “अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।” भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी सङ्घसंस्थामा समेत धाइरहेका छन् । रासस



