काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् । संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँगको छलफल पश्चात उनले भोलिसम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र पर्सिदेखि संसद खुल्ने बताए । उनले भने, ‘आजको बैठक संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रित थियो ।
आज निष्कर्ष नआए पनि छलफल सकारात्मक भएको छ । आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउँन सक्नु भएन, आजको छलफलका बारेमा अरुले पनि सल्लाह गर्ने तय भयो । हामीलाई विश्वास छ भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला कि भन्ने आशा गरेको छु । यस्तै उनले सुन प्रकरणको विषयको टुङ्गो सीआईबीले नै लगाउँने भन्दै यसमा कुनै दुईमत नभएको पनि बताए ।
उनले भने, ‘सुन प्रकरणको सन्दर्भमा सीआइबीले अनुसन्धान गरिरहेको छ, सीआइबीले नै यसलाई टुङ्गोमा पुर्याउँछ । अब समग्रतामा यस्तो कार्य फेरि नहोस भन्नको लागि विमानस्थलमा वा अरु भन्सार कार्यालयहरुलाई छलफल गरेर निष्कर्षमा पुर्याउँने कुरा छ ।’



