काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज ( साउन २६ गते शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ ।
एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ । स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै ९ संस्करण खेलेको छ । त्यसमध्ये चार अवसरमा स्विडेनसामु विश्वकप जित्ने अवसर थियो ।
जापान प्रतियोगितामा चुनौती बाँकी राख्न सफल एकमात्र पूर्व विजेता टिम हो । जाम्बिया र कोस्टारिकालाई सजिलै हराएयता जापानले स्पेनलाई समेत चार गोल गरेको थियो ।
नेदरल्यान्ड्सले न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा स्पेनको सामना गर्दै छ । नेदरल्यान्ड्स टोलीकी स्टार मिडफिल्डर ड्यानिल भान डे डोन्क भने आजको खेलमा हुने छैनन् ।
अमेरिकाविरुद्धको खेलमा विपक्षी कप्तान लिन्ड्से होरानसँग झगडा गर्दा पहेलो कार्ड खाएकी उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि कार्ड पाएकी छिन् ।



