काठमाडौँ, २३ साउन (रासस) : इण्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली साउन २२ गते भारतको पुणे प्रस्थान गरेको छ ।
यही साउन २४ देखि २७ गतेसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारी मेघराज कठायतले पाएका छन् ।
सोह्र राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिए ।
टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले एक कार्यक्रमबीच साउन २२ गते बिदाइ गरेका हुन् ।
–––



