काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सिन्डिकेटधारीहरुले चलाउँदैआएका छन् । मन्त्री रमेश रिजाल कमजोर कार्यक्षमता र विषयबस्तुको अल्पज्ञानका कारण सचिवालयका केही कर्मचारीहरुले संचालन गर्दैआएका छन् । निजी सचिवका रुपमा मातृका आचार्य कार्यरत छन् । उनी रिजालको गृहजिल्ला पर्साको कारगार प्रमुखबाट निजी सचिव बन्न आइपुगेका हुन् । भन्न त उनले आफू मन्त्रीसँग पुरानै चिनजानका आधारमा आएको बताउने गरे पनि जेलरका रुपमा कार्यरत रहँदा रिजाल र उनको सम्बन्ध जोडिन पुगेको हो । मन्त्री भएलगत्तै निजी सचिव कसलाई ल्याउने भन्ने चर्चा चलेको थियो । तर, चर्चामै नरहेका आचार्यले निजी सचिवमा बाजी मारेपछि कांग्रेसनिकट निजामती कर्मचारीका नेताहरु आश्चर्यचकित भएका थिए ।
कम बोल्ने स्वभावका आचार्यले गुटबन्दी गरेर मन्त्रालय चलाउँदैआएका छन् । मन्त्रीले क्षमता देखाउन नसक्नुमा आचार्यको पनि भूमिका रहेको बताइन्छ । उनी पनि उद्योग प्रशासनमा नयाँ हुन् । आचार्य निजी सचिवको भूमिकामा पहिलो पटक आएका हुन् । उनी आएलगत्तै उद्योग विभागको महानिर्देशकमा बाबुराम गौतमलाई लगिएको छ । चर्चामै नरहेका र मातृका आचार्यकै जस्तो कम बोल्ने स्वभावका गौतम लामो समय कर प्रशासनमा काम गरेका कर्मचारी हुन् । सहसचिवका रुपमा प्रशासन समूहमा आएका हुन् । गौतमलाई महानिर्देशक बनाउन उद्योग विभागका यसअघिका महानिर्देशक रामचन्द्र तिवारीको ठूलो भूमिका रहेको बताइन्छ । मन्त्रालय होस् वा विभाग, संस्थान संचालनमा पीए आचार्य नै हावी देखिन्छन् । उनलाई सहयोग गर्नेमा द्विपक्षीय क्षेत्रीय ब्यापार महाशाखाका प्रमुख रामचन्द्र तिवारीको सहयोग भूमिका रहँदैआएको छ ।
त्यसैगरी, उद्योग विभागमा लगिएका उपसचिव मनोज रेग्मी पनि यो टीममा सामेल छन् । विभागमा मात्रै होइन, मन्त्रालय लगायत अन्य निकायका नियुक्ति र सरुवामा पनि रेग्मी हावी देखिन्छन् । उद्योग विभागमा सरुवा हुनासाथ ट्रेडमार्क जस्तो आकर्षक शाखाको निर्देशक पाउन सफल रेग्मी पावरफुल कर्मचारीका रुपमा चिनिएका छन् । उनले विभागमा हाजिर गर्नेवित्तिकै महानिर्देशकले प्रयोग गरेको भन्दा पनि महंगो र बिलासी सवारी साधन प्रयोग गर्ने मौका पाएका छन् । भन्सार कार्यालयले जफत गरेको सवारी साधनलाई उद्योग विभागले जरिवाना र कर तिरेर उनकै लागि उक्त सवारी साधन सकारेको छ ।
उक्त सवारी साधन उनले आफैं हाँक्ने गरेका छन् । आर्थिक मन्दीका बेला सवारी साधन खरिद वा लिलाम सकार्ने शीर्षकमा बजेट सून्य रहेको अवस्थामा उद्योग र अर्थ मन्त्रालयमा सेटिङ गरी उनकै लागि आर्थिक बर्षको अन्तिममा ५ लाख भन्दा बढी रकम उद्योग विभागका नाममा निकासा भएको थियो । अहिले उक्त सवारी साधन र महानिर्देशकले प्रयोग गर्ने गाडी सँगै राख्दा जो कसैले पनि उपसचिवले प्रयोग गर्ने हो भनेर विश्वास गर्न गाह्रो छ । कानूनले उपसचिवलाई छुट्टै सवारी साधन र इन्धनको सुविधा दिएको छैन । तर, उद्योग विभागमा भने उपसचिव रेग्मीलाई विलासी गाडीसहित इन्धन र मर्मतको ब्यवस्था गरेको छ । आचार्य, रेग्मी र तिवारी तीन जनाको सेटिङका आधारमा मन्त्रालय, बिभाग र संचालन हुँदैआएका छन् ।
उद्योग मन्त्रालयको सचिव पद एक महिनादेखि रिक्त छ । बाणिज्य सचिव मधुकुमार मरासिनीले उद्योग समेतको जिम्मेवारी सम्हाल्दैआएका छन् । विदेश भ्रमण र आईएनजीओ र एनजीओको कार्यक्रममा जान बढी रुचाउने मरासिनी सहसचिवको लागि आएको विदेशी कोटामा पनि मर्यादा भुलेर आफैं जाने गरेका छन् । मन्त्री रिजालले मरासिनीलाई पनि नरुचाएको भए पनि शक्तिकेन्द्रका आडमा उनको सरुवा हुन सकेको छैन ।
अर्थमन्त्रालय बुझेर देशको दयनीय आर्थिक अवस्थालाई नजिकबाट नियालेर मरासिनी बाणिज्यमा आएपछि खर्च गर्ने मामिलामा उदार देखिएका छन् । सुविधा सम्पन्न कार्यकक्ष हुँदाहुँदै चौथो तल्लामा ५० लाख रुपैयाँख खर्चेर आफ्ना लागि अत्याधुनिक कोठा बनाएका छन् । मरासिनीले मन्त्री रिजालसँग नजिक हुनका लागि पछिल्लो समय उनको इच्छा बमोजिम नियुक्ति र सरुवाका काम खुरुखुरु सदर गरिदिएका छन् । उद्योग सचिवको जिम्मेवारी पाउने आशामा उनले मन्त्रीको आदेश तामेली गर्दैआएको बताइन्छ । उनले उद्योगसमेत हेर्ने जिम्मा पाएपछि अनावश्यक रुपमा कर्मचारीमाथि हस्तक्षेप गर्दैआएको गुनासो रहेको छ ।



