काठमाडौँ, १७ वैशाख : दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ ।
त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सिओलस्थित दूतावासका अनुसार उहाँले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गर्नुभयो । हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत तुम्बाहाम्फेले बताउनुभयो ।
कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा छ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो । —



