काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिएको छ ।
आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेलगत्तै एमालेका सांसद उठेर विरोध जनाए । यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिएपछि बालेकी भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन् ।
उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे । तर, उनीहरुले अस्वीकार गरे । यसपछि अध्यक्ष तिमिल्सिनाले सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे ।
यसैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा देखिएको गतिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन् ।
आइतबारको बैठकमा उनले चार दिनदेखि अवरुद्ध बनेको सदन चालु गराउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका हुन् ।



