• मंगलबार-पौष-२३-२०८१

बागमतीलाई अझै भद्रगोल बनाउँदै मन्त्री : आयोजना प्रमुख परिवर्तन गर्ने चलखेल  

 

काठमाडौं । शहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता विकास यसै पनि भद्रगोल अवस्थामा रहेको छ । त्यसमा पनि आर्थिक वर्ष सकिनै लागेको बेला शहरी विकास मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख तथा सहसचिव प्रदीप परियार चाहिं बागमतीमा नयाँ आयोजना प्रमुख पठाएर झनै भद्रगोल बनाउने खेलमा लागेका छन् । यद्यपि उनको यो खेल भने तत्कालका लागि तुहिएको छ । 


परियारले करिब डेढ साताअघि शहरी विकासमन्त्री सीता गुरुङका स्वकीय सचिव हेमन्त गुरुङसँग साँठगाँठ गरी बागमतीमा रविन्द्र बोहराको ठाउँमा सुवास बस्नेतलाई पठाउन प्रयास गरेका थिए । यसका लागि फाइल समेत उठाउन उनी सफल भएका थिए ।  फाइल मन्त्रीका गुरुङको टेबुलमा पुगेको एक साता पूरा भएको छ । 


 बागमतीको सौन्दर्यीकरणलगायत विभिन्न आयोजनामा एशीयाली विकास बैंकले सहयोग गर्दै आएको छ । आर्थिक वर्ष सकिनै लाग्दा आयोजना प्रमुख परिवर्तन गर्न लागेको  थाहा पाएपछि एडीबीका प्रतिनिधिहरुले मन्त्री गुरुङसँग आपत्ति जनाएका थिए । नयाँ आयोजना प्रमुखको हस्ताक्षर एप्रुभ गर्न मनिला पठाउनुपर्ने र यसका लागि प्रक्रिया लामो र असारसम्म नसकिने बताएपछि मन्त्री गुरुङ आयोजना प्रमुख परिवर्तन गर्ने खेलमा तत्कालका लागि हच्किएकी छन्–स्रोत भन्छ–आर्थिक वर्ष सकिनै लागेको बेला बागमतीमा नयाँ आयोजना प्रमुख पठाउनुमा ठूलो आर्थिक चलखेल छ । सुरुमै १० लाख भन्दा बढी एडभान्स बुझेर बस्नेतको फाइल उठाउन लगाएको आरोप परियारमाथि लागेको छ । 


बस्नेत उपसचिव सरहका कर्मचारी हुन् । जबकि, अहिले बागमती सुधार आयोजनाका आयोजना प्रमुख बोहरा दरबन्दी अनुसार सहसचिव सरहका प्राविधिक कर्मचारी हुन् । बागमती विकास समितिका सदस्य सचिव तथा बागमती सुधार आयोजना प्रमुख सहसचिव सरहको दरबन्दी हुने व्यवस्था छ ।  परियारले दरबन्दी अनुसार खटाइएका  बोहरालाई सरुवा गरी उनको ठाउँमा उपसचिव सरहका बस्नेतलाई कायममुकायम दिने तयारी गरेका थिए । ‘यो भनेको चरम बेथिति हो–स्रोत भन्छ ।  


शहरी विकास मन्त्रालय जस्तो विकासे मन्त्रालय र झण्डै ३ दर्जन सहसचिवसरहका प्राविधिक कर्मचारी रहेको निकायमा प्रशासन हेर्ने परियार निकै अपरिपक्व मानिन्छन् । यही कारण प्राविधिक कर्मचारीहरु परियारसँग निकै चिढिएका छन् । स्रोत भन्छ, मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरूमा सुधार गर्नतिर परियारको चासो जाने गर्दैन । कहाँ कसलाई सरुवा गरी आर्थिक लाभ हुन्छ, उतैितर परियारको ध्यान जाने गर्छ । आफूलाई मन  नपरेका कर्मचारीहरू उनले खोजीखोजी मन्त्रालयबाट सरुवा गराउने गर्छन् । शहरी विकासममा परियार आएको यो असारमा एक बर्ष हुँदैछ, तर यो एक वर्षको अवधिमा मन्त्रालयमा धेरै नै विकृति निम्तिसकेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । 


परियारले अहिले आफ्नो कार्यकक्षमा सीसीटीभी जडान गरेका छन् । मन्त्रालयमा कुन कर्मचारी कसको कोठमा गयो, को को, नयाँ मान्छे आए, कसलाई भेट्यो, मन्त्रीको कोठमा को गयो यसको समेत चियो चर्चा गर्ने गरेका छन् । स्रोत भन्छ, पूर्व शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहसँग अहिले पनि उनको उत्तिकै साँठगाँठ छ । कतिपय विषयमा उनले सिंहसँग सरसल्लाह माग्ने गर्छन् । स्रोत भन्छ, सिंहकै प्रयास र मध्यस्थतामा परियार र बस्नेतबीच आर्थिक लेनदेन भएको हो । 


आर्थिक वर्ष सकिन लाग्दा आयोजना प्रमुख परिवर्तन नगरे पनि साउन लाग्ने वित्तिकै बागमतीमा नयाँ आयोजना प्रमुख पठाउने आश्वासन परियारले बस्नेतलाई दिएका छन् । त्यसैले साउनमा ‘म बागमतीमा जान्छु’ भनेर बस्नेत ढुक्क भएका छन् । स्रोत भन्छ, योबीचमै परियारको चाहिं सरुवा हुन पनि बेर छैन । किनभने परिवारका शक्तिका स्रोत मानिएका मुख्य सचिव शंकरदास बैरागी अहिले मुख्य सचिव छैनन् । बैरागीकै आडभरोसामा परियारले मन्त्रालयमा हैकम जनाएका थिए । अब उनको त्यो हैकम नचल्ने निश्चित छ । (साँघु साप्ताहिक, २०८० असार १८)

प्रतिकृया दिनुहोस