काठमाडौैं । देश आर्थिक मन्दीमा छ । सरकारले खर्च कटौती गर्न अनावश्यक सरकारी संस्थान खारेजीको प्रक्रियामा लगेको छ । देश आर्थिक संकटमा भएको बेला राष्ट्रिय खेलकुद परिषदले भने आगामी २०८० असोज ६ देखि २१ गते (२०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८) सम्म चीनको होङझोउमा हुने १९ औं एसियन गेम्समा पदकै नजित्ने र औचित्य नै नभएका खेलमा समेत भाग लिने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले पदक जित्ने खालका खेलमात्र समावेश गर्न निर्देशन दिए पनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले २९ वटा खेल प्रतियोगितामा भाग लिने निर्णय गरेका छन् । यी २९ मध्ये मुस्किलले ४–५ वटा खेलमा मात्र मुस्किलले एकाध पदक जित्ने संभावना छ । तर, घिसिङले पदक जित्ने कुनै पनि संभावना नभएका २९ वटा खेल समावेश गरी आर्थिक मन्दीको अवस्थामा करोडौं रुपैयाँ सक्ने भएका छन् । सदस्य सचिव घिसिङले रग्बीजस्तो खेलाडी नै नभएको खेलसमेत समावेश गरी त्यसका नाममा समेत चीनमा लाने भएका छन् । जिल्ला र प्रदेश कतै पनि रग्बीका खेलाडी छैनन् । उक्त खेल प्रतियोगिताका लागि नेपाली सेनाबाट खेलाडी माग्नुपर्छ । सेनामा समेत रग्बीका खेलाडी कम छन् । तर रग्बीका नाममा समेत खेलाडी बनाएर आफ्ना १२ जना आसेपासेलाई चीन घुमाउने दाउमा घिसिङ लागेका छन् । घिसिङ खेलकुद परिषदमा आउनुअघि रग्बी संघका अध्यक्ष समेत थिए ।
एकातिर आर्थिक मन्दीको अवस्थामा एसियन गेम्समा २९ वटा खेल समावेश गरेका सदस्य सचिव घिसिङले २०७९ असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको करिब १० करोड पेस्की फस्र्योट हुन सकेको छैन । राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी निर्देशिका २०७८ मा खेल प्रतियोगिता सम्पन्न भएको ३ महिनाभित्र हिसाब फरफारक गर्नुपर्ने प्रावधान छ । तर ९ महिना बित्न लाग्दा पनि पेश्की फस्र्योट हुन सकेको छैन । खेलकुद परिषदका पदाधिकारी र खेलाडीका लागि बस्ने होटलका लागि भनेर लिएको पेश्की फस्र्योट हुननसकेको हो ।
टंकलाल घिसिङ परिषदको सदस्य सचिव भएपछि ऐन कानुन मिचेर कमाउधन्दामा लिप्त भएका छन् । उनले आफ्नै गाडी मासिक २ लाख ६० हजार रुपैयाँ भाडामा परिषदमा भाडामा लगाएर आफैंले प्रयोग गर्दैआएका छन् । घिसिङले नै प्रयोग गर्दै आएको बा २६ च २११७ नम्बरको ल्यान्डक्रुजर प्राडो उनकैै आफन्तको नाममा रहेको स्रोतले बताएको छ ।
घिसिङले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकबाट उक्त गाडी भाडामा लिने निर्णय गराएका हुन् । उक्त गाडी प्रक्रिया नै नपु¥याई भाडामा लिइएको छ । हाल दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङको नाममा उक्त गाडी भाडामा लिइएको भनिएको छ । तर, यातायात कार्यालय एकान्तकुना ललितपुरको सानाठूला सवारी कार्यालयले भने उक्त गाडी स्ट्यान्डर्ड चार्टड बैंकको नाममा रहेको र ऋणी कल्याणी तामाङ भएको जानकारी दिएको छ । उक्त गाडीको ६ महिनाको भाडा रु. १५ लाख ६० हजार भुक्तानी गरिसकिएको छ ।
घिसिङभन्दा पहिलाका सदस्यसचिव रमेश सिलवालसम्मले प्रयोग गरेको गाडी भने परिषदका उपाध्यक्ष शिव कोइराला ज्वालाले प्रयोग गरेका छन् ।



