🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रास्वपा सत्ता केन्द्रित होइन् जनता केन्द्रित छ 

(काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी सांसद हुन्, सोविता गौतम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएकी उनले समग्र युवा पुस्ताको प्रतिनिधित्व गर्ने बताउँदै आएकी छिन् । हालैमात्र वैवाहिक बन्धनमा बाँधिएकी उनी धेरै विवादमा तानिइन् । दोलखाको तामाकोशी गाउँपालिकामा जन्मिएकी उनी राजनितिमा आउनु अघि नेपाल टेलिभिजनमा काम गर्थिन् । उनले त्यहाँ स्वास्थ्य सरोकार नामक स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम चलाउँथिन् । कानूनकी विद्यार्थीसमेत रहेकी उनी युवा पुस्ताकी सांसदमा गनिन्छिन् । उनीसँग मुलुक विकास, व्यक्तिगतलगायतका विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका सम्वाददाताले गरेको कुराकानीको संक्षिप्त अंश : सम्पादक)  

० तपाईं हालसालै मात्र वैवाहिक बन्धनमा बाँधिनुभयो । हाल तपाईंको विवाहको विषयमा धेरै नै टिकाटिप्पणी पनि भइरहेका छन् । यसलाई तपाईंले कसरी लिनुभएको छ ? 
–अब यस्तो हो, मैले सबैले देख्नेगरी विवाह गरेकी होइन् । व्यक्तिगत सवालका कुरा र कामका कुराहरु छुट्टाछुट्टै राख्नुपर्छ भन्ने मेरो धारणा हो । म कहिले पनि आफ्नो व्यक्तिगत कुरा सार्वजनिक होस् भन्ने चाहँदिन् । मैले विवाह गरें भनेर कसैलाई भनेकी पनि थिइन् र सामाजिक सञ्जालमा पोष्ट पनि गरेकी होइन् । म कानून पढेकी विद्यार्थी हुँ । कुन काम कानूनत हो र कुन गैरकानूनी भन्नेबारे मलाईं राम्रो ज्ञान छ । त्यसो भएको कारणले मेरो विवाह बारेमा मलाई विवादमै तान्ने गरी टिकाटिप्पणी गर्नुपर्छ भन्ने विषय हो जस्तो चाहिं लाग्दैन् मलाईं । यो नितान्त व्यक्तिगत विषय भएकाले कसैले बढाईचढाई गर्नुपर्ने त्यति ठूलो ‘ईस्यु’ पनि होइन् । 

० तपाईंको विवाह किन विवादित भयोजस्तो लाग्छ त ? 
–होइन् यो विवादमा चाहिं किन आयो भन्ने ठ्याक्कै त म पनि भन्न सँक्दिन् । यतातिर जाँदै नजाऔं होला । व्यक्तिगत विषय भएकाले यसलाई त्यति उछालिरहन जरुरी छैन् । म मेरो आफ्नो घरभित्रको कुरालाई सार्वजनिक रुपमा बाहिर ल्याउन चाहँदिन् । 

अब राजनीतिक विषयमा प्रवेश गरौं 
० दसदलीय सरकारले प्रस्तुत गरेको बजेटको विषयमा तपाईंको पार्टीका सांसदहरुले निकै असन्तुष्टि जनाइरहनुभएको छ । रास्वपाले यो बजेट पास गर्छ कि गर्दैन ? 

–हामी जिम्मेवार प्रतिपक्षको भूमिकामा छौं । हाम्रो काम सरकारलाई ध्यानाकर्षण गराउने हो । हामीले राखेका प्रस्तावलाई सरकारले कसरी हेरेको छ भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौं । हामीले बजेटमा कुनकुन कुरालाई प्राथमिकतामा राख्ने हो भनेर सुझाव पनि दिएका छौं । कुन क्षेत्रमा कति बजेट विनियोजन गर्ने भनेर सरकारलाई घच्घच्याउनु हाम्रो काम हो । त्यसैअनुरुप रास्वपा अघि बढिरहेको छ । 

० अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गर्नुभएको बजेटले बिग्रिएको अर्थतन्त्रमा सुधार ल्याउने सम्भावना कत्तिको देख्नु हुन्छ ? 
–अहिले मुलुक जुन गतिमा दौडिरहेको छ, त्यसप्रति हामीले मनन गर्नुपर्छ । विकासको स्थिति, सामाजिक स्थिति, पर्यावरणीय स्थितिलाई बजेटले प्राथमिकतामा राख्नुपर्दथ्यो । तर, त्यो हुन सकेन जस्तो लाग्छ । मुलुकलाई निकास र जनतालाई राहत दिने भनेको बजेटले हो । बजेट पनि त्यही ‘मेकानिजम’ को हुनुपर्छ भन्ने हाम्रो माग छ । 

० राष्ट्रपतिबाट प्रमाणित भएको नागरिकता विधेयकप्रति तपाईंको पार्टीले दोहोरो चरित्र देखाएको भन्ने आरोप छ नि, आम नागरिकले यो विषयमा रास्वपाप्रति औंला उठाइरहेका छन् । तपाईंको धारणा के छ ? 
–होइन् होइन्, सबैको बुझाइ अलग हुन्छ । रास्वपा स्थापना भएदेखि नागरिकताको सवालमा आफ्नो धारणा स्पष्ट रुपमा राख्दै आएको छ । जो नेपाली नागरिक हुन्, तिनीहरुले नागरिकता पाउनुहुँदैन् भनेकै छैन् । तर, जो बाहिरबाट आएर नागरिकता प्राप्त गरेर अर्को खालको नेपालमा एउटा फरक मनशाय बोकेर आउँछन्, तिनलाई चाहिं नागरिकता दिन रोक्नुपर्छ है भनेर हामी सरकारलाई बारम्बार सचेत गराइराखेका छौं । त्यही भएर रास्वपाको हिजो पनि धारणा त्यही हो आज पनि यही छ । दोहोरो चरित्रको कुरै आउँदैन् । जो नेपाली नागरिक हो नि उसले नागरिकता बिनाझन्झट पाउनुपर्छ । जो चोर बाटोबाट आउनेले कुनै पनि हालतमा नागरिकता पाउनुहुँदैन् । 

० केही समयअघि तपाईंले सांसदलाई दिने तलबभत्ता र सेवासुविधा अपुग भयो भन्नुभएको थिया े। सरकार अहिले दिइरहेको त दिन नसक्ने अवस्थामा पुगिसकेको छ । तपाईंको विचारमा तलब दिनुपर्ने चाहिं कति हो ? 
–होइन्, यो मप्रति गलत आरोप हो । मैले सेवासुविधा कम भएको भनेर भनेकै छैन् । सांसदहरुले अनुसन्धान गर्नुपर्छ । हामीले त सदनमा उभिएर बोल्नुपर्छ । बोल्नका लागि रिसर्च त गर्नुप¥यो । सांसदले रिसर्च नगरी यत्तिकै बोल्ने हो भने त त्यसको अर्थ रहँदैन् । मैले के भनेको हो भने अनुसन्धानका लागि त्यति तलबले पुग्दैन् । जति राम्रो अनुसन्धान भयो त्यति नै तथ्यका साथ हामी संसदमा उभिन सक्छौं । बोल्न सक्छौं । तर, अहिलेको स्थिति त्यो छैन् । सरकारले दिइरहेको तलबले अनुसन्धान गर्ने हो भने एकछेउ पनि पुग्दैन् । हामी बलियो बन्नुपर्छ, अनि मात्र देश बलियो बन्छ । त्यसका लागि हामीले सरकारसंग निरन्तर माग गरिरहेका छौं ।

० राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको सवालहरु त्यति राम्ररी उठाउन सकेन् भन्ने गुनासो व्यापक आइरहेको छ । यसमा तपाइंको धारणा के छ ? 
–राष्ट्रिय स्वतन्त्र पार्टीले सँधैं जनताको सवाल उठाउने छ र उठाइरहेको छ । सदनमा छिरेको दिनदेखि आजको दिनसम्म जनताको सवालहरुमा हामी केन्द्रित छौं । प्रत्येक सांसदले जनताको जनजीविकासँग सम्बन्धित विषयवस्तुलाई प्राथमिकतामा राखेर उठाइरहनुभएको छ । तर, यो विषयलाई विभिन्न सञ्चारमाध्यमहरुले प्रभावित बनाइरहेको छ । जसका कारणले जनताले गुनासो गरेका छन् भनेर भन्नु आफैंमा गलत हो जस्तो लाग्छ । हामी गएका र भेटेका ठाउँमा जनताहरुले प्रत्यक्ष रुपमा जसरी आवाजहरु उठाइरहनुभएको छ, त्यसलाई निरन्तरता दिनुहोला भनेर आग्रह गरेका छन् । जनताको पक्षमा अझैं धेरै आवाज उठाउनुहोला भनेर हौसला प्रदान गरेका छन् । त्यसकारण हामीले जनताको सवालहरु राम्रोसंग उठाएनौं भन्न मिल्दैन् । 

० मतदाताका अरु के के गुनासो वा माग रहेका छन् नि ?
  –यसमा के छ भने, जनताहरुले जनजीविकासंग सम्बन्धित गुनासोहरु सदनमा पु¥याइदिनुप¥यो भनेर आग्रह गरिरहनुभएको हुन्छ । उहाँहरुले हामीलाई विषयवस्तु पनि पठाउने गर्नुभएको छ । हामीले त्यसैअनुरुप जनताको सवालहरु सदनमा उठाइरहेका छौं । वास्तवमा भन्ने हो भने सदनमा हाम्रो आवाज बढी सुनिन्छ । चित्त नबुझेको ठाउँमा उहाँहरुले विभिन्न माध्यमबाट गुनासो पनि पठाइरहनु भएको हुन्छ ।  आवाज नउठाएको भन्ने त हुँदै होइन् । कहीँकतै कुनै विषय छुट्यो होला, हामी त्यसलाई समेटेर अगाडि बढ्ने छौं । हामी हाम्रो आवाज थप बुलन्द पार्दै अघि बढ्ने छौं । 

० हिजो जुन हिसाबले रास्वपा आएको थियो, त्यो हिसाबले काम हुन सकेको छैन ? यसमा के भन्नुहुन्छ ?
–राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ता भएदेखि सदनमा छिर्दासम्म एक हिसाबको अभियान चलाएको थियो । हामीले सबैमा ऊर्जा बाँडेका थियौं कि अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा अबको विकल्प भनेको नै रास्वपा हो भनेर । हामीले धेरै जनतासँग कुराहरु राख्दै गयौं । सदनमा आइसकेपछि जनताले दिएको ‘म्यानेडट’ अनुसार अहिले हामी चौंथो ठूलो दल राष्ट्रिय दलको हौसियतले स्थापित भयौं । र, प्रतिपक्षमा बसेका छौं । केही समय हामीले सरकारी पक्षसँग बसेर काम ग¥यौं । सरकारमा बसेर काम गर्दा केही अनुभव पनि बटुलेका छौं । हाम्रो पार्टीबाट मन्त्री भएर जानुभएका सांसदहरुले अत्यन्त राम्रा निर्णयहरु गर्नुभएको थियो ।

० अहिले प्रतिपक्षमा बस्दा चाहिं कस्तो अनुभव भइरहेको छ त ?
–अहिले हामी प्रतिपक्षमा छौं, सत्तापक्षमा बस्दा पनि राम्रै काम गरेको थियौं जस्तो लाग्छ । अहिले पनि सकारात्मक सोचका साथ रचानात्मक ढङ्गको भूमिका बढाइरहेका छौं । जनता, मतदाताले जे उपेक्षा गर्नुभएको छ, त्यो हामीले नै देखाएको सपना हो । प्रतिपक्षमा भएको कारणले आजको आज नै सम्भव नभएपनि हामीले आवाजहरु उठाएर मुद्दाहरु स्थापित गर्ने काम गरिरहेका छौं । 

० संसदमा अब जनताले तपाईंलाई कुन रुपले देख्न सक्छन् ? 
–व्यक्तिगत हिसाबले मेलैं सदनमा गएदेखि हरेक समय आफैंले बोल्ने समय आउँदा वा संसदीय अभ्यास गरिरहँदाखेरि सांसदको आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्दैगर्दा जनताको समस्या केन्द्रमा राख्ने गरेकी छु । 

० आगामी दिनमा संसदका विषयबस्तु बारे के सोच्नु भएको छ त ? 
–अबको दिनमा पनि सदैव जनताको पक्षमा आवाज उठ्ने गरेर देश र जनताका पक्षमा विभिन्न मुद्दामा काम गर्छु । विशेषगरी, युवा लक्षित, निम्नवर्गीय, मध्य र्गीय, सम्पूर्ण यो देशको नागरिकको हितको लागि आवाज उठाउने छु । खासगरी मेरो क्षेत्रको लागि उत्तरदायित्व हुनुपर्ने कारणले गर्दा पनि यो क्षेत्रको विकास, समृद्धिका लागि पनि काम गर्ने छु । मलाई सबैले अहिलेकै रुपमा देख्नुहुनेछ । सँधैभरि जनताको लागि इमानदारिताको साथ काम गर्ने सांसद बन्न सक्छु भन्ने छ । 

० तपाईंले संसदीय अभ्यास गर्न थालेको तीन महिना पुगिसकेको छ । कसरी चल्ने रहेछ हाम्रो संसद ? तपाईंलाईं संसदमा अझ केमा सुधार गर्न सकिन्छजस्तो लाग्छ ?
–पहिलो कुरा सांसदमा तीन महिना भन्दा बढी समय बितिसकेको छ । र, यो अन्तरालमा मेलैं धेरै कुराहरु अनुभूति र अनुभव गरेकी छु । मलाई के लाग्छ भन्दाखेरि सदन जुन तरिकाले चलिरहेको छ र संसदीय अभ्यासमा जुन किसिमले भइरहेको छ, त्यसमा केही सुधार आवश्यक छ । जस्तो कि सरकारले बनाएको केही नीति तथा कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि कानूनहरु आवश्यकता पर्दछ । कानून बनाउने थलो संसद हो । र, संसदमा कानून बनाउनको लागि जुनसुकै विषय आएता पनि त्यो विषयमा विचार राख्नको लागि त्यहाँभित्र भएका सबै सांसद उत्तिकै क्षमतावान हुन आवश्यक छ । गहिरो अध्ययन, मनन गरेर विचार राख्न सक्नुपर्छ । 

० सांसदलाई क्षमतावान बनाउन के के गर्दा हुन्छ जस्तो लाग्छ ? 
–तथ्य र अध्ययनको आधारमा विचार राख्न आवश्यक छ । तर, अहिले सांसदहरुले जुन तरिकाले प्रस्तुति राखिरहनुभएको छ, त्यो तथ्य, अध्ययन इत्यादि तरिकाले पूर्ण छ र भइरहेकोजस्तो मलाई लाग्दैन् । त्यसैले सरकारले सांसदहरुलाई एउटा सदनमा विषयबस्तुहरु राम्रोसँग प्रस्तुति गर्नको लागि अध्ययन गर्ने टोली अथवा सांसदहरुलाई अध्ययन गर्नको लागि लगानी बढाउनुपर्छ । 

विशेषगरी अध्ययन अनुसन्धानको लागि सरकारले विशेष ध्यान दिनुपर्छ । नभए कानूनहरु कहिले राम्रा भएर आउँदैन् । राम्रा कानून बनाउने हो भने राम्रा अध्ययन गर्ने र बोल्ने सांसदहरुको आवश्यक पर्छ । सबै सांसद बिच मज्जाले वादविवाद विवाद र छलफल गरेर मात्र कानून ल्याउनुपर्छ । अबको आवश्यकता भनेको सांसदहरु बिच क्षमता अभिवृद्धिका लागि अनुसन्धान टोली बनाउन आवश्यक छ । र, सरकारले यो कुरामा ध्यान दिनुपर्छ ।

० रास्वपा पनि सत्ता केन्द्रित भयो भन्ने गुनासो छ । अरु दलले भन्दा केही फरक रास्वपामा देख्न पाइएन् भनेर गुनासो गरिरहँदा तपाईंहरुले यसलाई कसरी सुधार गर्नुहुन्छ ?
–रास्वपा सत्ता केन्द्रित छैन् । रास्वपा आफैं प्रतिपक्षमा बसिरहेको छ । सत्तापक्षमा हुँदाखेरि हामीले के भनेका थियौं भने न्युनतम साझा कार्यक्रममा हामीले राखेका कुराहरु, हामीले प्रस्ताव गरेका कुराहरु संम्बोधन हुन्छन् भने हामी सरकारलाई सम्बोधन गर्छौं ।हामीले सरकारलाई भनिरहेका छौं, राम्रो काम गर्नका लागि हाम्रो साथ र सहयोग सदैव रहनेछ । सरकारले राम्रो काम नगर्ने हो भने खबरदारी गरिराख्छौं । सुझाव दिइराख्छौं । त्यसैले रास्वपा सत्ता केन्द्रित होइन्, जनता केन्द्रित छ । जनताको हितका लागि आवाज उठाउँछ । रास्वपा आफ्नो नीतिमा स्पष्ट छ । सत्ताको भूमिका होस् या प्रतिपक्षको हामी जनताप्रति जिम्मेवार रहनेछौं ।

० सरकारले गर्ने कार्यशैलीप्रति तपाईंको धारणा के छ ? सरकारलाई के सुझाव दिनुहुन्छ ? 
–राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर सरकारलाई खबरदारी गर्दै आएको छ । सरकारको हरेक निर्णयप्रति हामीले सुझाव पनि दिन्छौं । निर्णय जहिले पनि जनताको हितमा हुनुपर्छ । राजनीतिक मुद्दालाई नभई देशको मुद्दालाई अघि बढाए मात्र विकास सम्भव छ भन्ने रास्वपाको परिप्रेक्ष्य हो । रास्वपा यही सिद्धान्त बोकेर हिँडेको छ । 

० अब रास्वपाका सांसदको देश विकासमा कस्तो भूमिका रहन्छ ? किन कि हिजो रास्वपा जुन जोश र जाँगरका साथ आएको थियो, अहिले त्यो सुस्ताएको जस्तो देखिन्छ । आम नागरिकले समेत रास्वपाप्रति गुनासो पोख्न थालिसकेका छन् । पहिलेकै ‘के्रज’ फर्काउनका लागि तपाईंहरु अब के गर्नुहुन्छ ?
–रास्वपाका सांसदहरु आफ्नो स्पष्ट धारणा बोकेर हिँडिरहनुभएको छ । कसरी अघि बढ्दा उचित होला ? भन्ने सवालमा उहाँहरु निर्धक्क हुनुहुन्छ । स्थानीय तहसंग समन्वय गरेर हुन्छ कि अन्य निकायहरुसंग उहाँहरु आफ्नो कामलाई अघि बढाइरहनुभएको छ । रास्वपाका सांसदहरुले सदनमा निडरताका साथ आफ्ना विचारहरु राखिराख्नुभएको छ । यसरी नै हामी अगाडि बढ्छौं । यसैले हामी स्थानीय वडा, नगरपालिकामा समन्वय पनि गरिरहेका छौं । २०८४ सालमा दुई तिहाइ बहुमत प्राप्त गर्ने लक्ष्य छ हाम्रो कामको कारणले ।