नेपालमा भएका धार्मिक तथा पर्यटन स्थल मध्ये मुक्तिनाथलाई विशेष रुपमा लिइएको पाइन्छ । जति नै तीर्थस्थल गए पनि मुक्तिनाथ गएको छैन भने अपूर्ण नै हुँदो रहेछ । यसकारणले गर्दा पनि धर्ममा आस्था राख्नेहरु एक पटक जसरी भए पनि मुक्तिनाथको दर्शन गरेर आफूलाई मोक्ष बनाउन गएकै हुंदा रहेछन् ।
हाम्रो यात्रा काठमाण्डौबाट प्रारम्भ भएको थियो । पोखरा, पर्वत , बागलुङ् , म्याग्दी हुंदै यात्रा गर्नु पर्ने हुंदा बाटोमा देखिने विभिन्न दृश्यहरुले जो कसैलाई पनि मनमुग्ध बनाएको हुन्थ्यो । काठमाण्डौंको भिडभाडबाट केही दिनको लागि छुटकारा लिन पाउँदा पनि मन त्यसै फुरुंग हुँदो रहेछ । पोखराको वातावरण काठमाण्डौं भन्दा केही राम्रो भएकोले अर्कै किसिमको मजाक आउंनु स्वभाविक हुने नै भयो । त्यस्तै गरी बाटोमा पर्ने पर्वत, बाग्लुङ्ग र म्याग्दीको वातारवरण एवं प्राकृतिक दृश्यहरुले तिर्थालु एवं पर्यटकहरुको मन आकर्षण गर्नु कुनै नौलो कुरो थिएन ।
काठमाण्डौंदेखि मुक्तिनाथको यात्रा अवधि करिब ४ दिनको बनाउंदा सहज हुँदो रहेछ । पहिलो दिन म्याग्दीको बेनी, दोश्रो दिन मुस्तांगको मार्फामा वासबसेर सोही दिनको विहान कागवेनीमा सजिलोसंग पुग्न सकिदो रहेछ । अधिकांश तिर्थालुहरुले कागबेनीमा पितृ तार्नको लागि श्राद्ध गर्दा रहेछन् र हामीहरुले पनि श्राद्ध गरियो । श्राद्ध गर्दा मुख्य रुपमा पुरोहितको आवश्यकता पर्दछ । ब्राम्हणको उपलब्धता पनि सहज भएकोले श्राद्ध गर्न कुनै समस्या भएन । समस्या भनेको करिब बिहानको ८ बजे देखि नै तीब्रगतिमा हावा आउने हुँदा श्राद्धका सामाग्री उंडाएर लान सक्ने धेरै संभावना हुँदो रहेछ । यसबाट जोगिन पुरोहितहरुलाई सकभर चांडो प्रारम्भ गरेर छिटो छिटो सम्पन्न गर्नु पर्ने बाध्यता आउंदो रहेछ ।
मुक्तिनाथ यात्राको सन्दर्भमा केही नसुल्झिने समस्याको पुनरावृत्ति भने भइनै हुँदा रहेछन् । ठाउँ ठाउँमा सडकको नाजुक अवस्था देखियो । सवै भागमा सडक कालोपत्रे हुन सकेको छैन भने भएको ठाउँमा पनि मर्मत संभारको अभाव देखिन्छ । कहीँ फराकिले सडक देखिन्छ भने कहीँ ज्यादै साँंघुरो देखिन्छ । काली गण्डकीकोे किनारै किनार साँघुरा सडक निर्माण गरिएको हुँदा दुर्घटना हुने संभावना बढी नै हुँदो रहेछ । भौगोलिक अवस्थिति, सांघुरो सडक , वर्षाको समयमा पानीको भेल मडारिएर आउने, कमजोर माटोजस्ता कारणहरु नै जोखिम निम्त्याउने कारक तत्व रहेछन् । यी कुराहरुमा सुधार हुन नसकेकोले मुक्तिनाथ दर्शन गर्न जानेहरुलाई अलि खल्लो अनुभव भने हुंदो रहेछ ।
यसको सुखद पक्ष पनि असंख्य देखिन्छन् । मुख्य रुपमा सडकको पहुँच मन्दिरसम्म नै पुगेको, श्रद्धालुहरुलाई पूजा अर्चना गर्न आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपलब्ध हुने , मन्दिरसम्म जान नसक्ने श्रद्धालुहरु वोकिएर , घोडा तथा स्टे«चरबाट जान सकिने सुबिधा भएको हुंदा कुनै पनि तिर्थालुहरुले मुक्तिनाथको दर्शन पाउन नसक्ने भन्ने हुंदो रहेनछ ।
खान बस्नको लागि पनि निकै सहज रहेछ । गर्मीको समयमा प्रायः गरेर होटलहरु भरिभराउ हुँदा रहेछन् । फागुन देखि ज्येष्ठ महिनामा यात्रुहरुको निकै भिड हुने हुंदा होटल पाउन कहिले काहीं अलि समस्या आउँदो रहेछ । बेनी देखि नै वाटोको छेउ छाउंमा होटेल टनाटन भए पनि अलि ढिलो पुग्दा केही असुबिधा भने पक्कै हुंदो रहेछ ।
हाम्रो टोलीले बेनी देखि नै होटेल खोज्दै जांदा सबैलाई पुग्ने होटेल पाउन सकिएन । बाटोमा धेरै होटेल देखिन्छन् तर पाउन भने सकिएन । र, हामी होटेल खोज्दै खोज्दै मार्फासम्म आइपुग्यौ । वल्ल होटल पाइयो र आरामा संग वस्न सक्यौ.। सधै समस्या आउने त पक्कै होइन होला । तर, कहिलेकाहीं यात्रुको चापले गर्दा समस्या आउंछ होला ।
खास गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोे मुक्तिनाथ दर्शन पछि भारतीय धर्मावलम्वीहरुको संख्या ह्वात्तै बढेको रहेछ । अधिकांश तिर्थालु भारतीय नै थिए । कुनै पनि होटलमा भारतीयहरु बसेकै थिए । ती तिर्थालुहरुले धेरैजसो स्कोरपियो गाडीमा आएका देखिन्थे । प्रत्येक होटलका प्रांगणमा ४। ५ ओटा गाडी देखिएकै हुन्थे ।
यसले के देखाउंछ भने मुक्तिनाथ मन्दिरको दर्शनमात्र होइन कि पर्यटन क्षेत्रको विकासको संभावना पनि त्यत्तिकै प्रवल देखिन्छ नै । पर्यटन विकासको लागि आवश्यक हुने संरचना तथा पूर्वाधार निर्माण गर्न सकियो भने बिदेशी मुद्राको दिगो र भरपर्दो आय श्रोत हुने देखिन्छ । यस तर्फ सरकारको ध्यान जानु आबश्यक छ ।
यहां प्रसंग छ मुक्तिनाथ दर्शनको । त्यहां पुग्न काठमाण्डौ देखि करिब ४०० किलोमिटरको यात्रा पार गर्नु पर्दछ । भौगोलिक विकटता, सडकको अवस्था र अन्य पूर्वाधारको अभावले गर्दा सधैभरि आवागमन त्यति सहज हुंदैन । स्थानीय उत्पादनले आवश्यकता पूर्ति गर्न नसकिने भएकोले खाद्यान्न लगायत अन्य सामाग्री बाहिरबाट ल्याउनु पर्दा केही मात्रामा महंगो पनि पर्दो रहेछ । जे भए पनि सामानहरु पाइने भएकोले यात्रुहरुलाई समस्या भने हुंदो रहेनछ ।
तिर्थालुहरुले कागबेनीमा श्राद्ध नगरीकन मन्दिरको दर्शन गर्न हुन्न भन्ने विश्वास पनि रहेछ । कागबेनीबाट केही अगाडि गएपछि मन्दिर जानको लागि सजिलो सिंढी निर्माण गरिएको रहेछ । यसले बृद्धबृद्धा तथा शारीरिक अस्वस्थता भएकाहरुको लागि निकै सजिलो बनाएको देखिन्छ । मन्दिरमा पुगेपछि मन नै अर्कै हुंदो रहेछ । लागेको थकाइ पनि मन्दिर देख्नासाथ त्यसै विलय हुंदो रहेछ । आनन्दले मन गद गद भएर म कहां आइ पुगें † के अचम्म हो यो † कति धेरै यात्रु ! मनै आकर्षण गर्न सक्ने रमणीय वातावरण जस्ता विषयले श्रद्धालुहरुलाई भावुक बनाउंदो पनि रहेछ । मन्दिरको परिक्रमा गरिरहेका भक्तजनहरुको पंक्ति, कल कल आवाज दिंदै एकनासले झरेका १०८ ओटा पानीका धारा, स्नान गरिरहेका श्रद्धालुहरु , शंख घण्टाको कर्ण प्रिय आवाज, भजन किर्तनको सुमधुर आवाज, मानिसहरुको आवागमन, उच्च स्थानमा प्यागोडा शैलीमा निर्मित मन्दिरको अवलोकन गर्दा कस्को मन नरमाउला र ?
काली गण्डकीको किनारै किनार यात्रा गर्नु पर्दा मन त्यसै त्यसै रमाउंदो रहेछ । नदीको चिसो हावाले स्पर्श गर्दा शरीर निकै हलुंगो र फुर्तिलो हुंदा आफ्नै शरीर पनि अरु कसैको हो कि भन्ने लाग्दो रहेछ । बाटोमा पर्ने तातोपानीले आफ्नै महत्व राखेको पाइन्छ । यो कुनै कृत्रिम तातोपानी नभएर प्राकृतिक भएको हुंदा त्यहां नुहाउन आउने विदेशी पर्यटक पनि अचम्म मान्दा रहेछन् । तातोपानीका धाराहरुमा नुहाएर पुनः कुण्डमा नुहाउंदा शरीरको अंगहरुमा सक्रियता बढेको अनुभव हुंदो रहेछ । जमिनको भित्री भागबाट निस्किएको पानीमा विभिन्न खनिज पदार्थको सम्मिश्रणको गन्धले मानिसहरुमा एक प्रकारको जिज्ञासा पैदा गर्दो रहेछ पनि । लामो समयसम्म तातो पानीको कुण्डमा खेली खेली स्नान गर्न पाउंदा शरीरमा भएका घाउ, खटिरा र अन्य रोगहरु पनि हराउने विश्वास मानिसमा हुंदो रहेछ । यो विश्वासमा बैज्ञानिक आधार पनि हुन सक्दछ किनकि त्यहां विभिन्न रासायसनक तत्व मिसिएका छन् ।
मुक्तिनाथ यात्राको अर्को विशेषता भनेको स्याउ खेती रहेछ । काली गण्डकी को एकतर्फी किनारका खुरीखण्डे पाखापखेरामा स्याउखेती प्रशस्त देखिन्छन् । रुखो माटो देखिए पनि स्याउको खेती भने राम्रो हुंदो रहेछ । स्याउका चाना बनाएर बेमौसममा पनि उपलब्ध हुने हुंदा स्याउले राम्रै ब्यापार लिंदो रहेछ । अर्को कुरा काली गण्डकीको किनारमा शालीग्राम पाइने भएकोले पनि मुक्तिनाथ भन्ने वित्तिकै पर्यायबाची शब्दको रुपमा शालीग्रामलाई लिइंदो रहेछ । अचम्म लाग्ने के कुरा रहेछ भने झारपात नभएको डांडामा पनि च्यांग्राहरुले माटोमा मुन्टो गाडेर जडिबुटी खोजेर पेट भर्दा रहेछन् । त्यसकारण च्यांग्राको मासुलाई मानिसहरुले औषधिको रुपमा लिंदा रहेछन् ।
अन्त्यमा
नेपालमा भएका ४ धामहरुमा पशुपति क्षेत्र,रुरु क्षेत्र, मुक्ति क्षेत्र र बराह क्षेत्रलाई हिन्दु तथा बौद्ध मार्गिहरुले निकै पवित्र तिर्थस्थलको रुपमा लिने गर्दा रहेछन् । विभिन्न स्थानहरुमा हिन्दु र बुद्धको मूर्ति संगसंगै स्थापना भएका हुंदा हामी नेपाली धर्मप्रति कति सहिष्णुता रहेछौं भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यहां धर्मको विषयलाई लिएर कहिल्यै विवाद आउंदो रहेनछ । जहांसुकै तिर्थ गर्न गए पनि मुक्तिनाथ गएको छैन भने फल प्राप्ती नहुने भनाइले गर्दा मुक्तिनाथ दर्शनको बढी महत्व रहेछ ।
विदेशबाट समेत हिन्दु धर्माबलम्बीहरु मुक्तिनाथ दर्शनको लागि आउने हुनाले यो नेपालको लागि मात्र नभएर विश्वकै तिर्थस्थलको रुपमा मान्न सकिन्छ । अर्को कुरा यो स्थलमा तपस्या गर्दा अर्को जुनिमा मुक्ति पाइने हुंदा यसको नाम मुक्तिक्षेत्र भनिएको भन्ने किंवदन्ती रहि आएको छ । हिन्दु विश्वास अनुसार जन्म,मृत्यु र पुनर्जन्म भनेको खासै केही होइन । मुख्य कुरो भनेको जन्म र पुनर्जन्मबाट छुटकारा पाएर निर्वाणत्व प्राप्त गर्नु हो भन्ने विश्वास रहि आएको पाइन्छ ।
मुक्तिनाथ मन्दिरको आफ्नै महत्व रहेको देखिन्छ । १०८ ओटा गाईका मुखबाट अविरल रुपवाट पानी आएको दृश्यले सवैलाई मुग्ध बनाएको हुन्छ । भक्तजनहरुले नुहाएको दृश्य झनै राम्रो देखिन्छ । यी धाराहरुलाई मुक्तिधारा भनिदो रहेछ । स्नान गरेपछि जीवनमा आउने सवै प्रकारका उतार चढावबाट मुक्त हुने हुंदा मुक्तिधारा भनिएको रहेछ ।
यसरी गाईको मुखबाट बगेर गएको पानीका दुई पोखरी देखिन्छन् र कतिपय भक्तजनहरु यी कुण्डमा समेत स्नान गर्दा रहेछन् । हिन्दुहरुले मुक्तिनाथलाई विष्णुको रुपमा लिने गरेका हुन्छन् भने बुद्धिष्टहरुले महात्मा बुद्धका रुपमा लिने गर्दछन् । यसकारणले गर्दा पनि मुक्तिनाथ दुवै धर्मावलम्बीहरुले समानरुपमा आदर गर्दछन् ।
विष्णुको रुपमा चिनिने यो मन्दिर मुक्तिनाथ उपत्यकामा पर्दछ र यो समुद्र सतह देखि करिव ३७१० मिटरको उचाइमा छ । कागवेनी , जोमसोम , मार्फा , तातोपानीजस्ता रमणीय स्थानहरुले मुक्तिनाथ दर्शनको झनै महत्व बढाएको देखिन्छ । भक्तजनहरु र पर्यटकहरुको बढ्दो आगमनले गर्दा यस क्षेत्रको विकास पनि भई रहेको अवस्था छ । त्यसकारण एक पटक भए पनि धार्मिक दृष्टिकोणले र पर्यटकको रुपमा जानै पर्ने ठाउं रहेछ मुक्तिनाथ ।
–(गुप्त भण्डारी, शिवभक्त घिमिरे र गोकर्ण पोखरेलको सहयोगमा तयार गरिएको संक्षिप्त आलेख ।)



