सिमालुङ्गाउन, ६ असार : इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी झण्डै दुई सय जना व्यक्ति मरेको आशंका गरिएको छ । खोजीकार्य जारी रहेकाले अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन भने सकेको छैन ।
प्रख्यात पर्यटकीय स्थलको रूपमा रहेको सुमात्रा द्वीपको तोबा तालमा सो डुङ्गा दुर्घटना भएको थियो । डुबेका वा बेपत्ता भएका व्यक्तिहरूलाई बचाउने क्रममा खोजी तथा उद्धार कार्यका लागि सयौँको उद्धारकर्मीको टोली खटिएको छ ।
हालसम्म यस उद्धारकार्यको क्रममा तीन व्यक्तिको मृत्यु भएको र १८ जनालाई उद्धार गरिएको पुष्टि भएको छ । विना टिकट नै यात्रा गरेकोले डुङ्गा गैरकानूनी भएको बताइएको छ ।
इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनका रुपमा डुङ्गा प्रयोग हुने गरेको छ । इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा काठबाट बनेको एक डुङ्गा दुर्घटना हुँदा करिब ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।



