काठमाडौं । विगत ६ वर्षदेखि अस्पाताल हाताभित्र रहेको क्यान्टिन विना खुला प्रतिस्पर्धा एकै व्यक्तिलाई दिएर अस्पताल व्यवस्थापनले संचालकसँग बार्षिकरुपमा लाखौं रकम घुस असुल्दै आएको आरोप छ । हरेक दुई वर्षमा सरकारी नियम अनुसार सार्वजनिक रुपमा खुला टेण्डर आव्हान गरी जसले कम मूल्यमा खाना र खाजा खुवाउन बोलकवोल गर्छ सोहीसँग संझौता गर्न‘पर्ने हो । तर, अस्पताल प्रमुखले यो बिषयलाई पुरै नजर अन्दाज गर्दै संचालकसँग बर्षौंदेखि साँठगाँठ गर्दै आएकोमा कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।
क्यान्टिन संचालकले पनि अस्पताल प्रमुख र लेखा प्रमुखहरुलाई खुसी पारेर अस्पतालका कर्मचारीलाई सर्वसुलभ मूल्यमा र उपचारका लागि अस्पतालमा भर्ना भएका विरामीहरुसँग भने मनपरी ढंगले रकम असुल्दै आएको गुनासो छ । हरेक दुई दुई वर्षमा हुनुपर्ने टेण्डर आव्हान गर्न अस्पताल प्रमुख भुपेन्द्र बस्नेतलाई किन र कसले रोकेको छ भन्दै अस्पतालका कर्मचारीले प्रश्न तेस्र्याउदै आएका छन् ।
उता, २०७९ साउनदेखि असोज तीन महिनाको लागि आवश्यक हाउसकिपिङका सामग्रीमा ठुलो रकम घोटाला गरिएको छ । त्यो कुरा स्वयम् अस्पताल प्रमुखले नै सिद्ध गरिदिएका छन् । साउन महिनामा तीन महिनाको लागि ७ सय किलो भए पुग्नेमा ७ हजार किलो प्लाष्टिक झोला खरिद गरिएको थियो । त्यो पनि बजार मूल्य भन्दा तेब्बर मूल्यमा खरिद गरिएको थियो । २०७९ कात्तिकदेखि पुस महिनाको लागि भने दुई सय किलो मात्र खरिद गर्न अस्पतालले स्वीकृति दिनुले पनि घोटालाको स्वत पुष्टि भएको छ ।
अस्पतालका व्यवस्थापकले सप्लायर्ससँग मिलेर गरेका घोटाला सम्वन्धी समाचार निरन्तर रुपमा समाचारमाध्यमा प्रकाशित भएपछि डा. बस्नेत अत्तालिएर टेण्डर आव्हान गरेको खबर छ । यस अघि प्रति केजी सात सय मूल्यमा खरिद गरिएको प्लाष्टिक झोला प्रति केजी ४० रुपैयाँमा उपलव्ध गराउने गरी हालै व्यवसायीसँग संझौता गरिएको खबर छ । यो नै घोटालाको एथेष्ट प्रमाण भएको अस्पतालका कर्मचारीहरू बताउँछन् ।
व्यवसायीले प्लाष्टिकको झोलाको मूल्य कम राखेर अरु सामाग्रीको मूल्य भने तेब्बर बढाएर टेण्डर बिट गरेको खबर छ । यो वा त्यो नाममा सप्लायर्ससँग मिलेमतो गरी अस्पताल प्रमुख डा. बस्नेतले अस्पताललाई अनियमितताको थलो बनाएको आरोप छ । यस सम्वन्धमा वास्तविकता बुझ्न साँघु प्रतिनिधिले प्रमुख बस्नेतसँग २०७९ मंसिर १८ गते आइतवार विहान १० बजे पटक पटक फोन गर्दासमेत सम्पर्क हुन सकेन ।



