केही गम्भीर सवाल !
*****
१. गिरिजा प्र. कोइराला प्रधान मन्त्री र पार्टी सभापति हुँदा कृष्णप्रसाद सिटौलाप्रति सुशील कोइरालाको बारे राम्रो धारणा थिएन। सिटौलाको गलत सल्लाह र प्रभावमा परेर नै गिरिजा प्रसादबाट धेरै गलत निर्णयहरु भएको कुरा सुशील कोइरालाको मुखबाट सुन्ने धेरै छन् र हामी पनि छौं।
२. कोइराला परिवार भित्रकामा राजनीतिमा लागेका मध्ये डा.शेखर कोइराला सवैभन्दा प्रभावशाली पनि हुन् , प्रष्ट वक्ता छन् र उनमा तीक्ष्ण राजनीतिक समझ पनि छ। कोइराला परिवारका तर्फबाट भोलिको पार्टी सभापति तयार गर्ने क्रममा सुशील कोइरालाले पार्टी महामन्त्रीमा उनलाई मनोनित गर्लान् भन्ने धेरैलाई लागेको थियो। तर,
तर गिरिजाबाबुलाई बिगार्ने भनेर स्वयम सुशील कोइरालाले भन्नेगरेका तिनै कृष्णप्रसाद सिटौला नै सुशील कोइरालालाई पनि नभै भएन। र, शेखरलाई बाहिर-पाटो लगाउन तयार भए किन ?
३ . कुनैबेला किसुनजीका अत्यन्त निकट र किसुनजी कै बलियो संरक्षणका कारण राजनीतिमा जमेका रामचन्द्र पौडेलले अत्यन्त कठीन क्षणमा किसुनजीलाई छोडे किन ?
४. शेरबहादुर देउवालाई नेपाली काङ्ग्रेस फुटाउन उकास्नेहरु, र नयाँ पार्टीमा केन्द्रीय सदस्य रहेकाहरु र उनीहरुकै लागि शेर बहादुर देउवाले गरिदिएको कडा राजनीतिक मोल-मोलाईको कारण पछि मूल पार्टीमा पनि केन्द्रीय सदस्यमै सरुवा भएर आएका धेरैजना अहिले शेरबहादुरका कडा राजनीतिक विरोधी बनेका छन्; किन ?
५. जसलाई टुँडिखेलबाट देशका सबै भन्दा भ्रष्ट भनेर पार्टीको तर्फबाट घोषणा गरे, उनै प्रदीप नेपाल तिनैका राजनीतिक सल्लाहकार बसे; किन ?
६. मानिसहरुका आफ्ना राजनीतिक आस्था पनि बदलिन्छ, विश्वाश पनि बदलिन्छ किन ?
७. संभवत : यो कुनै अवसरवादीता मात्र होइन होला ! वैचारिक अस्थीरता मात्र पनि शायद होइन होला ! राजनीतिक यथार्थतालाई बुझ्ने र ग्रहण गर्ने एउटा ठीक/ बेठीक नजरिया पनि हो कि ?
८. संसारका प्रमुख आर्थिक शक्तिहरुले अत्यन्त आदरपूर्वक सुनिने वीशौं शताव्दीका एक महान अर्थशास्त्री थिए। उनको नाउँ हो, जोन मेन्यार्ड किन्स। एकपटक एउटा पत्रकारले सोध्यो –“ तपाइँलाई वैचारिक रुपमा अस्थीर भनिन्छ नी, किन ?”
किन्सले जवाफ दिए र प्रति-प्रश्न पनि गरे “ हो जव तथ्यहरु बदलिन्छन् म आफ्नो विचार पनि बदल्छु, तपाइँ के गर्नु हुन्छ श्रीमान् ?”
९. जव तथ्य बदलिन्छन्, जव समय बदलिन्छ, जव मानिसहरुका भूमिका बदलिन्छन् र सन्दर्भ बदलिन्छ, तब मानिसका विचार पनि बदलिन्छन् ।
सवाल एउटै बाँकी बस्छ – मानिसले निष्ठा वा इमान बदल्यो कि बदलेन ? चरित्र बदल्यो कि बदलेन ? एउटा मानिस मानिसनै रहनेगरी उसले विचार बदल्यो कि मानवीय मूल्य नै नरहनेगरी र स्वार्थको एउटा मूढ अस्तित्व मात्र रहने गरी विचार बदल्यो ? फरक त्यहाँ मात्र हेर्ने हो ।
-Keshav Prasad Bhattarai



