काठमाडौं । नेपालको चुनाव पर्यवेक्षणका लागि पहिलो पटक रुसबाट टोली आउने भएको छ । निर्वाचन आयोगबाट स्वीकृत लिएर उनीहरु पर्यवेक्षणका लागि आउन लागेका हुन् । नेपालको चुनावको इतिहासमा पहिलोपटक रुसले पर्यवेक्षणमा रुची देखाएको हो । युक्रेन आक्रमणपछि रुसले संसारभरी नै आफ्नो प्रभाव विस्तारको रणनीति लिएको छ । आफ्नो सम्बन्ध विस्तार भएका देशहरुसँग कूटनीति र अन्य सम्बन्धबाट इन्गेजमेन्ट बढाइरहेको छ । त्यही क्रममा रुसले नेपालको चुनाव पर्यवेक्षणमा आउन लागेको विश्लेषण भइरहेको छ ।
केही साताअघि सुटुक्क नेपाल भ्रमण गरेर रुसका एक मन्त्री फर्किएका थिए । अहिले रुसले नेपाललाई प्राथमिकतामा राखेर काम गरिरहेका संकेत पनि हो । यही कारण रुसले नेपालाई यसरी प्राथमिकतामा राखेर किन कूटनीतिक र अन्य गतिविधि विस्तार गरिरहेको छ, भन्ने चाहिँ रहस्यको विषय बनेको छ । विगत केही वर्षसम्म रुस नेपालको सन्दर्भमा मौनजस्तै थियो । हुन त, कोभिडभन्दा अघि रुसका राष्ट्रपति भ्याल्दिर पुटिन नेपाल भ्रमणमा आउन सक्ने संकेत नेपालले पाएको थियो ।
त्यही संकेतका आधारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस भ्रमणमा गएका थिए । तर, कोभिड–१९ का कारण देशको परिस्थिति बिग्रिएपछि उनी आउने संकेत सेलाएर गयो । तर, युक्रेन आक्रमण गर्नु अघि पनि रुसले नेपालमा सक्रियता बढाएको थियो । त्यो सक्रियतालाई विस्तार गरेर अहिले चुनावी पर्यवेक्षणमा समेत जोडिएको छ । संयोग चाहिँ यो वर्ष रुस पर्यवेक्षणमा आउने तर विगतमा पर्यवेक्षण गरिरहेको युुरोपियन युनियन चाहिँ नआउने भएको छ । यसलाई पनि निकै रहस्यको रुपमा हेरिएको छ ।



