काठमाण्डौ । चुनाव मुखमै आइसकेको छ । र, यता नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक दीपक भण्डारीलगायतका उच्च अधिकारीहरु भने तत्कालीन कृषिमन्त्री मृगेन्द्र कुमार सिंहसंगको ‘उधारो कारोबार’ मिलाउन व्यस्त छन् । नार्कको मधेश प्रदेश निर्देशनालय रहेको हर्दिनाथमा सिंह, भण्डारीले ‘डिनर’ बैठक गरेका थिए । निर्देशनालयका प्रमुख, मन्त्री सिंह र उनका ‘निजी विज्ञ’ विशेश्वर यादवको संयोजनमा भएको ‘डिनर’ मिटि∙मा पनि भण्डारीले हिसाब किताब पुरै सल्टाउन नसकेको स्रोत बताउँछ ।
त्यहीकारण सिंहकी छोरी बबि सिंहले ‘चुनाव अगाडि नै सबै हिसाब मिलाउन’ तारन्तार दवाव दिएपछि भण्डारी अहिले तनावमा रहेको स्रोत बताउछ । एकातिर सिंहले ‘हिसाब मिलाउन’ दबाब दिने, हिसाब नमिलाए ठीक नहुने भन्दै धम्की दिने र अर्काेतर्फ यही बेला आफूले गरेका काण्डहरुको बारेमा संचार माध्यममा छताछुल्ल भएपछि भण्डारी दोहोरो तनावमा परेको बताइन्छ । त्यहीकारण उनले ‘चुनाव पछि छोड्छु होला’ भन्न थालेका छन् ।
सिंहका बाबु छोरीले भण्डारीलाई ‘हिसाब मिलानको लागि’ दबाब दिइरहे पनि अझै कति रकम बाँकी छ भन्ने खुलेको छैन । भण्डारीले ‘मन्त्रीलाई बुझाउनै प¥यो, सहयोग गर्न‘ प¥यो’ भन्दै मातहतका अधिकारीहरुसंग रकम उठाएका थिए । त्यसक्रममा तिहार अगाडिसम्म रु. १५ लाख ५० हजार उठेको र निर्देशकहरुले अलग्गै थप रकम उठाएर तत्कालीन मन्त्री सिंहलाई बुझाएको भण्डारीका एक सहयोगीले साँघुलाई बताए ।
तत्कालीन मन्त्री सिंहले भण्डारीलाई भ्रष्टाचारमा लिप्त भएको, कार्य क्षमता नभएको लगायतका आरोप लगाउंदै ०७९ भदौ २६ गते कार्यकारी निर्देशकबाट हटाएका थिए । तर, त्यसको एक साता नवित्तै मन्त्री सिंहले भण्डारीलाई ‘उच्च कार्य दक्षता भएको’ भन्दै पुनर्नियुक्ति दिएका थिए । ४, ५ दिन अघि भ्रष्ट र कार्य कुशलता नभएको भन्दै खोसुवा गरिएको व्यक्तिमा ३, ४ दिनभित्रै मन्त्री सिंहले के आधारमा उच्चकार्य क्षमता देखेर पुनर्नियुक्ति दिए ? भण्डारी निकटका एक उच्च अधिकारी भण्डारी र तत्कालीन मन्त्री सिंहबीच निकै ठूलो लेनदेनमा कुरा मिलेको दावी गर्छन् । भण्डारीले मन्त्री सिंहलाई शुरुमा केही भुक्तानी गरेको र बाँकी उधारो राखेको हुनाले अहिले ताकेता गरिरहेको उनको भनाई छ ।
‘भण्डारीसंग लेनदेनको कुरा मिलाएपछि मन्त्री सिंहले उनलाई फेरि कार्यकारी निर्देशक त बनाए, त्यसको केही समयमा सिंह नै मन्त्री रहेनन् । त्यसमाथि चुनाव आइरहेको अवस्थामा सिंहको तर्फबाट उनकी छोरी बबि सिंहले ‘उधारो’ उठाउन ताकेता गरिरहेको कर्मचारी स्रोत बताउछ ।
कारवाही गर्नुपर्नेलाई पुरस्कार !
पुनर्नियुक्ति पाए लगत्तै भण्डारीले भ्रष्ट व्यक्तिहरुलाई छानीछानी पुरस्कृत गरिरहेका छन् भने आफ्नो भ्रष्ट कृयाकलाप साथ नदिनेहरुलाई भने निरन्तर प्रताडित गरिरहेको गुनासो गरेका छन् । त्यसैक्रममा उनले प्रशासन निर्देशक नवीन पौडेललाई कुनै पनि जिम्मेवारी नदिई हटाएका छन् र उनको ठाउँमा भानुभक्त पोख्रेललाई नियुक्त गरेका छन् । पोख्रेल गतवर्ष भएको धान काण्डका मुख्य दोषी मानिएका थिए ।
कोरोना भाइरस (कोभिड– १९) को महामारीको बेला राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ बनिनियाका कार्यालय प्रमुख रहेका पोखरेलले ३० टन जति धान चोरेर बेचेको पुष्टि भएको थियो । उक्त कार्यालयले करिब ७० टन धान र मूल बिउ समेत उत्पादन गरेकोमा पोखरेलले स्टोर किपर गोपाल श्रेष्ठसंग मिलेर ४० टन मात्र उत्पादन भएको रेकर्ड बनाएको पुष्टि भएको थियो । कार्यालयको नियमानुसार बिल काटेर मात्र धान बिक्री गर्न‘ पर्छ ।
तर, पोखरेलको निर्देशनमा स्टोरकिपर श्रेष्ठ समेतको मिलेमतोमा आम्दानी बाँधिएको धानको बिल काटिएका र आम्दानी नबाँधिएको धान स्लिपबाट बिक्री गरिएको थियो । त्यहीक्रममा ३० टन धानको हिसाब नै नदेखाइ भ्रष्टाचार गरिएको थियो ।
पोखरेलको नेतृत्वमा धान काण्ड भएपछि उक्त काण्डको छानविन गरि दोषीमाथि कारवाही गर्न सरोकारवालाहरुले दवाव दिंदैं आएका थिए । तर, कार्यकारी निर्देशक भण्डारीकै प्रयासमा उनी विरुद्धको उजुरीसमेत बेपत्ता पारिएको थियो । अहिले भने उनलाई एक्कासी निर्देशक पदमा बढुवा गरिएको छ ।
अर्बाैंको जग्गा काण्डः लुकाउने प्रयास
ललितपुरको हात्तीबनमा अर्बाै पर्ने नार्कको ४० रोपनी जग्गा छ । त्यहाँ आलुबाली कार्यक्रमले दशकौंदेखि आलुबाली अनुसन्धानको कार्यक्रम गरिरहेको छ । आलु बालीको अनुसन्धानको लागि त्यहाँको फार्म, नेपालको लागिमात्र नभएर दक्षिण एशियाकै नमुना फार्म मध्ये एक मानिन्छ । तर, भण्डारीले काठमाण्डौ विश्वविद्यालय (केयु)लाई स्टोर बनाउनको लागि भन्दै उक्त जग्गा अनिश्चितकालको लागि दिन मौखिक सहमति दिएका छन् ।
त्यही आधारमा नार्क प्रशासनबाट अनुमति लिएको भन्दै के युले २०७९ भदौ १६ गते उक्त जग्गाको पर्खाल भत्काएर डोजर लगाएको थियो । डोजर लगाउँदा लगाउँदै थाहा पाएका आलु बाली अनुसन्धान कार्यक्रमका कर्मचारीले ‘आफूहरु मर्न तयार रहेको तर, आलु बाली अनुसन्धान विथोल्ने षडयन्त्र सफल हुन नदिने’ अडान लिएपछि डोजर त्यत्तिकै फर्किएको थियो । विवादका कारण अहिले त्यो जग्गा त्यत्तिकै छोडिएको छ ।
रमाइलो कुरा के छ भने केयुले नार्कका कार्यकारी निर्देशकले स्टोर बनाउने अनुमति लिएकोले आफूले डोजर लगाएको बताउने गरेको छ । जबकी भण्डारीले लिखितरुपमा त्यस्तो अनुमति दिएका छैनन्, वा दिने आँट गरेका छैनन् । उनले आफू कानूनी रुपमा बच्नको लागि मौखिकरुपमा अनुमति दिएको नार्कका अधिकारीहरु बताउँछन् । ‘आलुबालीको जग्गा केयुलाई दिंदा विवाद नभए केही समयपछि चिठी दिने, अन्यथा विवाद बढ्यो र कारवाही हुने अवस्था आयो भने आफू बच्ने हिसाबले भण्डारीले मौखिक सहमति दिएको बुझिन्छ । अनुमति दिने तर मैले दिएको हो, यसकारण दिनु प¥यो भनेर खुलस्त भन्न नसकेबाटै भण्डारीको नियत स्पष्ट हुन्छ’ ।
उनका अनुसार अर्बाैं पर्ने उक्त जग्गा केयुलाई आवश्यकता पर्दासम्म उपभोग गर्न पाउने गरि उपभोग गर्न दिने गरि सहमति दिइएको थियो । त्यसमा भण्डारी र उनी नजिकका केही व्यक्तिले राम्रै ‘शुभलाभ’ लिएको दावी सम्वद्ध अधिकारीहरुको छ । ‘यदि उनले कुनै लाभ लिएका थिएनन् भने त्यत्रो जग्गा, त्यसमाथि देशकै आलुबालीको अनुसन्धान हुने जग्गा केयुलाई स्टोर बनाउन किन दिने थिए ? पक्कै दिने थिएनन् । त्यसैले यसमा ठूलै खेल भएको कुरामा कुनै विवाद नै छैन’ नार्कका एक अधिकारी भन्छन् ।
‘जग्गा काण्ड’ फर्दाफास भएपछि भण्डारीले अहिले त्यसको दोष ‘आफ्नै किचन क्याविनेट’का कर्मचारीहरु वीरेन्द्र खड्का र नामदेव उपाध्यायलाई दिन थालेका छन् । ‘पहिले जग्गादिउँ कि दिउँं भनेर उक्साए, अहिले फेरि भित्रभित्रै मलाई नै बदनाम गर्न लागे । तिनीहरुले हल्लाखल्ला नगरेको भए यस्तो विवाद हुने थिएन, काम पनि हुने थियो’ भन्दै भण्डारीले गुनासो गर्न थालेको नार्कका एक निर्देशक भन्छन् ।
खड्का र उपाध्यायले हल्ला गरेकोले केन्द्रीय कार्यालयका कतिपय गोप्य सूचनाहरु पनि चुहिन थालेको भन्दै भण्डारी अचेल उनीहरु प्रति सशंकित हुन थालेका छन् । कार्यकारी निर्देशक भण्डारीको नाममा उठ्ती, फिर्तीदेखि सरुवा बढुवासम्मका सबै कामको मुख्यभूमिका उनीहरुले निर्वाह गर्दै आएका थिए । ‘अहिले भने कार्यकारी निर्देशक भण्डारी उनीहरुप्रति केही सशंकित भएको देखिएको छ, त्यसको परिणाम के हुन्छ, आउँदा दिनमा देखिएला’ भण्डारीको सचिवालयका एक कर्मचारी भन्छन् ।
घनश्याम भुषालको नाम बेच्दै भण्डारी
भण्डारी तत्कालीन कृषिमन्त्री घनश्याम भुषालको समयमा कार्यकारी निर्देशक भएका हुन् । भुषाललाई एक रुपैंयाँ नबुझाई नियुक्ति पाए पनि अहिले भण्डारीले भुषालकै नाम बेचेर उनलाई नै बदनाम गराउने प्रयास गरिरहेका छन् । ‘म त भुषालले भनेको मान्छु, अरु कसैले भनेको मान्दिन’ भन्ने भण्डारीले अहिले सरुवा, बढुवामा पनि मोलमोलाई गरिरहेका छन् । आफ्नो चाकरी नगर्नेहरुलाई सकेसम्म दुर्गममा सरुवा गर्ने, नसके काम गर्न नै अवरोध गर्ने गरिरहेका छन् । नार्कमा सरुवा बढुवामा लेनदेन हुनु नौलो कुरा होइन । पहिलेदेखि नै थियो ।
तर, अहिले जस्तो भने कहिल्यै थिएन । अहिले त कार्यकारी निर्देशकलाई हिस्सा नपु¥याए बजेट नै कटौती गरेर कार्यक्रमहरु संचालन गर्नै नसकिने अवस्था सिर्जना गरिएको कर्मचारीहरु बताउँछन् । जस्तो कि आलुवाली अनुसन्धान कार्यक्रमकै कुरा गर्दा, त्यहाँका प्रमुख गिरिधारी सुवेदीले आफ्नो चाकरी नगरेको भन्दै कार्यकारी निर्देशक भण्डारीले करोडौंको बजेट नै कटौती गरेका छन्, जसबाट आलुबाली अनुसन्धानको कार्यक्रम नै प्रभावित भएको छ । त्यसमाथि अहिले त जग्गासमेत केयुलाई दिने प्रयास गरियो । यदि भण्डारीको प्रयास सफल हुने हो भने नेपालमा आलुबालीको कार्यक्रम ठप्प हुनेछ । बागवानी र अन्य कार्यक्रमको अवस्था पनि त्यस्तै छ ।
केही भ्रष्ट कर्मचारीहरुलाई निरन्तर काखी च्यापिरहेका भण्डारीले उनीहरुका गतिविधिमाथि कसैले प्रश्न उठाए ‘उहाँहरु मन्त्रीज्यू (घनश्याम भुषाल)को मान्छे, केही न केही सहयोग त गर्नै प¥यो नि’ भन्ने गरेका छन् ।
नार्कमा झण्डै एक हजार पदपूर्ति हुन वाँकी छ । जसमध्ये अधिकाँश वैज्ञानिक छन् । तर, भण्डारीले वैज्ञानिकहरु नियुक्ति गर्न‘को साटो जग्गा भाडामा लगाउने, घुम्ने फिर्ने र मर्मत सभारका नाममा बजेट सिध्याउने कार्यमा आफूलाई केन्द्रित गरिरहेका छन् । नार्क जस्तो संस्थामा वैज्ञानिक अभाव हुँदा समेत कार्यकारी निर्देशकले कुनै पहल नगरि अन्य अनावश्यक कामहरुमा चासो राख्नुलाई भ्रष्ट प्रवृत्तिको रुपमा लिइएको छ ।
‘२०८० जेठ २६ गते अवकाश पाउँदैछन्, त्यतिन्जेलसम्म जे जे गर्छाै गर भनेर दिनगन्दै बसेका छौं । यसो गरौं भन्दै केही सल्लाह दिन गयो भने यसमा तेरो स्वार्थ के भन्दै मनपरि भन्न थाल्छन्, बरु जे सक्छौं गर भनेर चुप लागेर बस्नुको विकल्प नै रहेन’ एक जना वैज्ञानिक गुनासो गर्छन् ।
आफ्नै पदको लागि मोलमोलाई
नार्कको कार्यकारी निर्देशक मन्त्रिपरिषद्ले नियुक्त गर्छ । त्यसमा बहालवाला वा भूतपूर्व कार्यकारी निर्देशकको कुनै भूमिका हुँदैन । तर, आउँदो २०८० जेठ २६ गते अवकाश पाउन लागेका भण्डारीले म पछि तपाई हो, तपाईको लागि मैले गर्छ‘, मलाई पनि तपाईले सहयोग गर्न‘पर्छ भन्दै केही उच्च अधिकारीहरुलाई ‘कार्यकारी निर्देशक’ बनाइदिने दावी गर्न थालेका छन् ।
भण्डारीले खासगरी सत्तारुढ माओवादी निकट रहेका योजना तथा समन्वय महाशाखाका प्रमुख डा. युवनाथ घिमिरे र नेपाली कांग्रेस निकट बाली तथा बागवानी निर्देशक डा. श्रेष्ठलाई अलग अलग रुपमा आफूले ‘म पछि तपाई हो, तपाईलाई वाहेक अरुलाई दिन्न’ भन्ने गफ दिने गरेका छन् ।
भण्डारीले दुवै जनालाई अवकाश पाउनु भन्दा अगाडि नै आफूले छोडेर निमित्त दिने, निमित्त कार्यकारी निर्देशक ‘कन्फर्म’ हुने निश्चित रहेको भन्दै दुवैजनासंग मोलमोलाई गरिरहेको बताइन्छ । नार्कका समस्याहरुको बारेमा बुझ्न खोज्दा भण्डारीले साँघुसंग कुरा गर्न चाहेनन् ।



