काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलको असन्तुष्टि र विद्रोहले सो पार्टीमा नौ रेक्टरको भूकम्प गएको छ । उनको यो भूकम्पले उनको गृह जिल्ला सिन्धुलीमा मात्र होइन देशभरि नै ठूलो कम्पन भएको छ । उपमहासचिव गजुरेलले आफूले टिकट नपाएको कुरा त छदैंछ, देशैभरि टिकट वितरणमा भएको अपारदर्शिता, अध्यक्ष प्रचण्डले आफैले तलतल झरेर गुटबन्दी गरेको आरोप लगाएका छन् । पार्टीलाई समाजवाद स्थापना गर्न वैचारिक र संगठनात्मक सुदृढीकरण गर्नुपर्ने, पार्टीमा लागेर अकुत आर्थिक उपार्जनमा लागेर वर्गाेत्थान गर्नेहरुको छानविन गर्नुपर्ने भन्ने माग राखेकै कारण आफू कोपभाजनमा परेको हरिबोल गजुरेलको बुझाइ रहेको छ ।
‘पछिल्लो समयमा अध्यक्ष प्रचण्ड जिन्दावाद भन्ने र आफ्नो आर्थिक र राजनैतिक हैसियत माथि उठाउनेहरुबाट अध्यक्ष घेरिएको, पार्टीलाई संस्थागत, सामूहिकतामा भन्दा आफ्नै प्रालिको स्तरमा झारेको, अपारदर्शी रुपमा पार्टी र आन्दोलनलाई भजाएर आर्थिक चलखेलमा लागेर समाजमा वदनाम भएकालाई टिकट दिने कार्यमा प्राथमिकता दिएको, वैचारिक कुरा गर्ने, पार्टीमा आलोचनात्मक सोंच राख्नेलाई टिकट नदिएको भन्दै हरिबोल गजुरेलले आरोप लगाएकाले माओवादी केन्द्रलाई निकै अप्ठयारो पारेको छ ।
प्रचण्डले तलैसम्म गुटबन्दी गरेर टिकट दिएका विश्वासपात्र भनेर हरिबोल गजुरेलले आरोप लगाएका राजन दाहालको पक्षमा माहौल बनाउन अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँगै हरिबोल गजुरेललाई लैजान खोज्दा गजुरेलले अश्वीकार गरेका थिए र यो कार्यक्रम स्थगित भएको छ ।
सिन्धुलीको यो विवादका कारण रामबहादुर थापा ‘वादल’ सँगै एमालेमा रहेका, माओवादीको सशस्त्र द्वन्द्वका बेलामा अन्तर्राष्ट्रिय क्षेत्रको जिम्मेवारी सम्हालेका वौद्धिक र आर्थिक मामलामा कतै विवादमा नआएका एमालेका उम्मेदवार मनोजजंग थापाले जित्ने सम्भावना प्रबल छ ।
चुनावको मुखमा भएको यो विद्रोह धनकुटामा पनि सशक्त भएको छ । उम्मेदवारी दर्ताअघि धनकुटाका माओवादीका लोकप्रिय नेतासहित ठूलो समूहले विद्रोह गर्यो । हेमराज भण्डारी माओवादीभित्र इमान्दार, अध्ययनशील मानिन्छन् र उनीमाथि अहिलेसम्म खास प्रश्न उठेको छैन ।
पहिलापहिला बाबुराम भट्टराईको गुटमा लागेकै कारण प्रचण्डबाट पीडित भएको भण्डारीले खास अवसर पनि पाएका छैनन् । ०६४ सालमा संविधानसभामा धनकुटाबाट निर्वाचित भएर आएयता कुनै पनि अवसर पाएका छैनन । बाबुराम भट्टराईले पार्टी छोड्दा पनि उनी माओवादीमै बसेका थिए । र, प्रचण्डलाई वैचारिक साथ दिइरहेका थिए ।
यसपटक उनी धनकुटाबाट उम्मेदवार हुन चाहन्थे । प्रचण्डले त्यसमा साथ दिएनन । अहिले उनले धनकुटामा प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । गठबन्धन नमान्ने भन्दै भण्डारीले उम्मेदवारी दिएपछि धनकुटाको चुनावी परिणाम फेरबदल हुने विश्लेषण हुन थालेको छ ।
माओवादीको मत भण्डारीलाई गएको अवस्थामा गठबन्धनका उम्मेदवार सुनील थापालाई समस्यामा पर्ने देखिन्छ । त्यस्तो अवस्थामा एमालेका राजेन्द्र राई निर्वाचित हुने संभावना बढेको छ ।
यता दोलखाकी माओवादी नेतृ देवी खड्काले पनि चुनावी परिणाम फरक पर्ने गरी पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छिन् । खड्का पनि कुनै बेला बाबुराम भट्टराईको पक्षमा लामो समय लागेकी थिइन । उनले पनि भट्टराईले पार्टी छोड्दा माओवादी नछोडी दोलखामा माओवादीलाई जोगाएर राखेकी थिइन् ।
तर, अहिले चुनावको मुखमा दोलखा इञ्चार्जबाट राजीनामा दिएकी छिन् । यसपटक उनी दोलखाबाट उम्मेदवार हुन चाहन्थिन । पार्टी अध्यक्ष प्रचण्डले घरमै बोलाएर प्रत्यक्ष निर्वाचन लड्ने तयारी गर्न भनेकाले पनि आफूले टिकट पाउने कुरामा उनी ढुक्क रहेको बताइरहेकी छिन ।
पार्टीभित्र धेरै समय बाबुराम भट्टराई, कहिले विप्लव र पछिल्लो समयमा उनी जनार्दन शर्माको निकट देखिएका कारण पार्टीभित्र टिकट बाँड्न अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई हर्ताकर्ता बनाएकै कारण वर्षमान हावी भएको र उनको विपक्षी भएकैले टिकट खोस्न विशेष रुपमा लागेको देवी खड्का निकट कार्यकर्ताहरुको बुझाइ रहेको छ ।
यसपटक टिकट पाएका गंगा कार्की देवीका सहोदर भिनाजु हुन । बागमती प्रदेशका वहालवाला मन्त्री विशाल खड्का उनका सहोदर भाइ हुन । वर्षमान पुन र उनका निकट व्यक्तिले कार्की र विशाललाई उचालेर देवी खड्काको टिकट खोसेको देवी निकट नेताको भनाइ छ । माओवादीको सशस्त्र संघर्षको समयमा प्रहरीबाट चरम यातना पाएकी खड्का राजनीतिक रुपमा पनि निकै कुशल मानिन्छिन ।
माओवादीको सशस्त्र संघर्षमा मारिएका निकै प्रभावकारी नेता रितबहादुर खड्काको सहोदर वहिनी देवी आफ्नै गोडामा उभिएकी चलाख, हक्की, सक्षम र स्थापित महिला नेतृको रुपमा माओवादी पार्टीभित्र स्थापित रहेकी र पार्टीको माथिल्लो तहमा पुग्ने क्षमता राख्ने भएकीले आफ्ना श्रीमती, परिवारलाई राजनीतिमा ल्याउनेहरुका लागि काँडा बनेकी थिइन ।
यसैले पनि उनलाई कमजोर बनाउन, सिध्याउन यो प्रवृत्तिले देवीकै घरकै परिवार प्रयोग गरेको दोलखामा चर्चा चलेको छ । लगातार उनलाई प्रत्यक्ष र समानुपातिक निर्वाचनबाट बञ्चित गरिएको छ । प्रत्यक्षमा निर्वाचन लडेको भए दोलखामा सजिलै जित्ने देवीलाई ब्याक हटाएपछि कमसेकम समानुपातिकमा राख्न सकिन्थ्यो, त्यो पनि वर्षमानको विशेष पहलमा रोकिएको देवी निकट कार्यकर्ताहरु बताउँछन् ।
अध्यक्ष प्रचण्ड आफ्नै बचनमा निरिह हुन या पात्र पिच्छे खेल्ने प्रवृत्तिका कारणले हो भन्ने कुराको अध्ययन आफूले गरिरहेको देवी खड्काले आफ्ना निकट कार्यकर्ताहरुलाई भनिरहेकी छिन ।
नेपाली कांग्रेसका सन्त र स्थापित नेता भीमबहादुर तामाङलाई २०६४ सालको संविधानसभाको निर्वाचनमा दोलखाबाट हराएपछि निकै लोकप्रिय भएकी खड्काको कद घटाउन नै पार्टीमा राजनीतिलाई सेवाभन्दा पनि धन्दा बनाउनेहरुले निरन्तर आक्रमण गरेको दोलखामा धेरैको बुझाइ रहेको छ ।
लोकप्रिय नेतृ खड्काले चुनावको मुखमा राजीनामा दिएपछि मााओवादी नेताहरु भने असन्तुष्ट देखिएका छन् । एमालेभित्र पनि असन्तुष्टि बढेको बेला माओवादीले जित्ने आशा गरिरहेका थिए । तर, माओवादीभित्र पनि असन्तुष्टि देखिएपछि अब दोलखाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । सिवाकोटीले टिकट पाएपछि एमालेका नेताहरु आनन्द पोखरेल, पार्वत गुरुङ असन्तुष्ट रहेका छन् ।



