साँघुको पछिल्लो अंक २०७९ असोज १० गते ‘सीआईए काठमाडौं कनेक्सन–रहस्यमय एयरपोर्ट’ मेरो लेख प्रकाशित भएपछि ‘ट्वीटर’ मा पुरन कस्यपले दहचोक होइन त्यो रहस्यमय एयरपोर्ट स्यूचाटारमा थियो भनि मेरो लेखको त्यो अंश सच्याउनु भएकोमा धन्यवाद दिन्छु ।
एसडी मुनि, जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर, लाओस्मा भारतीय राजदूत पनि रहिसकेका लेखक र पत्रकार भन्नुहुन्छ कि राजा महेन्द्रको विक्रम सम्वत २०१७ देखि २०२८ सालको ११ वर्षमात्र नेपालको परराष्ट्र नीति स्वतन्त्र थियो ।
के नेपालको पुरातन शाह र राणाकालीन मध्ययुगिन भूस्वामित्वको अन्त्य राजा महेन्द्रले ठूलो अमेरिकन दबाबमा परेर गरेका थिए ? र, त्योभन्दा पनि ठूलै प्रश्न छ–किन राजा महेन्द्रलाई युगान्तकारी भूमिसुधार गर्न दबाब दिएको थियो अमेरिकन सरकारले ? र, के सोचेर राजा महेन्द्रले ऐतिहासिक र वास्तवमा नेपालको भनिएको र मानिएको प्रथम सार्थक भूमिसुधार गरेका थिए ?
तर, हामी नेपालीहरु के प्रत्यक्ष र सोझै देख्दछौं भने वि.सं. २०११ मै राजा महेन्द्रले प्रत्यक्ष शासन गरेका बखत चीफ रोयल एडभाइजर सरदार गुन्जमान सिंहले सही गरी भारतले नचाहँदा नचाहँदै पनि चीनसँग दौत्य सम्बन्ध कायम भएको थियो । नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्य र चीनका चाउएनलाईको बेइजिङ र काठडमाडौं भ्रमण भएको पनि देखेकै हौं ।
विक्रम सम्वत २०१५ देखि २०१७ सम्म सर्वप्रथम जनताको प्रत्यक्ष निर्वाचनद्वारा भारत र राजा महेन्द्रले नचाहँदा नचाहँदै पनि जनताको बलमा निर्वाचित प्रथम प्रधानमन्त्री विपी कोइरालाको पालामा चीनको काठमाडौंमा आवासीय राजदूतावास खोल्ने सम्झौता, इजरायलसँग दौत्य सम्बन्ध, सोभियत रुससँग दौत्य सम्बन्ध, पाकिस्तानसँग दौत्य सम्बन्ध भएको पनि हामी नेपाली जनताले देखेको सत्य तथ्य घटना हो ।
एकदिन प्रधानमन्त्री विपी कोइरालाको मन्त्रीमण्डलमा रहनुभएका काठमाडौंका गणेशमान सिंह नक्साल, नागपोखरीपछि प्रधानमन्त्री विपी कोइरालाको डेरामा पुगेर केही नबोली दनादन एकसय पटक सलाम पछि सलाम गर्नुभएछ । आश्चर्यचकित प्रधानमन्त्री विपीले आफ्ना विश्वासी मन्त्री गणेशमान सिंहलाई सोध्नुभएछ, ‘किन तपाईंले आज मलाई एकसय पटक सलाम गर्नुभयो ?’
गणेशमान सिंहले जवाफमा भन्नुभएछ, ‘चीनसँग सीमा सम्झौता गरेपछि मैले बेइजिङमै तपाईंलाई सलाम गरेको थिएँ । तर, काठमाडौं फर्केपछि कांग्रेसी कार्यकर्ताहरु माझ भनेको थिएँ कि पाकिस्तानसँग पनि भारतले नचाहँदा नचाहँदै ‘बरमु’ (बाहुन)ले दौत्य सम्बन्ध स्थापित ग¥यो भने एकसय पल्ट सलामी गर्नेछु । तपाईंले पाकिस्तानसँग दौत्य सम्बन्ध कायम गरेकोले मैले सय पटक सलामी गरेको हो ।’
नेपालको स्वतन्त्र परराष्ट्र नीति राजा महेन्द्र मात्र होइन, प्रधानमन्त्री टंकप्रसाद आचार्य र विपी कोइरालाका पालामा पनि स्पष्ट रुपले देखिन्छ । आफ्नो महत्वकांक्षा र तत्कालीन अमेरिका, ब्रिटेन, भारतको पनि चाहना, मनपर्ने प्रोत्साहन र उचाल्याईमा राजा महेन्द्रले विक्रम सम्वत २०१७ साल पुस १ गते तत्कालीन शाही सेनाको बलमा २००७ को क्रान्तिले स्थापित प्रजातन्त्र र स्वयं आफैंले दिएको २०१५ सालको संविधान अन्तर्गतको ब्रिटिश मोडलको संसदीय प्रजातन्त्र समाप्त पारे ।
यसै ‘साँघु साप्ताहिकका’ पछिल्ला अंकहरुमा मेरो थ्योरी प्रकाशित छ कि तत्कालीन अमेरिकन राष्ट्रपति आइशन हावरसँग राजा महेन्द्रको २० मिनेटको वान टु वान (एक र एक परमगुप्त वार्ता) र ब्रिटिश प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनले चीन विरोधी तत्कालीन आक्रामक सामरिक स्वार्थ अघि बढाउन राजा महेन्द्र र दरबारियाहरुको व्यक्तिगत शासन गर्ने महत्वकांक्षालाई भित्रैभित्र गुप्त रुपले बडो जोडले उचालेका थिए ।
भारतका प्रधानमन्त्री नेहरुले पनि राजा महेन्द्रले कुनै पनि समय सैनिक ‘कू’ गर्न सक्दछन् र प्रजातन्त्र समाप्त पार्न सक्दछन् भन्ने गुप्त जानकारी हुँदाहुँदै पनि मौन रहेर मौनम् स्वीकृति लक्षणम् गरेका थिए । प्रधानमन्त्री विपी कोइरालालाई राजा महेन्द्रले थुनेपछि जवाहरलाल नेहरु निकट आरके करंजिया सम्पादित रहेको ‘ब्लिज’ साप्ताहिकमा …No tears for KoiralaÚ (कोइरालाका लागि आँसु छैनन्) भन्ने हेडलाइन मेरो मनमा पटक पटक दोहोरिएको त्यो घटना पनि स्पष्ट सम्झना छ । कहीं नपाइए नयाँदिल्लीको जवाहरलाल नेहरु लाइब्रेरीमा त्यो ब्लिजको अंक अवश्य पढ्न पाइएला ।
राजा महेन्द्रले पुस १ गते २०१७ सालमा सम्पूर्णरुपले जननिर्वाचित संसदबाट बनेको प्रधानमन्त्रीलाई थुनेको ३६ दिन पछि नै ब्रिटिश महारानी एलिजावेथको ब्रिटिश प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनको बन्दोबस्त बमोजिम काठमाडौं यात्रा र चितवनमा उत्साहपूर्वक शिकार खेलेको खेलले २०१७ साल पुस १ गतेको संसदीय प्रजातन्त्रको समाप्तिमा अमेरिका र ब्रिटेनको ठूलो गुप्त भूमिका स्पष्ट देखापरेको एउटा बलियो ऐतिहासिक प्रमाण हो ।
प्रजातान्त्रिक सरकार कू गरेको ३६ दिन पछि नै ब्रिटिश महारानीको काठमाडौं भ्रमण हुनु चाहिं राजा महेन्द्र समक्ष मिलेटरी ‘कू’ को समर्थन प्रदर्शन थियो । त्यसपछि मैले स्पष्ट बुझें कि अमेरिकन राजदूत गालब्रेथमार्फत राजा महेन्द्रलाई ठूलो दबाब नेपालको युगान्तकारी ठूलो भूमिसुधार गर्नाको कारण थियो ?
यो प्रश्नको उत्तर तपाई पाठकहरु पनि खोज्नुस् ? किन अमेरिकाले राजा महेन्द्रलाई मध्ययुगिन बिर्ता प्रथा, बिर्तावाल प्रथा, जमिन्दारी प्रथा ७ हजार बिघा, चार हजार बिघादेखि १०० र ३० बिघाभन्दा कम २५ बिघा जमिन र ३ बिघासम्म घडेरीको हदबन्दी (ल्याण्ड सिलिङ) गर्न ठूलो दबाब दिए ?
किन राजा महेन्द्रको पञ्चायती प्रजातन्त्र नामाकरण गरिएको व्यक्तिगत तानाशाहीको दिगोपनका लागि अमेरिकन सरकार र सीआईए लागेको थियो ? पछि जोन ग्रालवे्रथ आफ्नो पुस्तक ‘एम्बासर्डस जर्नल’ पेज ५६०/५६१ मा लेखेको पढें’ । विदेश मन्त्री तुलसी गिरीले हाम्रो(नेपालमा) भूमिसुधार गर्न दिइएको दबाबको विरुद्ध शिकायत गर्दै भने कि ‘यो देशमा शासनको सबै आधार जग नै नसुध्रिएको पुरातन जग्गा स्वामीहरु हुन् । मैले (अमेरिकन राजदूत गालब्रेथ)सँग भनें ‘पहिले मुठ्ठीमा ठूला जग्गाधनीहरुबाट सुरु गर्नु ।
यसो गरेर तिमीहरुले भूमि शक्तिलाई विभाजित गर्नेछौं ।’ प्रश्न उठ्छ : के नेपालको पुरातन शाह र राणाकालीन मध्ययुगिन भूस्वामित्वको अन्त्य राजा महेन्द्रले ठूलो अमेरिकन दबाबमा परेर गरेका थिए ? र, त्योभन्दा पनि ठूलै प्रश्न छ–किन राजा महेन्द्रलाई युगान्तकारी भूमिसुधार गर्न दबाब दिएको थियो अमेरिकन सरकारले ? र, के सोचेर राजा महेन्द्रले ऐतिहासिक र वास्तवमा नेपालको भनिएको र मानिएको प्रथम सार्थक भूमिसुधार गरेका थिए ?



