काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य माथि दिनदहाडै खेलवाड गर्ने पानी उद्योग माथि कारवाहीको डण्डा चलाएको छ । न्युन गुणस्तरको पानी उत्पादन गरी होटल, रेष्टुरेन्ट तथा क्यान्टिनमा विक्रि वितरण गरेको आरोपमा बिभागले कैफियत भेटिएका ११ पानी उद्योगलाई कारवाही गरेको हो ।
विभागले बजार, उद्योग निरीक्षण तथा अनुगमन गर्ने क्रममा ०७९ साउन १५ गते ती उद्योगमाथि कारवाही गरेको जनाएको छ । दुई वटा खाद्य निरीक्षकको अनुगमन टोली बनाएर अनुगमन गर्दा प्रशोधित पिउने पानी तथा होटल, रेष्टुरेन्ट र क्यान्टिनमा दुषित पानी विक्री वितरण गरेको भेटिएको विभागस्रोतले जनाएको छ ।
अनुगमनमा क्रममा टोलीले ११ वटा प्रशोधित पिउने पानी उद्योग र एउटा रेस्टुरेन्टको निरीक्षण गरेको थियो । खाद्य ऐन बिपरितका जार÷बोटलका प्रशोधित पिउने पानीका ४ थान नमूना संकलन गरिनुका साथै ७८ थान पुराना र ४ लिटर तेलसमेत नष्ट गरिएको बिभागका उपमहानिर्देशक एवम प्रवक्ता मिनकृष्ण महर्जनले जानकारी दिएका छन ।
बिभागको कारवाहीमा कुन–कुन कम्पनी ?
भक्तपुरको झौखेलमा रहेको उच्च वेभरेज प्रा.लि चाँगुनारायण बिभागको कारवाहीमा परेको छ । उक्त कम्पनीले उत्पादन गरेको पानीमा किरा भेटिएको उजुरी बिभागमा परेको थियो । उजुरीका आधारमा अनुगमन गर्दा प्रशोधित पिउने पानीको जार भित्र किरा भेटिएको थियो । उत्पादन मिति समाप्त भएको जारमा किरा भेटिएपछि १४ वटा जार नष्ट गरिएको बिभागस्रोतले जानकारी दिएको छ । पानी उद्योगको गुणस्तरका बारेमा जानकारीे लिन अनुज्ञापत्र र प्रशोधित पानीको नमुनासमेत लिएको स्रोतले जनाएको छ ।
त्यसैगरी भक्तपुरकै एस.एन टप बेभरेज प्रा.लिमा अनुगमन गर्दा सो उद्योगले उत्पादन गरेको पानीको अवस्था सन्तोषजनक रहेको बिभागले जानकारी दिएको । भक्तपुर नेचुलर ड्रिङ्किङ वाटर उद्योगको निरीक्षणको क्रममापुरानो भइसकेर पनि प्रयोगमा ल्याइएका २३ वटा जार नष्ट गरिएको थियो । अनुगमनको क्रममा ओके मिनरल वाटर उद्योगले निर्देशिका अनुसारको अभिलेख नराखेको भेटिएको थियो । आगामी दिनमा ती अभिलेख चुस्त दुरुस्त राख्नका लागि निर्देशन दिदै बिभागको टोलीले पुराना भएका १८ थान जार नष्ट गरेको थियो ।
जय छुमा गणेश शुद्ध खानेपानी प्रा.लि.को अनुगमनका क्रममा उक्त उद्योगले उत्पादन गरेको पानीको गुणस्तर सन्तोषजनक भेटिए पनि २० वटा पुराना जारलाई नष्ट गरिएको छ । जि.आर. ड्रिङ्क्स प्रा.लि चाँगुनारायण ७ ले उत्पादन गरेको पानीको नमुना संकलन र पुरानो अवस्थामा रहेका १२ थान जारलाई नष्ट गरिएको बताइएको छ । यी सबै उद्योग चाँगुनारायण नगर क्षेत्र भित्र संचालनमा रहेका उद्योग हुन् ।
पानीको जारमा किरा
भगवती वेभरेज प्रा.लि चाल्नाखेल ललितपुरले उत्पादन गरेको पानीको जारमा किरा भेटिएको छ । उक्त उद्योगले दुषित पानी उत्पादन गरी उपभोक्तामाझ बितरण गरेको उजुरीका आधारमा अनुगमन गर्दा परिणाम सन्तोषजनक पाइएको विभागले जनाएको छ । पुरानो अवस्थामा रहेको तीनवटा जार भने अनुगमन टोलीले नष्ट गरेको छ । बजारमा पठाउनका लागि तयारी अवस्थामा राखेको पानीको जारबाट पानीको गुणस्तर र अन्य आवश्यक तत्वबारे जानकारीका लागि नमुनासमेत संकलन गरिएको थियो ।
बुढानिलकण्ठ वेभरेज प्रा.लिले उत्पादन गरेको पानीमा किरा भेटिएको र पुराना जारमा पानी वितरण गर्ने गरेको भन्ने उजुरीको आधारमा अनुगमन गर्दा उद्योगको अवस्था सन्तोषजनक देखिएको र जारको अवस्थाबारे नमुना संकलन गरेको थियो । समुल ग्रुप इन्डिष्ट्रिज प्रा.लिको अनुगमनका क्रममा सरसफाइ सम्बन्धी अभिलेख राखेको पाइएको थियो ।
बेत्रावती ड्रिङ्किङ वाटर प्रा.लि राख्नुपर्नेमा सो अनुसार राखेको नपाइएकोले अभिलेख राख्न र पुराना जारको प्रयोग नगर्न निर्देशन दिएको बताइन्छ । त्रिशुली मिनरल वाटर उद्योग तारकेश्वरको अवस्था सन्तोषजनक रहेको र सरसफाइका अभिलेख व्यवस्थित तरिकाले राखेको विभागले जनाएको छ ।
किम्ची फाष्ट फुड प्रा.लि पनि कारवाहीमा
अनामनगरमा रहेको किम्ची फास्ट फुड प्रा.लि. पनि बिभागको कारवाहीमा परेको छ । सरसफाइ तथा गुणस्तरको अवस्था कमजोर रहेको उजुरीका आधारमा अनुगमन गर्दा अवस्था सन्तोषजनक नभएको भन्दै टोली मुचुल्का उठाइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको थियो । अनुगमनका क्रममा खान लागि अयोग्य चार लिटर तेलसमेत नष्ट गरिएको थियो ।



