काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्मा २०७९ जेठ १४ गते मध्यराती बजेटको दर निर्धारण गर्ने क्रममा उद्यमी र व्यवसायीको प्रभाव र दबाबमा परेर सेटिङमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति पूर्व नासु रघुनाथ घिमिरे, दीपक भट्टका कामदार भारतीय नागरिक सिए उपेन्द्र हेरावतलाई दिएर बजेट ल्याएको र यसको सिसिटिभि फुटेज अर्थ मन्त्रालयकै उच्च कर्मचारीहरूकै मिलेमतोमा हटाएको घटनामा मुछिएर संसद र जनताको दबाबले राजीनामा दिन पुगेपछि गठबन्धन सरकारमा नेकपा (माओवादी केन्द्र)को कोटामा परेको अर्थ मन्त्रालय अब कसले लिन्छ भन्ने चासो देखिएको छ ।
अर्थ मन्त्री शर्माको राजीनामासँगै बजेट निर्माणमा राजस्व दररेट हेरफेर गर्ने, सिसिटिभि फुटेज डिलेट गर्ने अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुस्कर, बजेट महाशाखाका चक्रबहादुर बुढा, राजस्व परामर्श महाशाखाका भूपाल बराल को दोषी हो ? दोषीलाई कानून बमोजिम कारवाही होला त भन्ने प्रश्न पनि उठेको छ । देश विष्म आर्थिक संबटबाट गुज्रिरहेको छ । यस्तो विषम अवस्थामा पनि अर्थका यी अनुभव शून्य कर्मचारीलगायत अर्थभन्दा बाहिरबाट सरूवा गरेर ल्याइएका, राजश्व, कर प्रशासन र अर्थ बारे जानकार नभएका सहसचिव, महानिर्देशक, उपसचिव, निर्देशकहरूलाई हटाउनु पर्ने माग पनि अर्थ मन्त्रालय र राजस्व समूहका कर्मचारीहरूले गर्न थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्री नेपाली कांग्रेसबाटै बनाउने गरी तयारी थालेको खबर छ । माओवादी केन्द्रका नेताहरू शर्मा निर्दाेष ठहरिएर दस दिनपछि पुनः अर्थ मन्त्रालयको जिम्मेवारीमा आउने दाबी गर्न थालेका छन् । तर, माओवादी केन्द्रबाटै अर्थ मन्त्री बन्न नारायणकाजी श्रेष्ठ, पूर्व अर्थ मन्त्री वर्षमान पुन, पूर्व कृषि मन्त्री हरिबोल गजुरेल, पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पूर्व सञ्चार मन्त्री सुरेन्द्र कार्की समेत लाग्दै आएका छन् ।
यद्यपि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्थ मन्त्रालय कांग्रेसले लिने र गृह मन्त्रालय माओवादीलाई दिने जनाउ दिइसकेको पनि चर्चा छ । तर गृह माओवादी केन्द्रलाई दिएर देउवा निकट बालकृष्ण खाणलाई चाहिँ कहाँ सेट गर्ने भन्ने विवाद पनि बालुवाटारमा सुरू भएको छ । गृह पाएकाले कांग्रेस पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदाधिकारीमा उम्मेदवारी नदिएका खाणको चित्त नबुझाए पार्टीमा देउवालाई गाह्रो हुने अड्कलबाजी पनि भइरहेको छ ।
२०७९ असार २१ गते मंगलबार साँझको भेटमा अर्थ मन्त्री शर्माले राजीनामा दिने र कांग्रेसले अर्थ मन्त्री लिने र सञ्चार माओवादी केन्द्रलाई दिने सहमति भएको चर्चा पनि थियो । यता माओवादी केन्द्रले भने नेता नारायणकाजी श्रेष्ठलाई गृहसहित उपप्रधानमन्त्री दिनेगरी सहमति भएको समेत बालुवाटार जाने कांग्रेस कार्यकर्ता चर्चा गर्छन् । कांग्रेस महामन्त्री गगन कुमार थापाले २०७९ असार २० गते सोमबार संसदबाहिर निस्किएर अर्थ मन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएपछि राजनीतिक तहमा नयाँ तरंग सुरु भएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक चलिरहेका बेला पनि यो विषयले पार्टीभित्र प्रवेश पाएको थियो । यता अर्थ मन्त्रीबाट शर्मा फिर्ता भएसँगै माओवादी केन्द्रले गृह मन्त्रालय दाबी गर्ने र कांग्रेसले अर्थ मन्त्री लिने भद्र सहमति समेत भएको बालुवाटार र कांग्रेस पङ्तिभित्र चर्चा छ । प्रधानमन्त्री देउवाले अर्थ मन्त्री कांग्रेसकै तर्फबाट बनाएर बिग्रँदो अर्थतन्त्रमा सुधारको सकारात्मक सन्देश दिने प्रयास थालेको चर्चा पनि छ ।
प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद् पुनर्गठन गर्दा अर्थ मन्त्रालय कांग्रेसमा राखेर अन्य मन्त्रालयका विषयमा बाँडफाँड गरेर जानेगरी छलफल थालेपछि राजनीति तरंगित भएको छ । तर, प्रधानमन्त्री देउवा माओवादी केन्द्रलाई चिढाएर अर्थ लिने पक्षमा बिल्कुलै छैनन् । सहमतिमै निकास खोज्न चाहन्छन् । भरसक यो गठबन्धन र माओवादी केन्द्रलाई अर्काे चुनाव र नयाँ सरकार गठनसम्मलाई निरन्तरता दिने पक्षमा रहेको देखिन्छ ।
कांग्रेसबाट हुने अर्थ मन्त्रीका लागि दौडधुपसमेत सुरु भइसकेको छ । कांग्रेस महामन्त्री गगन थापाले समेत अर्थ मन्त्री पाए मन्त्री बन्ने चाहना राखेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गरेर अर्थ मन्त्रालय कांग्रेसले लिएमा अर्थ मन्त्रीका लागि उद्योगपति तथा सांसद विनोद कुमार चौधरी, महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजाल, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समेत दाबी गरेका छन् । यता परराष्ट्र मन्त्रीमा असफल जस्तै देखिएका डा. नारायण खड्काले समेत अर्थ मन्त्री बन्ने इच्छा देखाएका छन् । प्रधानमन्त्री देउवाले संकटोन्मुख अर्थतन्त्रलाई पार लगाउनेगरी अर्थ मन्त्रालयको जिम्मेवारी बदल्न खोजेकाले नयाँ बन्ने अर्थ मन्त्रीका लागि चुनौती थपिने देखिन्छ ।
बिग्रँदो वर्तमान अवस्थाको अर्थतन्त्रप्रति चिन्तित रहेका प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय कांग्रेसकै कोही अर्थतन्त्र क्षेत्रका जानकारलाई जिम्मा लगाउने तयारी गरेका छन् । अर्थतन्त्रका अधिकांश सूचक खराब हुँदै गए पनि राजनीतिक नेतृत्व बेखबर रहेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले चासो दिइरहेका छन् । जसको लागि कांग्रेस महामन्त्री थापाले राष्ट्र बैंकदेखि अर्थविदहरुसँग छलफल गरेर प्रधानमन्त्री देउवालाई सुझाव समेत दिइसकेका छन् ।
बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालय कांग्रेसले लिएर अर्थतन्त्र सम्हाल्नुपर्ने निष्कर्ष सहितको सुझाव विज्ञहरूले प्रधानमन्त्रीलाई दिएका छन् । सोही कारण पनि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई फिर्ता पठाउन माओवादी अध्यक्ष प्रचण्डमार्फत सन्देश पठाएका थिए । (साँघु साप्ताहिक, असार २७)



