स्थानीय निर्वाचनको परिणामबाट नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धेरै उत्साहित र खुसी भएका छन् । यही कारणले गर्दा यो गठबन्धनलाई आम चुनावसम्म लैजाने र स्थानीय चुनावको परिणाम दोहो¥याउने योजना प्रम देउवाको रहेको छ । २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचन माओवादी केन्द्रसंग मिलेर लड्दा पनि काँगे्रसले नेकपा एमालेभन्दा लगभग पचास स्थानीय तहमा कम जित हात पारेको थियो ।
यसैगरी त्यही वर्ष सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ कांगे्रसले जम्मा २३ स्थानमा मात्र जित हात पारेको थियो । तर, सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २०५ स्थानीय तहमा जित हात पार्दा कंगे्रसले ३२९ स्थानीय तहमा जित हात पारेको छ । यो जित संगठन बलियो भएर अथवा लोकप्रियता बढेको कारणले प्राप्त भएको होईन पाँच दलको गठबन्धनको कारणले प्राप्त भएको हो । यही कारणले गर्दा पाँच दलको गठबन्धनलाई आम निर्वाचनसम्म कायम राखेर स्थानीय निर्वाचनको परिणाम दोहो¥याउन प्रम देउवा चाहान्छन् ।
सम्पन्न स्थानीय निर्वाचनमा कांगे्रसले ३२९ स्थानीय तहमा जित निकाल्यो, यसैगरी नेकपा एमालेले २०५ तहमा जित निकाल्यो र एमालेको पक्षमा देशभरीबाट ३४ प्रतिशत मत आएको उल्लेख निर्वाचन आयोगले गरेको छ । यसैगरी कांगे्रसको पक्षमा ३३ प्रतिशत मत आएको उल्लेख निर्वाचन आयोगले गरेको छ । तर, कांगे्रसको रुख चुनाव चिन्हमा त माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चासम्मको मत परेको छ र सम्पन्न स्थानीय निवाचनमा कांगे्रसको विशुद्ध मत कति थियो भनेर एकिनसाथ निर्वाचन आयोगले होईन सबभन्दा पछिल्लो पुस्ताको कम्प्युटरले पनि भन्न सक्दैन ।
त्यसकारण स्थानीय निर्वाचनमा काँगे्रसको पक्षमा मात्र होईन गठबन्धनका सबै दलको पक्षमा गएको परिणामलाई संसदीय मान्यताको चुनावी खेल मान्नु पर्दछ । र, यस्तो खेलले सधैंभरी एउटै परिणाम ल्याउन सक्दैन । यो मामिलामा प्रतिस्पर्धीले फलामलाई फलामले काट्छ भन्ने फर्मूला अपनाउन पनि सक्दछ । यही कारणले गर्दा स्थानीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धी नेकपा एमाले भन्दा १२४ भन्दा बढी स्थानीय तहमा जित निकालेको भएपनि काँगे्रस एक्लै आम निर्वाचनमा भिड्ने साहस गरिराखेको छैन र आगामी आम निर्वाचनमा उत्रिनका लागि दायाँ हातमा माओवादी केन्द्रको र बायाँ हातमा एकीकृत समाजवादीको सहारा चाहिरहेको छ । यस्तै दुरावस्था माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि छ ।
२०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले काँगे्रसलाई उपयोग गरेर आफ्नो उल्लु सिधा गरेको थियो भने त्यही साल सम्पन्न भएको आम निर्वाचनमा एमालेलाई उपयोग गरेको थियो । अहिले गठबन्धनका अन्य दललाई उपयोग गरिराखेको छ । एकीकृत समाजवादीलाई आप्mनो ईज्जत बचाउन गठबन्धनको सहारा लिनुको अर्को विकल्प छैन । जनता समाजवादी मौकामा चौका हान्न र राष्ट्रिय जनमोर्चा क्रान्तिकारी हुनका लागि मान या नमान मै तेरा मेहमानको शैलीमा गठबन्धनमा सामेल भएको हो ।
अर्थात, अहिले कांगे्रस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राजमो एउटा कित्तामा छन भने नेकपा एमाले अर्को कित्तामा । यसलाई सिद्धान्तहीन भएर बहुदलीयबाट दुई दलीय अभ्यासतिर मुलुकको राजनीति जान थालेको पनि मान्नुपर्ने देखिन्छ । यदि मुलुक दुई दलीय अभ्यासतिर जान थालेको होईन भने राजनीतिमा अर्को एउटा अवसरवादी विकृति हुर्किन थालेको मान्नु पर्दछ । खासमा, पाँच दलीय गठबन्धनमा बहुदलीय ब्यवस्थाप्रति प्रतिवद्ध पार्टी एउटा नेपाली काँगे्रस मात्र छ ।
तर, काँगे्रस केही समय यताबाट सिद्धान्त, विचारलाई छाडेर सत्ताको पछाडि दौडिन थालेकाले लोकतन्त्र विकृतिको कक्टेल बन्दै गएको छ । विचारमा विचलन आएको कारणले कांगे्रसले आत्मविश्वास समेत गुमाउदै गएको छ । आत्मविश्वास गुमाएकै कारण केही दिन अगाडि मात्र सम्पन्न स्थानीय निर्वाचनमा शानदार सफलता प्राप्त गरेको काँगे्रस छ महिना पछि हुने आम निर्वाचनमा एक्लै उत्रिन खुट्टा कमाई राखेको छ र आधा सिट छाडेर (८० सिट मात्रै लिएर) भए पनि काँगे्रसलाई कम्युनिष्टको सहारा चाहिएको छ ।
विचार र उमेरको दृष्टिले नेपाली कांगे्रस सबभन्दा पाको पार्टी हो । अन्तर्राष्ट्रिय जगतमा पनि सबभन्दा बढी चिनिएको पार्टी काँगे्रस नै हो । तर, मुलुकमा काँगे्रसले राजनीतिको नेतृत्व कहिले गर्न सकेन । अहिले सरकारको नेतृत्व गरेको देखिन्छ । तर प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष दाहालको रिमोटबाट चलिराखेका छन् । कांगे्रसको राम्रो जनाधार छ । तर, त्यो जनाधार विचारका दृष्टिले कायम भएको होइन । विकल्प नभएर मात्र जोगिएको हो । यसको ज्वलन्त उदाहरण हालै सम्पन्न काठमाण्डौंको मेयरको निर्वाचन परिणाम नै हो । अहिले जसले जे भने पनि कम्युनिष्ट शक्ति कमजोर छ । तर, कम्युनिष्ट शक्ति कमजोर हँुदा काँगे्रस बलियो पनि छैन । यो नेपालको अहिलेको विचित्र राजनीतिक अवस्था हो ।
नेपालको अहिलेसम्मको संसदीय इतिहासले के देखाएको छ भने, नेपाली काँगे्रसभित्रको अन्तरघात र विद्रोहले कम्युनिष्ट शक्तिलाई राजनीतिक फाईदा पुगेको छ । यसैगरी कम्युनिष्ट विभाजन र फुटबाट काँग्रेसले राजनीतिक फाईदा उठाउदै आएको छ । एकताबाट कम्युनिष्टले फाईदा लिएको भनेको २०७४ सालको आम निर्वाचनमा मात्र हो । अब हुन लागेको आम निर्वाचनमा अहिले सबभन्दा ठूलो दलको हैसियत भएको नेकपा एमालेलाई छेद लगाएर आफ्नो राजनीतिक फाईदा उठाउनेमा विपरीत ध्रुवका दलहरु सिद्धान्त त्यागेर लागिपरेका छन् ।
यसैले गर्दा यी दलले सिद्धान्तहीन गठबन्धन समेत बनाएका छन । तर, गठबन्धनमा रहेका कुनै दलको संगठन बलियो छैन संगठन बलियो भएको भए, गठबन्धन नामको खिचडीमा कुनै दल सामेल हुने थिएनन् र आफ्नै खुट्टामा उभिएर चुनावी मैदानमा उत्रिने थिए । यति कुरा जनताले पनि बुझ्दछन् ।
यति कुरा हो कि, आगामी आम निर्वाचनमा गठबन्धनमा रहेका तलवार बेचुवा र घ्यू बेचुवा कसले कसलाई मूर्ख बनाउछ ? किनभने गठबन्धनमा रहेका सबै दल एक अर्कालाई सहयोग गर्ने होईन उपयोग गर्ने दाउमा छन् । यसैले गर्दा आम निर्वाचन सम्पन्न भएपछि गठबन्धन पनि सकिन्छ भनिएको हो । किनभने गठबन्धनमा रहेका दलहरुसँग एक्लै चुनाव लड्ने हिम्मत र क्षमता दुबै छैन । यही कारणले गर्दा नै स्थानीय चुनाव पनि विभिन्न पाँच दलले गठबन्धनमार्फत् लडेका थिए ।
स्थानीय निर्वाचनमा पाँच दलको गठबन्धन नै चुनावी मैदानमा उत्रिएको कारण नेकपा एमालेले अपेक्षा गरेको परिणाम प्राप्त गर्न सकेन । तर, आम निर्वाचनको सन्दर्भमा हेक्का राख्नु पर्ने पक्ष के छ भने १६५ स्थानमा मात्र प्रत्यक्ष निर्वाचन हुन्छ र गठबन्धन पनि प्रत्यक्षतर्फ मात्र सीमित हुन्छ । र, चुनावको समग्र परिणामलाई समानुपातिकले उल्लेखनीय असर पु¥याउने २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा प्रत्यक्षतर्फ २३ स्थानमा विजयी गरेको नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्राप्त गरेको सफलताको कारण समग्रमा ६३ स्थानमा विजय प्राप्त गर्न सकेको थियो ।



