काठमाडौँ, वैशाख ७ \\ सङ्गठित बिरोधले गर्दा नेपाल पत्रकार महासंघ, प्रदेश अधिवेशनको निर्वाचन प्रभावित भएको छ।
निर्वाचनको लागि प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले साँठगाँठ गरेको भन्दै त्यसको विरोध स्वरुप क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाजले महासंघका कार्यालयहरुमा आज तालाबन्दी गरेको छ ।
यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिए।
उम्मेदवारप्रति दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय शनिबारका लागि निर्धारण गरिएकामा सो कार्य सोमबारका लागि निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।
तालाबन्दी भए पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सबै ठाउँमा उत्साहजनक रुपमा मनोनयन भइरहेको महासंघले जनाएको छ ।



