काठमाडौं । सरकारले कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरेको कोभिड–१९ युनिफाइड अस्पताल(वीर अस्पताल)को पार्किङस्थल जलमग्न हुँदा सरकारी लगानी बालुवामा पानी झै भएको छ । नयाँ भवन बनेको दुई वर्ष नबित्दै पार्किङस्थलमा पानी पसेर जलमग्न हुँदै आएको छ । कोरोना महामरीको समयमा बिरामीको एकीकृत रुपमा उपचार गर्ने उद्देश्यल सरकारले यो अस्पताल निर्माण गरेको थियो । भवन निर्माण गर्दा यस्ता सामान्य बिषयमा ध्यान पु¥याउन नसक्दा वर्षात्को समयमा दिनहुँ जसो सवारी पार्किङ्गस्थलमा पानी जम्दै आएको छ ।
अस्पतालका डाक्टर, नर्स, कर्मचारी र सेवाग्राहीलगायतले पाकिंङ्गस्थलमा पानी जमेको कारण सवारी सधान पार्किङ्ग गरेपछि जुत्ता चप्पल फुकालेर बाहिर निस्कनुपर्ने अवस्था छ । यो बिषयमा अस्पताल प्रशासन जानकार रहेपनि समस्या समाधानतर्फ नलागेको गुनासो सेवाग्राहीले गर्ने गरेका छन ।
भवन निर्माण गर्दा कम्तीमा १० वर्षसम्म कुनै समस्या नआउने गरी निर्माण गर्नुपर्ने सरकारी दायित्व हो । तर कमिसनको खेलमा कमसल निर्माण सामग्रीको प्रयोग र सरकारी लापर्वाहीका कारण यस्तो दुर्गतिका घटना बढ्दै गएका छन ।
अस्पताल प्रशासनले अस्पताल निर्माण भएको समयमा नै प्रभावकारिता जाँच्नुको सट्टा उल्टो कमिसनको चक्करमा परेका कारण यो समस्या आएको बुझिएको छ । ठूला संरचनाको निर्माण गर्दा त्यसको भारवहन क्षमता र सुचारु हुने प्रणालीको बारेमा पहिले नै योजना बनेको हुन्छ । तर यो अस्पतालको पार्किङ क्षेत्रका पानीको निकास प्रभावकारी छैन । प्रभावकारी निकास नभएका कारण एक दिन जाम भएको पानी महिनौँसम्म रहने गरेको कर्मचारीले गुनासो गरेका छन् ।
बाहिरको हिलोमा जोगिएर आएपनि यहाँको पानीले कपडा फोहोर हुने गरेको गुनासो कर्मचारीले गर्ने गरेका छ । बाहिरको पानी पार्किङमा पस्छ, त्यसको रोकथामको लागि प्रशासनले चासो दिएको छैन । गाडी चढ्नेका लागि त कुनै समस्या छैन । तर बाइक र स्कुटर हुनेहरुको लागि भने धेरै समस्या परेको छ ।
पानीका कारण दुर्गन्धसमेत फैलिएको छ । अब यसले रोग फैलाउन पनि सक्छ । अस्पतालमा रोग फैलियो भने के होला ? एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा साँघुसँग को गुनासो पोखेका छन ।
कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने धेयले यो अस्पतालको निर्माण गरिएको थियो । अहिले कोभिडको चाप घटेको भएपनि अन्य रोगका बिरामीको चाप उस्तै छ । यही अस्पतालको अगाडि शुल्क लिएर बाइकको पार्किङ गर्ने गरिएको छ । जसका कारण अस्पताल आउने सेवाग्राहीहरु मर्कामा परेका छन ।
मुलुककै जेठो वीरअस्पतालले सेवा बिस्तार गर्दै कोभिड अस्पताल संचालन गर्दै आएको छ । पुरानो भवनको त हालत त वयान गरी साध्य छैन । तर नयाँ बनेको भवनको शौचालय पनि फोहोर र दुर्गन्धित छ ।
शौचालयको हालत छिरिसक्नु र हेरिसक्नु छैन । युनिफाइड कोभिड अस्पतालको अध्यक्ष प्रधानमन्त्री रहने प्रावधान छ । सदस्यहरुमा भने उप–प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंंख्या मन्त्री, गृह मन्त्री, अर्थ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र मन्त्री, मुख्य सचिव, प्रधानसेनापति रहने व्यवस्था छ । सदस्य सचिवको जिम्मेवारीमा केन्द्र प्रमुख ११ औँ तहका अधिकृत रहने प्रावधान रहेको छ ।



