काठमाडौं, चैत्र २८ \\ एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
आज यहाँ सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’ अनुसार चालु आवमा आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ ।
प्रकाशनका मुख्य बुँदाहरुमा प्रकाश पार्दै बैंकका कण्ट्री डाइरेक्टर खामुदखानोभले प्रदेश र स्थानीय सरकारको सीमित अनुभव र क्षमता तथा संघीयताको कार्यान्वयनमा चुनौति रहेको बताए। उनले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजश्व परिचालन क्षमताका कारण बजेटघाटा बढ्ने आशंका व्यक्त गरे ।
आगामी आवमा औसत मुद्रास्फीति ५.५ प्रतिशत पुग्ने, विप्रेषण आयको मन्द वृद्धि र बढ्दो व्यापारघाटाले मध्यावधिसम्म बाह्य क्षेत्रको स्थायित्व जोखिममा रहेको जानकारी पनि उनले दिए ।
सहकारी खेती प्रणालीमार्फत व्यावसायिक कृषिलाई व्यापक रुपमा अवलम्बन गर्दा त्यो नेपालको राजश्वका स्रोतमध्येको एक सबल स्रोत बन्न सक्ने, बाली सुधार, कृषि उत्पादनको निर्यात प्रवर्ध्दन, उच्च मूल्यका अलैँची, चिया, अदुवाजस्ता नगदेबालीको विकास तथा निर्यात वृद्धि गर्न सक्ने प्रसस्त संभावना रहेको परिदृष्यले औंल्याएको छ।
जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण पनि परिदृष्यले गरेको छ ।



