अहिलेको स्थानीय तहको चुनावमा वामपन्थीहरुको बलियो गढ मानिएका पालिकामा धमाधम कांग्रेसले नेतृत्व गरेको छ । ती पालिकाका प्रमुख पद कांग्रेसले जित्ने संभावनातिर लागेको छ ।
वामपन्थीहरुको गढ मानिएको धरान उपमहानरपालिकामा कांग्रेसका किशोर राईले अग्रता लिएका छन् । त्यहाँ एमाले तेस्रो स्थानमा पुगेको छ । अहिलेसम्मको मतगणनामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ कांग्रेसका राईलाई पछ्याइरहेका छन् ।
एमालेकी मञ्जु भण्डारीका व्यक्तिगत छवि नै वदनाम भएका कारणले पनि एमालेलाई घाटा लागेको धरानमा चर्चा र विश्लेषण भइरहेको छ । त्यसैगरी, एमालेको जितेको र पहिलादेखि नै एमाले प्रभाव मानिएको इटहरी उपमहानगरपालिकामा पनि कांग्रेसले अग्रता लिइरहेको छ ।
हेमकर्ण पौडेलले मतान्तर बढाइरहेका छन् । त्यही अवस्था दमक नगरपालिकामा पनि देखिएको छ । राप्रपाका राम थापाले एमालेकी गीता अधिकारीलाई पछाडि पारेका छन् । त्यसो त, वामपन्थीहरुको बलियो प्रभाव रहेको खोटाङको दिक्तेल नगरपालिकामा पनि कांग्रेस अगाडि देखिएको छ ।
उक्त नगरपालिकामा कांग्रेसका तीर्थराज भट्टराईले परिस्थिति आफ्नो पक्षमा पारिरहेका बेला काठमाडौंको कीर्तिपुर नगरपालिका पनि कांग्रेसकै अग्रता देखिएको छ ।
वामपन्थी मत बलियो रहेको मानिएको कीर्तिपुरमा कांग्रेसले नेतृत्व गरिरहेका बेला बुटवल उपमहानगरपालिकाको पनि त्यही हालत देखिएको छ । एमालेका प्रभावशाली नेताहरुको जिल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि एमाले पछाडि परेर कांग्रेसले अग्रता लिएको छ । बुटलवमा कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले प्रतिष्ठाको विषय बनाएका कारणले पनि यो पालिकामा एमाले पछाडि परेको छ ।
दाङको समग्र परिणाम पनि कांग्रेसको पोल्टामा गएको छ । दाङ पहिला पनि वामपन्थीहरुको प्रभाव रहेको जिल्लामा पर्दथ्यो । त्यहाँका पालिका र वडाहरुमा अहिले कांग्रेसले नै बढ्ता जितेको छ । सुर्खेतको वीरेन्द्रनगर पनि पनि वामपन्थी प्रभाव भएर पनि कांग्रेसले नेतृत्वमा अग्रता लिइरहेको छ ।
यसरी हेर्दा, एमाले र माओवादीको प्रभाव क्षेत्रमा पनि कांग्रेसले बलियो उपस्थिति देखाइरहेको छ । रुकुम पश्चिमको मुसिकोट पनि माओवादीलाई पछाडि पारेर कांग्रेसले नेतृत्व गरिरहेको छ । रुकुमकै चौरजहारी नगरपालिकामा पनि कांग्रेस हावी भएको छ । यी सबै उदाहरण हेर्दा वामपन्थी गढमा पनि कांग्रेस बलियोसँग प्रवेश गरेको उदाहरण देखिन्छ ।



