काठमाडौं । स्थानीय चुनावको परिणाम आइरहेका बेलामा सरकारका मन्त्रीहरु भने फेरबदल हुने गाईगुँई सुरु भएको छ । २०७९ वैशाख ३० गते स्थानीय चुनावका लागि मतदान गर्ने र त्यसको परिणाम आउने क्रम सोही दिनको साँझबाट सुरु हुनेछ । तर, त्यही साँझबाट मन्त्रीहरुको लागि दिन गन्ती सुरु हुनेछ । उच्चस्तरीय राजनीतिक स्रोतका अनुसार, एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसबाट मन्त्री भएका केही सांसदहरु फिर्ता हुने र केहीको इन्ट्री हुनेछ । स्रोतका अनुसार, एकीकृत समाजावदीले पाँचै जनाको सेट परिवर्तन गर्ने संभावना रहेको छ भने माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा पठाउने संभावना रहेको छ ।
श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाउने तयारी भएको स्रोतको दावी छ । अहिलेका परराष्ट्रमन्त्री नारायण खड्काबाट अपेक्षित काम हुन नसकेको र विदेशी मुलुकसँग सम्बन्ध विस्तार भन्दा पनि आफ्नो गृह जिल्ला उदयपुरको चुनावी क्षेत्रमा मात्रै समय विताउने गरेको आरोप लागिरहेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्व खड्काले अपेक्षित रुपमा हाँक्न नसकेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुसी छैनन् । खड्कालाई परराष्ट्र मन्त्री बनाउन पत्नी आरजु राणा देउवा हावी भएकी थिइन् । माओवादी केन्द्र र कांग्रेसभित्र अर्थमन्त्री जनार्दन शर्मालाई पनि परिवर्तन गर्नुपर्ने बलियो मत देखिन थालेको छ ।
माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र कृष्णबहादुर महराको समूह शर्मालाई अर्थबाट हटाउनुपर्ने लाइनमा देखिएका छन् । त्यसैले गभर्नरलाई निलम्बन गरेको प्रकरणमा पनि माओवादीभित्र पुन र महराले शर्मा साथ नदिई विपक्षीकै लाइनमा बोलेका थिए । माओवादीभित्र चलेको चर्चा अनुसार शर्मालाई फिर्ता गरेर पुन अर्थमन्त्री बन्न चाहिरहेका छन् । तर, कांग्रेसले अर्थ मन्त्रालय लिने दाउ गरिरहेको छ । कांग्रेसले संघीय चुनावअघि अर्थ र गृह दुवै मन्त्रालय आफू अन्तरगत नै राख्ने गरी माओवादीमाथि दबाब बढाउन थालेको पनि स्रोतको छ ।
मन्त्रीहरु स्थानीय चुनाव अघि फेरबदल गर्दा चुनावी परिणाममा पनि असर पर्ने बुझेर मन्त्रीहरु फेरिएका थिएनन् । यता, खेलकुद मन्त्री महेश्वर गहतराजले पनि अपेक्षित काम नगरेको माओवादी नेताहरुको भनाइ छ । माओवादीबाट मन्त्री भएका मध्ये पम्फा भुसालले मात्रै देखिने गरी केही काम गरेको र भिजिवल भएको तर अन्य मन्त्रीहरु गुमनाम भएको बताउने गरेका छन् । एकीकृत समाजवादीबाट भने पाँचै जना फेरिन सक्ने स्रोतको दावी छ ।
पहिला प्रेम आलेलाई निरन्तरता दिएर बाँकीलाई फिर्ता बोलाउने तयारी भएको थियो । तर, रामकुमारी झाक्रीले आलेको निरन्तरताको कारण र आफूहरुलाई फिर्ता बोलाउने कारण र आधार प्रष्ट नभएको भन्दै असन्तुष्टि पोखेकी थिइन् । उनीहरुले चुनावपछि पाँचै जनाले मन्त्री पद छोड्न तयार रहेको बताएका थिए । अध्यक्ष माधव नेपालसँग नै उनीहरुले चुनावपछि सरकारबाट फिर्ता हुन तयार रहेको बताएको पनि स्रोतको भनाइ छ । अध्यक्ष नेपाल भने मन्त्रीमा प्रेम आलेलाई चाहिं निरन्तरता दिन चाहिरहेका छन् । प्रेम आलेले दावी गरे अनुसार, उनीसँग किसान श्रेष्ठ, धन बहादुर बुढा, पार्वती विशंखेलगायत ६ जना सांसद रहेका छन् ।
उच्चस्तरीय राजनीतिक स्रोतका अनुसार २०७९ जेठ ५ गते भित्र नै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने आंकलन गरिएको छ । तर, बजेट १५ जेठमा ल्याईहाल्नुपर्ने भएका कारणले जेठ ५ गते भित्र सरकार चलाउँदा समस्या हुन्छ कि भन्ने चर्चा पनि भइरहेको छ । बजेट ल्याउन समस्या हुने देखिएमा भने केही दिन धकेलिन सक्ने अनुमान पनि भइरहेको छ । माधव नेपालका पार्टीका मन्त्रीहरुलाई त ६ महिनाका लागि भनेर नै पठाइएकोले पनि उनीहरु झन्डै ८ महिना मन्त्री हुन लागिसकेका छन् । त्यसैले पुरानो सम्झौता अनुसार फिर्ता हुनुपर्नेछ ।
उल्लेखित मन्त्रीहरु हटेपछि जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का, सोमप्रसाद पाण्डेहरु मन्त्री बन्ने संभावना रहेको पनि बताइएको छ । कांग्रेसभित्र पनि मन्त्रीका लागि मरिहत्ते गर्नेहरु प्रशस्त देखिएका छन् । बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्काहरुले मन्त्री पद जोगाउनकै लागि महाधिवेशनमा केन्द्रीय सदस्यका लागि चुनावै लडेका थिएनन् ।



