काठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका ५ स्थित बसपार्क ईलाकाबाट बैशाख ११ गते सशस्त्र प्रहरीले करीव ५ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित सीमा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको लत्ताकपडा, किराना तथा कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वर ईलाकाबाट बैशाख १० गते सशस्त्र प्रहरीले करीव १ लाख ९७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
जलेश्वरबाट जनकपुरतर्फ आउँदै गरेको एक यात्रुवाहक बसमा जाँच गर्दा बेवारीसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बलले बताएकाे छ ।



