काठमाडौं । एमसीसी प्रतिनिधि सभामा टेबुल भएपछि आंत्तिएकाे सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेल २०७८ फागुन ९ गते सोमबार दिनभर दाैडधुपमा व्यस्त रहे ।
कांग्रेस नेता पौडेलले सरकारमा रहेका दलका शीर्ष नेताहरुसँग छलफल गरे । एमसीसी पारित गर्ने र गठबन्धन पनि जोगाउन पौडेलले दिनभर दौडधुप गरेका हुन् । पौडेलले भेट्नु अघि नै माधव नेपाल नेतृत्वको पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको थियो ।
प्रचण्ड र उपेन्द्र यादवको पार्टीले भने घोषित रुपमा केही भनिसकेका छैनन् । पौडेलसँगको भेटमा प्रचण्डले एमसीसीको पक्षमा उभिन सक्ने बताएका छन् ।
पौडेलनिकट एक नेताका अनुसार, प्रचण्डले गठबन्धन जोगाएर जाने र संसदीय प्रक्रियामा बहुमत पुर्याउने वातावण बनाईदिने आश्वासन दिएका छन् । प्रचण्डलाई पार्टीभित्र एमसीसीको विपक्षमा उभिन र सरकार छोड्न व्यापक दबाब रहेको छ । तर, प्रचण्डले भने कांग्रेस नेता पौडेललाईै एमसीसीको पक्षमा उभिन सक्ने बताएर फुरुङ्ग बनाएर पठाएकाे स्राेत बताउछ ।
प्रचण्डले अहिलेसम्म पार्टीभित्र पनि यो विषयमा छलफल गरेका छैनन । पहिला पार्टीभित्र छलफल गर्दा एमसीसीको विपक्षमा उभिने र टेबुल हुन नदिने बरु सरकार छोड्ने बताएका थिए । प्रचण्डले नै परेको ब्यहोर्छु भन्दै नेता र कार्यकर्तालाई बढो उत्तेजित पारेका थिए ।
अहिले प्रचण्ड मौन बसेका छन् । उल्टै कांग्रेसका नेताहरुलाई एमसीसीको पक्षमा उभिने संकेत गरेका छन । नेता पौडेलसँग भेटघाट सकेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।
बालुवाटारमा पनि प्रचण्डले त्यही कुरा दोहोर्याएको बताइन्छ । प्रचण्डले देउवा र पौडेललाई परिस्थिति अनुकूल बनाएर एमसीसी पास गर्न सहयोग गर्ने बताएका छन् ।
उनले आफ्नो मन्त्रीलाई अहिलेसम्म सरकार छोड्नुपर्ने हुनसक्छ भनेर भनेका पनि छैनन् । बरु, माधव नेपालका मन्त्रीहरु दुईदिनभित्र सबै काम गर्ने भन्दै हतारोमा छन् ।
उनीहरु सरकारमा भइन्छ कि भईदिने तर दुई, तीन दिनमा धेरै निर्णय गर्ने भन्दै दौडमा रहेका छन । मन्त्रीहरुले आफ्नो सचिवालयमा त्यसैअनुसारको सल्लाह पनि गरेका छन् ।
माधव नेपालको पार्टीले भने विपक्षमा मतदान गरे पनि सरकारबाट नबाहिरिने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग त्यसैअनुसार सल्लाह भएको पनि एस पार्टीका नेताहरुको भनाइ छ । एस पार्टीले एमालेलाई देउवासँग आउनबाट रोक्ने रणनीति अनुसार सरकारबाट फिर्ता नहुने र समर्थन फिर्ता नलिने रणनीति बनाएको ती नेताको भनाइ छ ।



