काठमाडौं । २०७४ चैत ४ गते प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिएका छन् । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न, काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाएका छन् । ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस्, त्यस अनुसार उपलब्धि हासिल गर्नुहोस्’ भन्दै प्रधानमन्त्री ओलीले भने ‘तर यस कारण, यदि, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’
मन्त्रालय पाउनासाथ भनेजस्तो सचिव छानी सेटिंगमा मुलुकका लागि भन्दा बढी आफू र आफ्नो पार्टीका पक्षमा काम गर्ने मन्त्रीका चाहना यसपटक पूरा नहुने भएका छन् । विगतमा मन्त्रीले सचिव छानेर सेटिंगमा कमाउ धन्दा नै चलाएकाले यसपटक मन्त्रीले सचिव छान्न नपाउने भएका छन् । स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओली स्वयंले नै सचिवका कार्यक्रम र योजना तथा उनीहरुका दक्षता र योग्यता हेरेर मन्त्रालय तोक्नेछन् ।
६ महिनासम्म उनीहरुको कार्यसम्पादन क्षमता हेरेर मूल्यांकन गरेर पुरस्कार र दण्डको ब्यवस्था गर्ने सोचमा प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् स्रोत बताउछ । यसका लागि सचिवहरुले प्रमसमक्ष बेग्लै कार्यसम्झौता पेश गरी लक्ष्य समेत निर्धारण गर्नुपर्ने छ । साथै अघिल्लो सरकारले खेदेर हत्तु बनाएका थुप्रै वाम निकट भनिने सचिवहरुले भने यसपटक राम्रै मन्त्रालय र हैसियत पाउन लागेका छन् ।
वाम दल निकट मानिएका/भनिएका सचिवहरु अघिल्लो सरकारले खेदेका मात्र भएर पुग्दैन, सत्तानिकट पनि हुनुपर्नेछ । शेरबहादुर र आरजुहरुले खेदेर दुःख दिएका, अपमानित गरिएका र एक महिनाको अवधिमै दुई/तीन पटकसम्म सरुवा गरिएका सचिवहरुले गृह, सञ्चार, अर्थ, पर्यटन जस्ता मन्त्रालयमा अवसर पाउने छन् । शेरबहादुर र आरजूका पक्षमा निष्कंटक यिनकै सत्ता रहन्छ झैं गरी मनलाग्दी गर्ने सचिवहरु गृहसचिव मोहनकृष्ण सापकोटा, अर्थका शंकर अधिकारी, सञ्चारका केदार बहादुर अधिकारीलगायतहरुले भने हिजो वाम निकट आरोप लागेर खेदिएका, पाखा पारिएका सचिवहरुको हैसियतमा रहनु पर्ने अवस्था आउन सक्ने चर्चा गरिदैछ ।
संभवत यसै हप्ता देउवा सरकारले पाखा लगाएका, वरिष्ठ भएर पनि खेद्नु खेदिएका ङइन्द्रप्रसाद उपाध्याय, लामो समयदेखि मन्त्रालय सम्हाल्नबाट बञ्चित गरिएका विष्णु लम्साल अर्थ, गृह वा पर्यटनमध्ये एकमा पुग्नेछन् । अर्थमा भने प्रमका प्रिय र अर्थमन्त्रीले चाहेका मानिस आउने सम्भावना पनि उत्तिकै छ ।
अर्थका लागि विष्णु लम्साल, कृष्ण देवकोटा, राजन खनाल, शिशिर ढुंगानालगायतको चर्चा छ । किनभने यो बजेट बनाउने र मुलुक निर्माणका लागि लाग्ने समयमा अर्थमा प्रम ओलीले आफ्नो सहमतिमा खतिवडाकै रुचीलाई ध्यान दिन सक्छन् ।
वाम निकट भनी चिनिएका र अघिल्लो सरकारको कर्के नजरमा परेका सचिवहरु कृष्ण देवकोटा, महेश्वर न्यौपाने, दीपेन्द्रनाथ शर्मा, प्रेमकुमार राई, महेश्वर दाहाल, महेन्द्रमान गुरु¨हरु प्रमका रोजाइमा पर्ने सम्भावना छ । ङइन्द्र उपाध्याय त वरिष्ठ भएपनि अघिल्लो सरकारले एकै महिनामा तीन ठाउ“मा अपमानपूर्वक खेदेको थियो । देउवाको प्रमको अवधिमा उनलाई महिला, बाणिज्य, आपूर्ति र मन्त्रिपरिषद् कार्यालयमा दौडाइएको थियो । यी वरिष्ठ सचिव उपाध्यायलाई के कस्तो जिम्मेवारी दिइने हो, जिज्ञासाको विषय भएको छ ।
पर्यटन मन्त्रालयमा बसेर महंगो मूल्यमा दुईवटा एयरबस खरिद गर्ने विवादास्पद निर्णयको अध्यक्षता गरेका शंकर अधिकारी आरजुका प्रिय पात्र हुन् । पर्यटनबाट मन्त्रिपरिषदमा पुगेका र लगत्तै अर्थसचिव बनेका शंकर अधिकारीको हालत अब शेरबहादुरका पालमा उपाध्यायले भोगे जस्तो हुनसक्ने चर्चा छ । आफूलाई एमाले भनेर हल्ला गर्ने तर देउवा र विजय गच्छेदारका निकै प्रिय सचिव बन्न सफल कमिशनमुखी दिनेश थपलियालाई ओलीले कसरी व्यवस्थापन गर्छन् हेर्न बाँकी नै छ । थपलिया स्थानीय विकास मन्त्रालय अन्तर्गतका सबै निर्माण र बजेटबाट कमिसन असुल गर्ने मामलामा निकै बद्नाम छन् ।
(२०७४ चैत ५ गतेको साँघु साप्ताहिकबाट)



