वरिष्ठ उपाध्यक्ष एमाले नेता ईश्वर पोखरेल भन्नुहुन्छ–‘दामासाही सोचबाट पार्टी बन्दैन ।’ सबैलाई ‘बराबर’ र ‘दामासाही’ भन्ने खाले जिम्मेवारीको तरिका र सोचबाट एउटा गतिशील, व्यवस्थित र संगठित पार्टी संचालन हुन सक्दैन । दामासाही अर्थात सबैलाई सँधै सबै कुरामा बरोबरको भागशान्ति सोच, विधि र तरिकाबाट पार्टी बन्दैन । त्यस्तो परम्परागत तथा प्राविधिक सोचबाट अघि बढियो भने त्यहाँ पार्टी गतिशील बन्नुको सट्टा धरासायी बन्न पुग्दछ । संगठनको संचालन योग्यहरू मध्ये बढी योग्यको छनौटबाट हुनुपर्दछ ।
लेखको शीर्षक तथा मूल आशयनेता पोखरेलकै धारणाबाट लिई त्यसलाई लेखकले दार्शनिक दृष्टिले विवेचना–विश्लेषण गरेको हो । काठमाडौं जिल्ला कमिटीको वृहत् बैठकलाई निर्देशित गर्ने क्रममा उहाँद्वारा हालै सो विचार सार्वजनिक भएको हो । जुन एकदमै सही, वस्तुगत, वैज्ञानिक र बदलिँदो विश्व परिस्थिति अनुकूल रहेको देखिन्छ । वास्तवमा ‘सबैलाई समान’ वा ‘दामासाही’ भन्ने धारणाले न्याय होइन संगठनमा अन्याय एवम् गतिहीनता हुन्छ ।
न्याय सम्बन्धी दार्शनिक धारणा
न्याय (जष्टिस) लाई विभिन्न दार्शनिकहरूले विभिन्न तरिकाले विश्लेषण गरेका छन् । त्यसमा युनानी दार्शनिक एरिस्टोटले दिएको व्याख्या सर्वाधिक महत्वपूर्ण रहेको छ । उहाँले न्यायको व्याख्या गर्दै ‘समानहरूको लागि समान र असमानहरूको असमान’ व्यवहार गर्नु न्याय हो भनेका छन् । उनकै भाषाबाट अग्रेजीमा भन्दा ‘जष्टिस इज इक्युइल फर इक्वएल अनइक्वयल फर अनइक्वयल ।’ अर्थात एउटै काम, एउटै शिक्षा, एउटै योग्यता, एउटै दक्षता भएकालाई समान खालको समानता हुनुपर्दछ भनेको हो । आठ कक्षा पढेको र एमए पासलाई एउटै काम र एउटै तलब चाहिं अन्याय हुन्छ भन्ने हो ।
समान कामको लागि असमान ज्याला दिनु चाहिं अन्याय हुन्छ भन्ने हो । योग्यहरू मध्ये पनि समान योग्यता र क्षमता वा कार्यको आधारमा योग्यको छनौट हुनु पर्दछ भन्ने एरिस्टोटलको विचार हो । यही मान्यताको आधारमा हालैका दशकमा योग्यहरूको सूची (मेरिट लिष्ट) को माध्यमबाट मेडिकल साइन्स, कानूनको एलएलएम जस्ता क्षेत्रमा मात्र होइन लोकसेवाको मूल्याङ्कनमा समेत नेपालमा पनि योग्यहरूको सूची तयार गर्ने गरिएका छन् । योग्यहरूको सूची सम्बन्धमा सर्वाेच्च अदालतबाट पनि बेलाबेलामा महत्वपूर्ण फैसला गरिएका छन् ।
२०७० मा रोशन खनालको एउटा मुद्दामा २८ जना व्यक्तिहरूले परराष्ट्र सेवामा लोकसेवाबाट अधिकृत परीक्षा पास गरेका थिए । त्यस मध्ये १२ जना समावेसीबाट र बाँकी खुल्लाबाट रहेकोमा पछि योग्यहरूको सूची बनाएर मर्यादाक्रम राख्दा कानुनी जटिलता तथा द्वन्द्व भएपछि मुद्दा सर्वाेच्च पुगेको थियो । परराष्ट्रमा मर्यादाक्रमको आधारमा बढुवा, सरूवामा प्राथमिकता दिईने भएकोले यसरी मुद्दा सर्वाेच्च सम्म पुगेको थियो । झगडा चाँही खासमा पहिला खुल्लाकाहरू हुने कि समावेसीबाट आएकाहरू हुने भन्नेबाट सुरू भएको थियो ।
पछि सर्वाेच्चबाट उही एरिस्टोटलको न्यायको दार्शनिक मान्यतामा टेकेर योग्यहरूको मर्यादा सूचीबाट गर्ने भन्यो । अर्थात जसको जति नम्बर रहेको छ उही माथि हुने र त्यो क्रमशः घट्दै आउने भनिदियो । पहिला खुल्लाबाट पनि हुन्न र समावेसीबाट पनि हुन्न । जसको जति नम्बर बढी छ मर्यादाको सूचीमा उही अगाडि हुने भनेपछि सबैलाई न्याय मिल्यो । अर्थात योग्यहरूमध्येको योग्यको छनौट यसरी हुन्छ । माथि वरिष्ठ नेता ईश्वर पोखरेलले ‘दामासाही सोचबाट पार्टी बन्दैन’ भन्नु भएको चाँही ‘इक्वयल फर इक्वएल अनइक्वएल फर अनइक्वएल’को फर्मूलाको मर्मपनि हो ।
मानापाथी र झुसी मान्यता
‘पार्टी संगठन परम्परागत मानापाथी भरेजस्तो निम्ठोलाई निम्ठो र झुसीलाई झुसी बनाएर पैँचो दिएको र पैँचो तिरेको जस्तो तरिकाबाट संचालन हुन सक्दैन ।’ नेता पोखरेलद्वारा व्यक्त भएको उल्लेखित धारणा पनि वस्तुगत र वैज्ञानिक छ । वास्तवमा राजनीतिशास्त्र तथा राजनीतिक विज्ञान भनेको गणित विज्ञान जस्तो ‘दुई दुना चार बाहेक हुनै सक्दैन’ भन्ने जस्तो हुँदैन । त्यसरी सोचियो र व्यवहार गर्न खोजियो भने त्यहाँ पनि अन्याय, अव्यवस्था, अवस्तुवादीता, गतिहीनता, अन्यौल र प्राविधिक खाले संचालन मात्र हुन पुग्दछ । त्यस्तो प्राविधिक संगठन कामकाजी बन्नै सक्दैन ।
जनताको संगठित शक्ति भएको विशाल पार्टी संचालन गर्ने कुरा कानुनी र प्राविधिक कुरा मात्र होइन र त्यसरी बुझ्नु पनि हुन्न । निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने, नविकरण गर्ने, अधिवेशन र बैठक गर्ने कुरा र कामलाई मात्र पार्टी भन्ने बुझियो भने त्यो साँघुरो बुझाई हुन्छ । पार्टी संगठनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, सूचना, विज्ञान, ज्ञान, सीप, कला, विशेष कार्यदक्षता, विशेष तालिम, बदलिँदो समय तथा आवश्यकता आदिका कारण विषय–विषयमा विज्ञता भएका मानिस वा व्यक्तिहरूलाई संगठनका विभिन्न ठाडो–तेस्रो जिम्मेवारी तथा नेतृत्वमा ल्याउनै पर्ने वाध्यता छ ।
यही मान्यतालाई स्वीकार गरी एमालेले नीति अनुसन्धान प्रतिष्ठान जस्तो बौद्धिक निकाय वा संरचना गठनको जिम्मेवारी पनि दोस्रो मर्यादाका नेता पोखरेललाई नै दिएको छ । त्यसैले जिम्मेवारी दिँदा पनि त्यस्ता विज्ञता, कार्यक्षमता र ज्ञान भएका व्यक्तिलाई भर्खरै पार्टीको सदस्यता दिलाएर वा सदस्यता नदिलाएर भएपनि पार्टी वा संगठन वा सार्थक सम्पर्कमा निश्चित विभाग वा क्षेत्र हाक्न दिनु वा विभागमा सहभागी गराई समग्र पार्टीको क्षमता, गतिशीलता, संगठन तथा प्रतिस्प्रर्धात्मक क्षमता वृद्धि गर्नु चाँही बढी बुद्धिमानी हुने अवस्थाको कारण त्यस्ता कुरा आज अत्यावश्यक भएका हुन् ।
नेता पोखरेलले भनेजस्तो केवल ‘निम्ठोलाई निम्ठो र झुसीलाई झुसी’ हिसाबले मात्र बुझ्नु, व्याख्या गर्नु तथा संगठन संचालन गर्नु हुन्न । आज परम्परागत सोच, शैली र तरिकाबाट मात्र पार्टी संगठन संचालन गरी श्रेष्ठता हासि गर्न सकिने अवस्था छैन् । जस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुन, कूटनीति, परराष्ट्र मामला र सम्बन्ध, अर्थशास्त्र, विज्ञान तथा प्रविधि, अत्याधुनिक ज्ञान र सीप, कला, व्यवसायिक क्षेत्र जस्ता अनगिन्ती क्षेत्र र पक्ष आदिबाट सक्षम मध्येको सक्षम र विज्ञ मानिस ल्याउनै पर्र्ने परिस्थिति प्रतिस्प्रर्धात्मक भूराजनीति र बदलिँदो आवश्यकताको कारण बढीरहेको छ ।
यसैले नेता पोखरेलले भनेको तर्क र विचार बढी वस्तुगत र वैज्ञानिक रहेको देखिन्छ । जस्तो कुनै व्यक्ति ४० वर्ष देखि पार्टीको सदस्य रहेको छ । जेल–नेल र आन्दोलनको इतिहास पनि रहेको छ । तरपनि माथि उल्लेख गरिएका जस्ता विशेष दक्षता, ज्ञान, कला र कार्यक्षमताको अभाव छ भने अर्काे त्यस्तो बढी सक्षम व्यक्तिलाई अहिल्यै सदस्यता दिएर वा नदिएर पनि पार्टी संगठनमा ल्याउनु वा सहयोग लिई आफ्नो लक्ष्य प्राप्तिको लागि योग्य व्यक्तिलाई निश्चित जिम्मेवारीमा ल्याउनु नै बढी बुद्धिमानी ठहरिन्छ ।
यो व्यवहारिक, वैज्ञानिक, न्याय र वस्तुगत सबै दृष्टिले आवश्यक हुन आँउछ । यसैले उहाँले निम्ठोलाई निम्ठो र झुसीलाई झुसी जस्तो संकुचित हिसाबले बुझ्नु हुन्न भन्ने धारणा सही छ ।
अन्तमा
पार्टी संगठनमा लामो समय काम गरेका मानिसहरूलाई कहिलेकाँही आफू नै फलानो जिम्मेवारीमा हुनुपर्ने वा फलानो विभाग आफूले पाउनु पर्ने वा फलानो पदमा आफू हुनै पर्ने लाग्न सक्दछ । त्यो एक अर्थ र कोणबाट ठिकै पनि हुनसक्दछ । यद्यपि मुलुक नै हाक्ने पार्टीकोे संगठन चलाउने कुरा केवल परम्परागत तथा प्राविधिक दृष्टिकोणले मात्र संचालन गर्न खोजियो भने त्यो ‘निम्ठोलाई निम्ठो र झुसीलाई झुसीजस्तो’ मात्र बन्न पुग्दछ । यसर्थ नेता ईश्वर पोखरेलले भन्नुभएजस्तै दामासाही सोचबाट खासमा अब पार्टी चल्नचाँही सक्दैन भन्ने कुरा साँचो हो ।



