काठमाडाैं । वीरगञ्ज भंसार नाकाबाट भंसार छली र तस्करी व्यापक रूपमा बढ्न थालेकाे पाइएकाे छ । भंसार छली, चाेरी, तस्करी र विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधिहरू पास हुने गरेकाे कुरा प्रहरीले लगातार लाखाै लाखका सामानहरू पक्राउ गरेबाट स्पष्ट हुन्छ ।
भंसारकाे मिलेमताेमा विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधिहरू लोड गरी पोखरा लग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २०७८ पुस १५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डमा प्रदेश नं.२-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई पक्राउ गरेकाे छ ।
मालवाहक ट्रक जाँच गर्ने क्रममा प्रहरीले पाएकाे सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधि पचासाै लाखकाे अवैध सामान फेला परेको थियाे । उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.२ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू.६०,००,०००।–(साठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि २०७८ पुस १५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ । ।



