काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुई महिनाको बीचमा ३७ जना मिर्गौला विरामीको मिर्गौला प्रत्यारोपण ग¥यो । २०७८ को दशैं विदा, तिहार विदा, अन्य पर्व विदा र साप्ताहिक विदा अर्थात् कार्यदिनको मात्रै हिसाब गर्ने हो भने यी दुई महिनामा औसतमा हरेक दिनजसो मिर्गौला प्रत्यारोपण गरेको देखिन्छ । अघिल्लो वर्षको तुलना गर्ने हो भने चाहिं एक वर्षमा जम्मा २६ जना मिर्गौला विरामीको मिर्गौला प्रत्यारोपण भएको थियो ।
केन्द्रको कार्यकारी निर्देशकमा प्रेम ज्ञवालीलाई नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी ओलीले केन्द्रको गठन आदेश नै परिवर्तन गरेका थिए । ज्ञवाली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको त्रिभुवन विश्वविद्यालयका चिकित्सक थिए, जुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको केन्द्रमा नियुक्त गर्न मिल्ने थिएन ।
प्रधानमन्त्री ओलीलाई जसरी पनि ज्ञवालीलाई नियुक्ति गर्नुपर्छ भन्ने लाग्यो अनि केन्द्रको गठन आदेश परिवर्तन भयो र जुनसुकै निकायबाट केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्न सक्ने व्यवस्था गरियो । त्यसरी गठन आदेश नै परिवर्तन गरेर केन्द्रको कार्यकारी निर्देशकमा ज्ञवाली आएपछि केन्द्रमा सबैभन्दा कम अर्थात् वर्षमा ५०÷६० जना मिर्गौला विरामीको मिर्गौला पनि प्रत्यारोपण हुन सकेको थिएन । त्यसैले विरामीहरू पर्खाइको लामो सूचीमा थिए ।
जब दुई महिनाअघि सरकारले केन्द्रको गठन आदेश पुरानै थितिमा फर्कायो र पहिलाकै कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठलाई जिम्मेवारी सुम्पियो । त्यसपछि हरेक दिनजसो मिर्गौला प्रत्यारोपण हुन थाल्यो । ज्ञवालीको पालामा एक वर्षमा हुने प्रत्यारोपण संख्या अहिले दुई महिनामा हुन संभव भएको छ ।
लामो पर्खाइको सूचीमा रहेका विरामीको संख्या पनि घट्न थालेको स्रोत बताउछ । ज्ञवालीको पालामा जस्तो प्रत्यारोपणको क्रममा समस्या आएको पनि छैन । त्यसरी हेर्दा केन्द्रका चिकित्सकहरूले तुलनात्मक रुपमा जिम्मेवारीपूर्वक काम गर्न थालेको देखिन्छ ।
दुई महिनाअघि केन्द्रको कार्यकारी निर्देशकमा डा.पुकारचन्द्र श्रेष्ठ आएपछि ३७ जनाको मिर्गौला प्रत्यारोपण भए र ती शतप्रतिशत सफल भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, प्रत्यारोपण गर्नेमा २५ जना पुरुष, १२ जना महिला रहेका छन् ।
त्यसलाई भौगोलिक रुपमा विश्लेषण गर्दा प्रदेश १ बाट ८ जना, प्रदेश २ बाट १० जना, वागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ४ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।
केन्द्रका अनुसार, तीमध्ये २ जना पहिला नै अन्यत्र प्रत्यारोपण गरेको तर फेल भएका विरामीहरू थिए । उनीहरूको पनि दोस्रो पटक प्रत्यारोपण पनि सफल भएको छ । त्यसमा एकजना चाहिं पूर्वमन्त्री दलजीत श्रीपाइलीसमेत रहेका थिए ।
श्रीपाइलीको पहिला त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै छोरीले मिर्गौला दिएकी थिइन् । तर, त्यो प्रत्यारोपण सफल नभएपछि पुनः प्रत्यारोपण गर्न श्रीपाइली केन्द्रमा पुगेका थिए । अहिले उनको दोस्रो मिर्गौला प्रत्यारोपण भने सफल भएको छ । केन्द्रप्रति विश्वास बढ्ने क्रममा नै यही दुईमहिनाको बीचमा एकजना विरामी वेलायतबाट मिर्गौला प्रत्यारोपण गर्न आएका थिए । उनको पनि सफल प्रत्यारोपण भइसकेको छ ।
नौ वर्षमा आठ सय प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापनाको नौ वर्ष पुग्न लाग्यो । आउँदो ६ माघमा नौ वर्ष पूरा हुने केन्द्रले यो समयमा आठ सय मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ । २०७८ साल मंसिर २० गतेका दिन केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्ने विरामीको संख्या ठ्याक्कै ८ सय जना पुगेको केन्द्रले जानकारी दिएको छ । र, तीमध्ये झन्डै ९८ प्रतिशत सफल प्रत्यारोपण रहेको केन्द्रको दावी गरिएको छ ।
अस्पतालको कार्यदिनलाई मात्रै हिसाब गर्ने हो भने वर्षमा औसतमा एक सयभन्दा बढी मिर्गौला विरामीको मिर्गौला प्रत्यारोपण भएको देखिन्छ । त्यसो त, केन्द्रले ६ जना विरामीको ब्रेनडेथबाट अंग प्रत्यारोपण गरेको थियो ।
कार्यकारी निर्देशकमा ज्ञवाली आएपछि ब्रेनडेथबाट मिर्गौला प्रत्यारोपणलगायतका कार्य भने रोकिएको थियो । उक्त कार्य अहिलेसम्म सुरु हुन सकेको छैन। त्यसमा ज्ञवालीको टोलीले ब्रेनडेथ सम्बन्धी कार्यविधि र निमावली नै संशोधन गराएका कारण केन्द्रले प्रक्रिया अगाडि बढाउन सकेको छैन । ४ वर्षअघि केन्द्रले नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण पनि गरेको थियो । कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले दक्षिण कोरियाका मेडिकल कलेजका कलेजो प्रत्यारोपणका विज्ञहरूको टोलीलाई केन्द्रमा ल्याएर प्रशिक्षणसहित पहिलो प्रत्यारोपण गराएका थिए ।
०६९ माघ ६ मा केन्द्र सञ्चालनमा आएको थियो । केन्द्रको जग बसाउने भूमिका निर्वाह गरेका पुकारचन्द्रश्रेष्ठ नै अहिले पनि नेतृत्वमा छन् । कार्यकारी निर्देशक श्रेष्ठबाहेक नेपालको प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका मिर्गौला तथा कलेजो प्रत्यारोपणमा वरिष्ठ नेफ्रालोजिष्ट डा. कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा. राकेश कुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, निमित्त नर्सिङ्ग निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको मिर्गौला प्रत्यारोपणमा अंगदातातर्फ शतप्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता प्राप्त गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त टोलीमा केन्द्रको नेफ्रोलोजी विभागबाट डा. लुसन सिंह, डा. ललित कुमार यादव, डा. सुरेश महर्जन तथा युरोलोजि टोलीमा डा. विजयमान सिंह कटुवाल, डा विपेश श्रेष्ठ, डा रवि किरण गौतम, डा किरणजंग कुँवर लगायतका चिकित्सक पनि संलग्न छन् । त्यसैगरी, एनेस्थेसिया विभागमा डा. निभा श्रेष्ठ, डा.रेखा श्रेष्ठ, डा शोभित थापा, डा. रश्मित श्रेष्ठ, डा दिक्षा प्रसाईलगायतको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको केन्द्रले जनाएको छ ।
प्रत्यारोपणका लागि नामी हुँदै गएको केन्द्रमा रेडियोलोजीतर्फ डा. कृष्ण बुढाथोकी तथा प्याथोलोजिष्ट डा. सविना श्रेष्ठलगायतको टोली, ट्रान्सप्लान्ट कोअर्डिनेटरहरू शनिसा कार्की, अर्चना बगाले, तारा साँध र सरु कोंजुको महत्वपूर्ण भूमिका रहेको केन्द्रका कर्मचारीहरूको भनाई छ ।
नर्सिङ टोलीबाट वार्ड इन्चार्ज पूजा कोइराला, डाइलाइसिस इन्चार्ज अस्मिता कटुवाल र सुजिता शिवाकोटी, ओटी इन्चार्ज बबिता लबजु, आइ.सी.यु इन्चार्ज अनिता कार्कीलगायतको नर्सिङ टोली तथा फिजियोथेरापिष्ट डा गौरव पन्थ तथा शोनी शिखवालले प्रत्यारोपण सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
केन्द्रको स्थापनाकालमा कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठको टोलीमा वरिष्ठ एनेस्थेसियोलोजिष्ट प्रा डा. ब्रम्हदेव झा तथा तत्कालीन नर्सिङ्ग निर्देशक इन्दिरा प्रधानलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।



