काठमाडौं । सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २७ गते मतदान गरेर समाप्त भएको छ । यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि आफ्नो १०औं महाधिवेशन २०७८ मंसिर १० गतेबाट सुरु गरेर नयाँ कार्यसमिति चयन गर्दै २०७८ मंसिर १३ गते सम्पन्न भएको थियो ।
सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले नयाँ नेतृत्व चयनसहित महाधिवेशन सम्पन्न गरेलगत्तै सरकारको प्रमुख घटक माओवादी केन्द्रले पनि आगामी २०७८ पुस ११ देखि १३ गतेसम्म राजधानी काठमाडौंमा राष्ट्रिय कार्यकर्ता सम्मेलन गर्ने भएको छ ।
माओवादी केन्द्रको यो राष्ट्रिय सम्मेलन पनि नयाँ नेतृत्व चयनमा केन्द्रित रहने सम्मेलनको एजेण्डाले उल्लेख गरेको छ । तथापि नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सम्मेलन हुने भएपनि अध्यक्षमा भने पुष्पकमल दाहालले नै निरन्तरता पाउने र उनीसँग माओवादी केन्द्रका कुनै नेताले पनि प्रतिस्पर्धा नगर्ने बताइन्छ । तर, अध्यक्षका लागि पुष्पकमल दाहालको अवस्था सुनिश्चित भएपनि पार्टीमा उनीपछिको मर्यादाक्रममा दोस्रो स्थानका लागि भने नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराका बिचमा कडा प्रतिस्पर्धा अहिलेदेखि नै चलिराखेको स्रोत बताउछ ।
यो मामिलामा निर्णायक भूमिका अध्यक्ष दाहालको हुने भएपनि नारायणकाजी श्रेष्ठ अथवा कृष्णबहादुर महरालाई आफूपछिको मर्यादाक्रममा दोस्रो स्थानमा ल्याउन अध्यक्ष दाहाललाई हम्मेहम्मे पर्ने उनीनिकटका नेताहरुले बताएका छन् । किनभने यो मामिलामा अध्यक्ष दाहाल, नेता श्रेष्ठ र महरा कसैलाई पनि चिढाउने पक्षमा छैनन् । तर, प्रचण्डको भित्री समर्थन भने महराको पक्षमा रहेको स्रोत बताउछ ।



