काठमाडौं । कांग्रेस महाधिवेशनमा दर्जनभन्दा बढी व्यवसायी र ठेकेदारहरू हावी भएका छन् । राजनीतिमा निष्ठा, नीति र आदर्शभन्दा पनि पैसा, शक्ति र सत्ता हावी हुन थालेपछि अर्बपति ठेकेदार र व्यवसायीहरू पार्टी सत्ता कब्जा गर्न आउन थालेका छन् ।
कांग्रेसमा निर्वाचित महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यको उम्मेदवार र जिल्ला सभापतिको संख्यामात्रै हिसाब गर्दा पनि कांग्रेसमा अर्वपति ठेकेदार र व्यवसायी हावी भएको देखिन्छ ।
एकदर्जन व्यवासयीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । त्यति नै जिल्लामा जिल्ला सभापति निर्वाचित भएका छन् ।महाधिवेशन प्रतिनिधि चयन हुनका लागि १०/२० लाख होइन पचासौं लाख खर्च गर्नेहरू पनि देखा परेको कांग्रेसका निधर्न, तर सक्कली कार्यकर्ताहरू गुनासो गर्छन् ।
विश्वकै अर्वपति,ठेकेदारबाहेक बैंक तथा वित्तीय क्षेत्र, पर्यटन व्यवसायीमा लागेकाहरू पनि पार्टी सत्ताको दौडमा साँझविहान नभनी लागेका छन् । त्यसरी दौडिनेमा सबैभन्दा अगाडि विनोद चौधरी देखिएका छन् । विश्वको अर्बपतिको सूचीमा रहेको भनिएका चौधरी कांग्रेसको सांसद हुन् र नवलपरासीबाट महाधिवेशन प्रतिनिधि भएर आएका छन् । अहिले केन्द्रीय सदस्यको उम्मेदवार भएका छन् । आश्चर्य चाहिं, चौधरी खुला प्रतिस्पर्धामा आउन पनि डराएका छन् ।
कांग्रेसको ३४ जना केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट आउँछन्, त्यसमा प्रतिस्पर्धा गर्न डराएका चौधरीले मधेशी कोटा रोजेका छन् । मधेशी कोटा आफैमा सीमान्तकृत व्यक्ति र समुदायका लागि हो । तर, विश्वकै अर्बपति चौधरीले मधेशी कोटा कब्जा गरेपछि कसका लागि समावेशीको कोटा हो भन्ने प्रश्न उठेको छ ।
यो प्रश्न चौधरीको हकमा मात्रै होइन हरेकजसो व्यवसायीले कोटाभित्रबाट पार्टी सत्तामा छिर्न खोजेका छन् । लामो समय मधेशमा राजनीतिक गरेको एकजना कांग्रेसीको कोटा हरण गरेजस्तै अम्बिका शर्मा लामिछानेले पनि राजनीतिक महिलाको कोटा हरण गरेकी छिन् ।
प्रभु बैंकको बोर्ड अफ डाईरेक्टरसमेत रहिसकेकी शर्माका अन्य व्यवसायमा पनि लगानी छ । उनको पहिला म्यानपावर कम्पनी पनि थियो । उनी पनि अहिले महिला कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी बनेकी छिन् ।
व्यवसायमा स्थापित शर्मा राजनीतिमा आएर कोटाको राजनीति गर्नुले अन्य महिलाका लागि छुट्ट्याएको समावेशी कोटा हरण आफैमा न्यायोचित होइन् । प्रभु बैंककै अध्यक्ष तथा सञ्चालकको रुपमा लामो समय काम गरेका देवीप्रकाश भट्टचन जो अहिले प्रभु इन्सुरेन्समा आवद्ध छन्, उनी चाहिं बाग्लुङबाट महाधिवेशन प्रतिनिधि भएका छन् । यद्यपि, उनले चाहिं केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन् ।
अर्का व्यवसायी उमेश श्रेष्ठले पनि आरक्षित कोटा नै रोजेका छन् । उनी पनि जनजाति कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । श्रेष्ठ बैंकर, स्कूल सञ्चालक, हस्पिटल सञ्चालक, जलस्रोत लगानीकर्तादेखि घर, जग्गा कारोबारसम्म जोडिएका छन् ।
कांग्रेस पार्टीलाई अथाह सहयोग गरेर सांसद भएका श्रेष्ठ चितनवबाट महाधिवेशन प्रतिनिधि भएका थिए । उनी पनि पार्टी सत्तामा आउने प्रयासमा छन्, त्यो पनि सीमान्तकृत व्यक्तिको कोटा हरण गरेर । जनजातिको नाममा सक्षम र प्रभावशाली व्यक्तिले कसरी आरक्षित कोटा कब्जा गर्छन् भन्ने उदाहरण पनि हो चौधरी, श्रेष्ठको उम्मेदवारी ।
राजनीतिमा ठेकेदारहरू पनि हावी हुन थालेका छन् । अर्बपति ठेकेदार बहादुर सिंह लामा पनि केन्द्रीय सदस्यको दाबेदार रहेका छन् । अर्का अर्वपति ठेकेदार मोहन आचार्य पनि केन्द्रीय सदस्यको दावीमा छन् । लामा नुवाकोटमा प्रभाव जमाएर बसेका छन् भने आचार्यले रसुवामा प्रभाव राख्छन् ।
दुवै ‘क’ श्रेणीका अर्वपति ठेकेदार हुन् । र, दुवैले अथाह पैसा खर्चेर निर्वाचन जितेका छन्, उनीहरूकै कारण त्यो जिल्लामा सामान्य राजनीतिकर्मी निर्वाचनमा उम्मेदवार हुन नै नसक्ने अवस्था आइसकेको छ ।
आम निर्वाचनमा आचार्यले पार्टी र संघको उम्मेदवार बन्न लागेका नयाँ शक्तिकाप्रेम तामाङलाई खरिद गरेर टिकट नै साटफेर गर्न सफल भएका थिए । आचार्यलेआफ्नो प्रदेशको टिकटलाई संघमा उकालेर तामाङलाई संघबाट प्रदेशमा ओरालेका थिए ।
त्यसैगरी, अर्वपति जिपछिरीङ लामा कांग्रेसको सांसद भएपनि पेशाले ठेकेदार हुन् । उनको प्रभाव पनि कांग्रेसमा विस्तार भइरहेको छ । निर्माण व्यवासायी महासंघका अध्यक्ष रवि सिंह पनि कांग्रेसको राजनीतिमा सक्रिय छन् । प्
रकाशमान सिंहको समूहका खुलेका सिंहले कांग्रेसको महाधिवेशनका लागि त खर्च जुटाए नै सभापतिका उम्मेदवार प्रकाशनमान सिंहका लागि पनि करोडौं खर्च गर्दैछन् । प्रकाशनमान सिंहको प्रचारप्रसारका बोर्ड र गेटमा ठेकेदार सिंहले आफ्नो फोटोसमेत राखेका छन् ।
त्यतिमात्र होइन्, पर्यटनमा निकै विवादमा आउने राजेन्द्र बजगाई पनि केन्द्रीय सदस्यमा उठेका छन् । १३ औं महाधिवेशनमा उम्मेदवार बनेका बजगाईले त्यतिबेला पनि करोडौं खर्चेको चर्चा हुन्थ्यो । अहिले कति खर्चिन्छन् पत्तो छैन ।
उनलाई उम्मेदवार भएर जित्नुभन्दा पनि उम्मेदवार हुनुमात्रै ठूलो कुराजस्तो देखिन्छ । हुन त, अघिल्लो निर्वाचनमा प्रदेश सांसदका लागि गोरखामा चुनाव लडेका थिए । तर, नेकपामा उम्मेदवारसँग पराजित भएका थिए ।
अहिले १४ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यको उम्मेदवार भएका छन् र आउँदो निर्वाचनमा फेरि गोरखाबाट उम्मेदवार बन्ने प्रयासमा लागेका छन् । अर्का पर्यटन व्यवसायी रामशरण थपलिया महाधिवेशनमा हावी छन् । केही वर्षअघिसम्म ठमेल पर्यटन परिषद्को अध्यक्ष रहेका थपलिया कांग्रेसको केन्द्रीय सदस्यमा रहर गरिरहेका छन् ।
अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । जनजाति कोटाबाट उम्मेदवार भएका शेर्पा सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि आएका हुन् ।
अर्वपति ठेकेदारकै कुरा गर्दा जयराम लामिछाने पनि मकवानपुरबाट महाधिवेशन प्रतिनिधि आएका छन् । संयोग चाहिं मकवानुपरकै ठेकेदार इन्द्र बानियाँ प्रदेश अध्यक्षमा निर्वाचित भए ।
कांग्रेसका नेताहरूको भनाइमा अहिले प्रदेश अध्यक्षहरूमध्ये बागमती प्रदेशका अध्यक्ष बानियाँ र लुम्बिनी प्रदेशका अमरबहादुर पुन चर्चित अर्वपति ठेकेदार हुन् । अनि अन्य १२ वटा जिल्ला सभापति पनि ठेकेदार भएका छन् ।
रामेछापमा कान्छाराम तामाङले झन्डै ५ करोड खर्चेर जिल्ला सभापति भएको चर्चा पनि कांग्रेसभित्र चलिरहेको छ । अर्का अर्वपति ठेकेदार दीपक खड्का संखुवासभाको जिल्ला सभापति भएका छन् ।
(हेर्नुस् भाेलि २०७८ मंसिर २७ गतेकाे साँघु साप्ताहिकमा विस्तृत समाचार टिप्पणी)



