काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको दशौं महाधिवेशन सुरु भएको १३ दिनपछि सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेसले २०७८ मंसिर २४ गतेबाट १४ औं महाधिवेशन गर्ने कार्यक्रम रहेको छ । प्रतिपक्ष नेकपा एमालेको दशौं महाधिवेशनले दोहो¥याएर केपी ओलीलाई अध्यक्ष बनाउने निश्चित भएको कारण एमालेको भावी नेतृत्वलाई लिएर दशौं महाधिवेशनको निर्वाचनमा के होला को आउला भन्ने खासै उत्सुकता र चर्चा रहेको छैन । यसैगरी नेपाली कांग्रेसले २०७८ मंसिर २४ गतेबाट हुने चौधौं महाधिवेशनमा नेतृत्व चयन मात्र गर्ने र पार्टीको कार्यदिशा र विचारका लागि अर्काे अधिवेशन गर्ने निर्णय गरेकाले कांग्रेसको मामिलामा सर्वसाधारण जनताको उत्सुकता नेतृत्वलाई लिएर बाक्लो रुपमा रहेको छ ।
नेकपा एमालेलाई सरकारमा रहेका दुई कम्युनिष्ट पार्टी नेकपा माओवादी र नेकपा समाजवादीले सत्तारुढ गठबन्धनका ५ दल नै मिलेर एक्ल्याउनुपर्ने योजना बनाइरहँदा भएको एमालेको यो ऐतिहासिक १० औं महाधिवेशनले आगामी आमनिर्वाचन र स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर रणनीति तय गरिराखेको छ । तर यही मंसिर २४ गतेबाट १४ औं महाधिवेशन हुने नेपाली कांग्रेसले भने निकट भविष्यमा नै हुने स्थानीय तह र आमनिर्वाचनका सम्बन्धमा अहिलेसम्म स्पष्ट धारणा र रणनीति बनाएको छैन । महाधिवेशनको मिति आउन ११ दिन बाँकी हुँदा नेपाली कांग्रेसको भावी नेतृत्वको सम्बन्धमा स्पष्ट खाकासमेत बन्न सकेको छैन । बरु कतिपयले फेरि महाधिवेशन सार्ने चर्चा गर्दैछन् ।
कांग्रेसको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको पूर्वसन्ध्यामा सम्पन्न भएका जिल्ला तहको अधिवेशन र त्यो अधिवेशनले चयन गरेको नेतृत्वको खाकालाई हेर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका संस्थापन र संस्थापन इतर पक्ष अंकगणितीय हिसावले चाहिं लगभग समानरुपमा देखा पर्दैछन् । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवासँग विद्रोह गरेर आफैं सभापतिका उम्मेद्वार हुने घोषणा गरिरहँदा प्रधानमन्त्री तथा सभापति देउवा भने दोस्रो कार्यकालका लागि पनि सभापतिमा निर्वाचित भएर पार्टीको नेतृत्व हाँक्ने गृहकार्यमा सक्रिय भएर लागिराखेका छन् । उता, संस्थापन इतर पक्षबाट को उम्मेद्वार भएर देउवालाई चुनौती दिन्छ भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
संस्थापना इतर पक्षको नेताको रुपमा रामचन्द्र पौडेलको चर्चा हुने गरेको भएपनि यो पक्षले पौडेललाई सभापतिको एक्लो उम्मेद्वार बनाउने स्थिति भने लगभग समाप्त भएको अवस्था छ । यही कारणले गर्दा नै रामचन्द्र पौडेलले आगामी आमनिर्वाचन सम्पन्न नभएसम्म १ वर्षका लागि भएपनि आफू सभापति हुनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले गणेशमान परिवारले सँधैभरी त्याग मात्रै गर्नुपर्ने हो भन्ने प्रश्न कांग्रेसी कार्यकर्ताका बिचमा राख्दै आफू कांग्रेसलाई नेतृत्व दिनका लागि सभापतिमा उम्मेद्वार हुने घोषणा गरिसकेका छन् ।
अहिले सभापति देउवालाई चुनौती दिन संस्थापन इतर पक्षबाट निधि र प्रकाशमान सिंह चुनावी मैदानमा उत्रिसकेका भएपनि देउवालाई बलियो चुनौती भने विपी कोइराला पुत्र शशांक कोइराला र विपीका भतिजा शेखर कोइरालाले मात्र दिने स्थिति रहेको छ । तर, शशांक र शेखर दुवैजना सभापतिको निर्वाचनमा मैदानमा उत्रिएको अवस्थामा त्यसको फाइदा शेरबहादुर देउवालाई पुग्ने भनेर शशांक र शेखरमध्ये एकजना मात्र कोइराला परिवारबाट सभापतिमा उम्मेद्वारी दिलाउन नेता कोइरालाहरू निकट व्यक्तिहरूले प्रयास गरिराखेका छन् ।
महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर कोइरालाका बीचमा यही सम्बन्धमा शेखर कोइरालाको निवासमा लामो छलफल भएको थियो । शशांक कोइरालाले शेखर कोइरालाई सभापतिको उम्मेद्वारमा समर्थन गर्ने सहमति दुई कोइराला बन्धुका बीचमा भएको स्रोत बताउछ । यो सहमतिलाई भोलिपल्ट विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र त्यो पत्रकार सम्मेलनमा गिरिजापुत्री सुजाता कोइरालालाई समेत उपस्थित गराउने सहमति कोइराला बन्धुका बीचमा भएको थियो । यो सहमतिअनुसार शेखर कोइरालालाई सभापतिको उम्मेद्वार घोषणा गर्न आयोजना गरिने पत्रकार सम्मेलनलाई सम्बोधन गर्न भनेर शेखर निवासमा महामन्त्री शशांक पुगेका थिए । शशांक शेखर निवासमा पुगेपछि पत्रकारहरूसँगै सुजाता कोइरालालाई समेत बोलाउने काम भएको थियो । तर आकस्मिकरुपमा प्रधानमन्त्री देउवाले बोलाएको भनेर महामन्त्री शशांक कोइराला शेखर निवासबाट बाहिरिए र उनी नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्कासँग हेलिकोप्टर चढेर संखुवासभा पुगेको खबर शेखर निवास आइपुग्यो ।
शशांक कोइरालाले दुई दाजुभाइका बीचमा भएको सहमतिलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक नगरी किन संखुवासभा बिना सूचना शशांक पुगे भन्ने प्रश्नले अहिलेसम्म जवाफ पाउन सकेको छैन । यसैगरी ११ दिनपछि हुने १४ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि शशांक र शेखरमध्ये कसले उम्मेद्वारी दिन्छ वा पहिलो चरणमा चाहिं दुबैजना उम्मेद्वार हुन्छन् भन्ने पनि प्रष्ट हुन सकेको छैन ।
कांग्रेस नेतृत्व कोइराला परिवारभित्रै ल्याउनका लागि भइराखेको अभ्यास असफल भएर शेखर र शशांक दुबैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए शेरबहादुर देउवाले सहजै विजय प्राप्त गर्ने ठम्याई कांग्रेसभित्र हुन थालेको छ । नेपाली कांग्रेसमा उम्मेद्वारको टुंगो नलागेकै कारणले गर्दा प्यानल पनि अहिलेसम्म बन्न सकेको छैन । यही कारणले गर्दा अहिले नयाँ पुस्ताका आधा दर्जनभन्दा बढी नेता महामन्त्रीमा उम्मेद्वारी दिन भनेर अगाडि आइराखेका छन् । यसरी महामन्त्रीको उम्मेद्वार हुन भन्दै अगाडि आएका कांग्रेसी नेताहरूको रणनीति भने सभापतिको बलियो उम्मेद्वारको प्यानलमा सामेल भएर चुनावी मैदानमा उत्रिने रहेको छ ।



