ताशकन्त। उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान हुन लागेको छ ।
वर्तमान राष्ट्रपति शाभ्कात मिजियोयेभ पनि आफ्नो कार्यकाल फेरि दोहो¥याउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । निर्वाचनका लागि एक करोड ९० लाख मतदानाले मतदान गर्न पाउने निर्वाचन आयोगले शनिबार जानकारी दिएको छ ।
निर्वाचनको सुपरिवेक्षण गर्न ९७० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आइसकेको पनि आयोगले जनाएको छ । त्यसैगरी एक हजारभन्दा बढी पत्रकारहरुले पनि मतदानलाई नजिकबाट नियालेर समाचार सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको आयोगको अधिकारीहरुको भनाई छ ।
वर्तमान राष्ट्रपति मिर्जियोयेभले सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिनु भएको हो । उहाँलाई चुनौती दिदै नेस्नल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टीस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिनु भएको छ ।
प्रारम्भीक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहो¥याउने सम्भावना रहेको देखाएका छन् ।एजेन्सी



