सिद्धार्थनगर, ३ कात्तिक (रासस) : भारत, जगन्नाथ पुरीस्थित गोबर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द यही कात्तिक ७ गते नेपाल आउनु हुने भएको छ । शङ्कराचार्य निश्चलानन्द नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंँग सम्बन्धित सङ्घसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधीशहरु भैरहवा भेला हुने भएका छन् ।
भैरहवामा कात्तिक आयोजित पत्रकार सम्मेलनमा आचार्य किशोर गौतमले शङ्कराचार्य लुम्बिनीस्थित कक्रहवा नाकाबाट नेपाल आई अर्कोदिन महेन्द्रसभागृहमा धार्मिकसभा सरिक हुने जानकारी दिनुभयो ।
आचार्य गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान् ॐकार परिवारका सबैलाई सहभागी हुन अनुरोधसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “धर्मसभामा हिन्दूधर्मका प्रकाण्ड विद्वान्, धर्मगुरु, पीठाधीशहरुको पनि सहभागिता हुनेछ । ”
धर्मसभा व्यवस्थापन समिति मूल आयोजक समितिका संयोजक समेत तथा उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले हिन्दू धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि गरिने सभामा सबै नेपालीको सहभागिताको अपेक्षा गरिएको बताउनुभयो ।
देशैभरका सनातन हिन्दूको सहभागितामा सम्पन्न हुने सभा भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको धर्मसभा व्यवस्थापन मूल आयोजक समितिका सहसंयोजक ठाकुरकुमार श्रेष्ठले बताउनुभयो ।
विभिन्न विषयमा करीब पाँच सयभन्दा बढी पुस्तकका लेखक तथा उडिसा राज्यस्थित शङ्कराचार्य पीठका शङ्कराचार्य नेपाल आउने भएपछि हिन्दूधर्मालम्बीहरु स्वतःस्फूर्त रुपमा स्वयंसेवी भावले कार्यक्रम सफल पार्न खटिएको सङ्घसंस्था समन्वय उपसमिति संयोजक कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
–––



