काठमाडाैं । शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकाे ७८ दिन बित्याे । सत्ता गठबन्धनका दलहरु चाहिं अझै मन्त्री छान्न मै व्यस्त छन् । ढिलोमा २०७८ असाेज १३ गतेसम्म मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका कारण दलका नेताहरु मन्त्रालय टुंगो लगाउने र मन्त्री छान्ने प्रयास गरिरहेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल असाेज ११ गतेबाट अस्वस्थ भएका कारण गठबन्धनका नेताहरुबीच छलफल भने हुन सकेको छैन् । स्राेतका अनुसार, चार दल बीच मन्त्रालयको संख्या टुंगो लागेपनि कुन कुन मन्त्रालयकाे नाम टुंगो लागेको छैन् ।
मन्त्रालय विभाजन गरेर भएपनि संख्या पु¥याउने प्रयास भइरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाई र उद्योग, वाणिज्य तथा आपूर्तिमध्ये एउटा मन्त्रालय विभाजन गर्ने बारेमा पनि गठबन्धनमा छलफल भइरहेको स्राेत बताउछ । नेकपा एकीकृत समाजवादी दलभित्र मन्त्रीका लागि निकै अन्तरविराेध चर्केर छिनाझप्टी हुन थालेपछि माधव नेपालकाे दललाई ६ वटा मन्त्रालय दिने सहमति जुटेपछि यो छलफल भएको हो । पहिला ५ वटा मन्त्रालय र एकवटा राज्यमन्त्री नेपाल पक्षले पाउने भनिएको थियो ।
त्यसैगरी उपेन्द्र यादववीचको अन्तरविरोध मिलाउन पनि त्यही प्रयास गरिएको छ । माधव नेपालनिकट नेताहरुमध्ये केही नेताहरु मन्त्री बनाउनु नै पर्ने दबाबमा छन् तर उनीहरु नै मन्त्री बन्ने संभावना पनि छ । त्यसैले पनि नेपाल अहिले दबाबमा छन् र मन्त्री बन्नेको सूची बाहिर आउन सकेको छैन् ।
एकीकृत समाजवादीले शिक्षा, पर्यटन, भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालय लिने बताइएको छ । र, अनि एउटा सानाे मन्त्रालयहरु एकीकृतको भागमा पर्ने बताइएको छ । उता, उद्योग, शहरी र सहकारी र स्वास्थ्य मन्त्रालयमा जसपाको दावी छ । र ,भौतिकमा पनि दाबी छोडेको छैन् । तर, भौतिक मन्त्रालयमा भने विरोध खतिवडाले लिने गरी सहमति जुटेको पनि बताइएको छ ।
एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री र मेटमणि चौधरीलाई मन्त्री बनाउने अन्तिम सूची तयार भएको स्राेत बताउछ । तर, भवानी खापुङलाई कसरी समेट्ने भन्ने प्रश्न पनि एकीकृत समाजवादीभित्र प्रसंग उठेको छ । त्यसबाहेक मधेशबाट प्रतिनिधित्व गराउने कुरामा पनि समस्या भएको छ । त्यसलाई सम्बोधन गर्न सरला यादवलाई एकीकृत समाजवादीले उपसभामुख बनाउने गरी छलफल अगाडि बढेको छ ।
राष्ट्रियसभा सदस्य तथा भीम रावलको साथ छोडेर आएका शेरबहादुर कुँवरलाई आलेको सट्टा मन्त्री बनाउने सकिनेबारे पनि छलफल भएको थियो । तर, आलेले कराेडाैं खर्च गरेर अन्तिम समयमा ८ जना सांसद ल्याएर माधव नेपालको नाक जोगाईदिएका कारण आले नै पहिलो रोजाइमा परेका छन् ।
जसपाको तर्फबाट भने राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई र अमृता अग्रहरि मन्त्री बन्ने सूचीमा रहेकाे स्राेत बताउछ । तर, श्रेष्ठ वा यादवमध्ये कसको नेतृत्वमा जाने भन्ने चाहिं टुंगो लागेको छैन् । रामसहाय यादव पनि मन्त्री बन्नेकै सूचीमा छन् । मन्त्री बन्नका लागि राजकिशोर यादवले पनि प्रयास गरिरहेका छन् तर उनको संभावना कम रहेको नेताहरुको भनाइ छ ।



