काठमाडौं । २०७८ भदौ २ गते मन्त्रिपरिषद्ले निर्णय गरेर पठाएको राजनीतिक दलसम्बन्धी कानूनलाई राष्ट्रपति कार्यालयले अनुमोदन गरेसँगै नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
बहुमतको आधारमा प्रथम अध्यक्षबाट साधारण सदस्यमा झारिएका जनता समाजवादीका नेता महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्ने प्रक्रिया निर्वाचन आयोगमा अगाडि बढाएका थिए ।
निर्वाचन आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई वैधानकिता दिँदै यी पार्टीको पक्षमा रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादीका निर्वाचित पदाधिकारीहरुको स्थानीय तहसम्म सनाखत गर्न २०७८ भदौ २२ गते सम्मको मिति निर्धारण गरेको थियो ।
निर्वाचन आयोगले निर्धारण गरेको यो मितिमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीमा जनता समाजवादीका १४ जना सांसद प्रवेश गरेर निर्वाचन आयोग समक्ष सनाखतसमेत गरेका थिए । तर अहिलेसम्म लोकतान्त्रिक समाजवादीले आफ्नो संसदीय दलको नेता भने चयन गर्न सकेको छैन ।
संसदीय दलको नेतामा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो तथा शरत् सिंह भण्डारीले दावी गरेपछि लोकतान्त्रिक समाजवादीले यस सम्बन्धमा निर्णय गर्न नसकेको हो । स्रोतका अनुसार, राजेन्द्र महतो निकट केही सांसदहरु जनता समाजवादीमा नै रहेकाले अहिले महतो राजनीतिक रुपले लोकतान्त्रिक समाजवादीमा कमजोर अवस्थामा रहेका छन् ।
यसैगरी, उता सरकारको एउटा घटक जनता समाजवादीले पनि वर्तमान सरकारमा कसको नेतृत्वमा जाने भन्ने सम्बन्धमा अहिलेसम्म निर्णय गर्न सकेको छैन । जनता समाजवादीको तर्फबाट सरकारमा सामेल हुने टोलीको नेतृत्व गर्ने होडमा अध्यक्ष उपेन्द्र यादवसँगै वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठसमेत रहेका छन् । तर वर्तमान सरकारमा सामेल हुने आफ्नो दलको सांसद छनोट गर्न बनेको उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईको कार्यदलले यस सम्बन्धमा निर्णय गर्न सकिराखेको छैन ।



