काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले जाँदाजाँदै आफ्ना निकटदेखि निजी सचिवसम्म सबैलाई सम्मान गरेका छन् । अख्तियार दिवस माघ २८ मा आफ्ना पीएदेखि विश्वासपात्रहरूलाई पुरस्कृत गरी २०७४ माघ २९ मा ६५ बर्षे उमेर हदले उनी बिदा भएका हुन् ।
शेरबहादुर देउवाले बृद्धभत्ता लिने उमेर ७० बाट ६५ बर्षमा झारे पनि बस्नेतले अख्तियारका पदाधिकारीको उमेर हद ६७ बर्ष बनाउने भगिरथ प्रयत्न गरे पनि सकेनन् । र, अख्तियारबाट बिदा भइसकेका छन् । बस्नेतले अख्तियारको प्रहरी महाशाखाका प्रमुख उत्तम कार्कीलाई पदस्थापन भएको ६ महिनामै पुरस्कार दिएर कामभन्दा चाकडी गर्नेहरू नै पुरस्कृत हुन्छन् भन्ने उदाहरण दिएका छन् ।
कार्की अख्तियारमा २०७४ साउन ३२ मा पदस्थापन भएका थिए । पुरस्कार दिनका लागि कम्तीमा १ बर्ष काम गरेको हुनुपर्ने प्रचलन अख्तियारमा रहेको स्रोत बताउछ । तर, बस्नेतले ६ महिनामै डीआईजीपी कार्कीलाई पुरस्कार दिएर प्रचलन पनि तोडेर विदा भएको गुनासो कर्मचारीहरूले नै गर्दैछन् ।
अख्तियार दिवसको उपलक्ष्यमा जो जो पुरस्कृत भए ती सबै पुरस्कारका लागि योग्यभन्दा पनि दीप बस्नेतको चाकडी गर्ने र कमाउधन्दामा सहयोग गर्नेहरू नै रहेको गुनासो सुनिन्छ । अख्तियारबाट पुरस्कृत हुनेहरूमा अनुसन्धानमा पोख्त र निर्विविवाद ब्यक्तिहरू कम छन् । अख्तियारमा राम्रो काम गर्नेहरूभन्दा प्रमुख आयुक्तका पीए र उजुरीमा डिल गर्नेहरू अधिकांश पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरूमा सहन्यायाधिवक्ता शंकर खत्री, उपसचिवद्वय ज्ञानेन्द्रप्रसाद ढकाल र हुमकला पाण्डे छन् । त्यसैगरी शाखा अधिकृतहरू लक्ष्मण बास्तोला र बालकृष्ण कोइरालालगायतका कर्मचारी पनि स्थापना दिवसमा पुरस्कृत भएका छन् ।
शंकर खत्री अख्तियारको १ नम्बर महाशाखामा बसी प्रमुख आयुक्तको लागि निजी काम गर्ने मुख्य पात्र भनेर चर्चित छन् । १ नम्बर महाशाखाले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात जस्ता ठूला मन्त्रालय हेर्ने गर्दैआएको थियो । उक्त शाखामा खत्री कार्यरत थिए । लक्ष्मण बाँस्तोला प्रमुख आयुक्त दीप बस्नेतका निजी सचिव हुन् ।
बालकृष्ण कोइराला बस्नेतका पीए बसेर पनि ब्यक्तिगत स्वार्थका लागि स्टोरमा सरुवा भएका कर्मचारी हुन् । पुरस्कृतमध्ये अख्तियारको बुटवल कार्यालयका एसपी विमल बस्नेत पनि प्रमुख आयुक्तका विश्वासिला प्रहरी रहेको चर्चा अहिले अख्तियारमा सुरु भएको छ ।
प्रमुख आयुक्त बस्नेतले उनलाई डीएसपी हुँदा पनि बुटवल अख्तियारको निमित्त प्रमुख दिएर राखेका थिए । एसपी भएपछि पनि उनी बुटवल प्रमुखका रुपमा कार्यरत रहँदैआएका छन् । बुटवल क्षेत्रका उजुरीमा मोलमोलाई गर्ने गरेको र आयुक्त बस्नेतलाई खुसी पारेवापत पुरस्कृत भएको चर्चा छ ।
पुरस्कृत कर्मचारीमध्ये प्रमुख बस्नेतका पीए बँँस्तोला सबैभन्दा बढी विवादित कर्मचारी हुन् । अख्तियारमा दीप बस्नेत कार्यवाहक समेत गरी १ बर्ष प्रमुख आयुक्त हुँदा सबैभन्दा बढी हालीमुहाली गर्नेमा लक्ष्मण बाँस्तोला नै भएको चर्चा अख्तियारका कर्मचारीहरू गर्दछन् ।
अख्तियार स्रोतका अनुसार, बाँस्तोला सहसचिवलाई त नमस्कारसमेत गर्दैनथे, सहसचिवले नै उनलाई नमस्ते गर्नुपर्ने दम्भ उनमा हावी थियो । अख्तियारको मुलढोकादेखि ड्युटीमा कार्यरत प्रहरीहरू आयुक्तहरूलाई भन्दा बढी बुट बजारेर पीए बाँस्तोलालाई सलुट गर्थे । मानौं उनी अख्तियारका आयुक्त नै हुन् ।
प्रमुख आयुक्त बस्नेतले उजुरीमा ‘डिल’ गरी लाभ पु¥याएबापत बाँस्तोलालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको चर्चा अख्तियारमा ब्यापक हुँदैछ । सरकारी कर्मचारी भएर पनि आयातको ब्यापार गर्ने बाँस्तोलामाथि अकूत सम्पत्तिको आरोपमा छानबिन गर्नुृपर्नेमा अख्तियारले पुरस्कृत गरेकोमा आयोगका कर्मचारीहरू चकित परेका छन् ।
दीप बस्नेत जाँदाजाँदै अर्थमन्त्रालय अन्तर्गत राजस्व समूहका अधिकृत झविन्द्र पोखरेललगायत १० जना अर्बपति कर्मचारीको उजुरी तामेलीमा राख्नका लागि प्रतिब्यक्ति ३० लाखका दरले उठाएको आरोप पनि बाँस्तोलामाथि छ । जाँदाजाँदै बस्नेतले पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालको उजुरी पनि तामेलीमा राखेबापत पनि आकर्षक शुभलाभ हात पारेको आरोप छ ।
बाँस्तोलाको दरबन्दी २ बर्षदेखि रसुवा भन्सार कार्यालयमा छ । प्रमुख आयुक्तको संरक्षणप्राप्त बाँस्तोलाले उनको नाम लिएर अर्थमन्त्रालयका सचिव र सहसचिवलाई दबाब दिएर २०७४ असोजमा आकर्षक भन्सार र राजश्व कार्यालयमा कर्मचारी सरुवा गरेका थिए । जुन सरुवामा उनले १५ देखि २० लाख रुपैयाँसम्म असुली गरेको आरोप छ ।
अर्थ मन्त्रालय र अन्तर्गतका भन्सार, राजश्व र आन्तरिक राजश्व विभागबाट गएको असोजमा भएको सरुवामा बाँस्तोलाको सिफारिसमा मात्र २० जना विभिन्न तहका कर्मचारी सरुवा भएको स्रोतको दावी छ ।
भन्सार अधिकृतहरू वीरेन्द्र पाण्डे र दयानन्द केसी बाँस्तोलाकै सिफारिसमा रसुवा भन्सार कार्यालयमा सरुवा भएका थिए । भन्सार अधिकृतद्वय अर्जुन पाठक भैरहवा र सुशील थापा बिराटनगर भन्सार कार्यालयमा सरुवा भएका थिए । प्रमुख आयुक्तको सूची भनेर उनले यसै गरी २० जना भन्दा बढी सरुवा आर्थिक लेनदेनका आधारमा गरेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।
उनी रसुवा भन्सारमा दरबन्दी राखी २ वर्षदेखि नै अख्तियारमा कार्यरत छन् । रसुवा भन्सारमा दरबन्दी राखेर अख्तियारमा बसेका उनका केरुङ नाकाबाट सामान आयात गर्ने ६ वटा व्यापारिक फर्ममा लगानी रहेको स्रोतले बताएको छ ।
उनले आफ्नो लगानी भएको ब्ल्याक डाइमण्ड इन्टरप्राइजेजलगायतका कम्पनीका ट्रक र कन्टेनरमा आयात गरिएका सामानको भन्सार मूल्याङ्कनमा कडाइ नगर्न पनि भन्सारका कर्मचारीहरूलाई दबाब दिएर यसबीचमा करोडौं करोडका सामान भित्र्याउने गरेको स्रोतको दावी छ ।
दीप बस्नेतको अविराम कमाउयात्रा
झापा मालपोतदेखि कमाउधन्दामा लिप्त भएको आरोप खेप्दै आएका दीप बस्नेतको यात्रा अख्तियारमा पुग्दा पनि बिराम लागेन । उनले अख्तियारमा पनि कमाउधन्दा नै संचालन गरेको, ठूला ठूला भ्रष्टाचारका उजुरी उनले घर्रामा हाली मोलमोलाई गरेको गंभीर आरोप लाग्यो ।
राजस्व अनुसन्धान विभागको महानिर्देशक, भौतिक मन्त्रालयको सचिव हुँदा पनि बस्नेतको ध्यान कमाउनमै केन्द्रित भएको अरोप खेप्दै आएक थिए । उनले अख्तियारमा बसेर भौतिक पूर्वाधार मन्त्रालयको ८४ अर्ब नीतिगत भ्रष्टाचारको छानबिन नगरेबापत ठूलो फाइदा लिएको चर्चा छ ।
उमेरहद ६५ बाट ६७ बनाउन तल्लीन भएर लागेका उनले जागिर खाने क्रममै नागरिकताको उमेर सच्याएको खुलेको छ । उनको शैक्षिक योग्यताको प्रमाणपत्रकै बारेमा अख्तियारमा छानबिन भइरहेको थियो । तर प्रमाणपत्रकै बारेमा छानबिनमा रहेका बस्नेतलाई अख्तियारको आयुक्त बनाउने काम नेताहरूले घुस खाएर गरे ।
लोकमानसिंह कार्कीको सनकका कारण उनी अदालतबाट पदच्यूत भएपछि बस्नेत प्रमुख आयुक्तसम्म भए । बस्नेतले अख्तियारको प्रमुख आयुृक्त भएपछि पदको कति दुरुपयोग गरे भन्ने कुरा भाइ नरेन्द्रराज बस्नेतलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष मात्र बनाएनन्, समितिमा २ अर्ब बजेट समेत हाल्न अर्थमन्त्रालयलाई दबाब दिएका समाचार आए । समितिमा ब्यापक भ्रष्टाचार भएकाले अर्थले बजेट नदिएपछि बजेट महाशाखा प्रमुख केवल भण्डारीलाई १३ पन्ने विवरण भर्न लगाएर दुःख दिए ।
जाँदाजाँदै दीप बस्नेतको करामत !
जाँदाजाँदै आयल निगमका गोपालबहादुर खड्काको उजुरी तामेलीमा राख्ने उनको प्रयत्न सफल हुन सकेन । झापाको विर्तामोडको गिरीबन्धु टी स्टेटको २८० बिगाहा जमिनको हदबन्दी फुकुवा रोक्नका लागि परेको उजुरी तामेलीमा राख्न उनले अथक प्रयत्न गरेका थिए । त्यसमा छत्रबहादुर गिरीहरूबाट उनले पेश्की घुस लिइसकेकाले उजुरी तामेलीमा राख्न निकै चासो राखेका थिए ।
गिरीबन्धु टी स्टेटको विर्तामोडको जग्गा हदबन्दी फुकुवा गरी पृथ्वीनगरको जग्गा हदबन्दी कायम गर्नेगरी भूमाफियाहरूले लामो समयदेखि चलखेल गर्दैआएका छन् । विर्तामोडको हदबन्दी लागेको जग्गा प्रतिकट्ठा ८० लाख रुपैयाँ पर्छ भने पृथ्वीनगरमा प्रतिबिगाहा २० लाख रुपैयाँसम्ममा पाइन्छ । प्रतिबिगाहा २० लाख पर्ने जग्गा किनेर त्यो हदबन्दीमा राखी विर्तामोडको जग्गा फुकुवा गर्न हरेक सरकारका पालामा छत्रबहादुर गिरीहरूको दौडधूप हुँदैआएको छ ।
अख्तियारमा परेको उजुरी देखाएर तत्कालीन भूमिसुधार सचिव हालका मुख्यसचिव लोकदर्शन रेग्मीले नै उक्त जग्गा हदबन्दी फुकुवा गर्नबाट रोकेका थिए । तर बस्नेतले उक्त उजुरी तामेलीमा राखिदिने भनेर लाभ लिइसकेका थिए । तर जानेबेलामा उनले तामेलीमा राखे कि राखेनन् भन्ने कुरा अख्तियार स्रोतबाट जानकारी प्राप्त हुन सकेको छैन ।
कान्छी बहिनीभन्दा कम उमेर ?
दीप बस्नेतको प्रमाणपत्रको बारेमा मात्र होइन, उनी बिदा भएपछि नागरिकतामा समेत जन्ममिति सच्याएको खुलेको छ । बस्नेतको उमेर उनकी कान्छी बहिनीभन्दा पनि कम भएको खुलासा भएको अख्तियार स्रोत बताउछ । यसरी उमेर ढाँटेका बस्नेतले अवकाशको उमेर समेत बढाएर ६७ बर्ष पु¥याउन लागेका थिए ।



