काठमाडाैं । जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आ.व. २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगबाट अनुसन्धान हुँदा भ्रष्टाचार भएकाे पुष्टि भएकाे छ ।
अख्तियारका अनुसार, एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरु रमेश पराजुली र सन्दीप के.सी.ले नवलपरासी जिल्ला सुनवल नगरपालिकाको पानभार खोलाको आ.व. २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासी सन्दर्भमा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी रु.७५,८०,६४९।–रकम उठाई गैरकानूनी लाभ लिएको पुष्टि हुन आएको अख्तयारकाे ठहर रहेकाे छ ।
निज रमेश पराजुली तथा सन्दीप के.सी.को उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरजन्य कार्य भएकोले निजहरुलाई बिगो रु.७५,८०,६४९।–(पचहत्तर लाख असी हजार छ सय उनन्चास रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन र उक्त बिगो सोही दफा ८ (४) बमोजिम जफत हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम भदाै २७ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।



