काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको योग्यतामाथि गम्भीर प्रश्न उठेको छ । कोषको कार्यकारी निर्देशकका लागि खतिवडाको योग्यता नपुग्ने भन्दै कोषभित्रबाटै प्रश्न उठेको स्राेत बताउछ । स्राेतका अनुसार, त्यही प्रश्नका कारण सदस्य सचिव प्रदीप ढकालले बाटो क्लियर गर्न खतिवडालाई सुझाव दिएका छन् ।
कोषका कतिपय विवादास्पद योजनाहरु ढकाल र खतिवडाले मिलेर चलाउने गरेका थिए । खतिवडामाथि कार्यकारी निर्देशकको लागि न्यूनतम योग्यता नपुग्ने भन्ने प्रश्न उठेसँगै कोषका सदस्य सचिव ढकालको कार्यकाल पनि २०७८ साउन २८ गते नै सकिन लागेको छ ।
एक महिनाभित्र ढकालको कार्यकाल सकिने भएपछि कार्यकाल थपका लागि दौडधुपमा लागेका छन् । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा गएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय ठाकुर र महतोकै पक्षमा परेका कारण ढकालले दोहोरिनका लागि राहतको श्वास फेरेका थिए । किनभने ढकालकै बहिनी नरमाया ढकाल महतो पक्षको समानुपातिक सांसद रहेकी छिन् ।
बहिनीको प्रभावले ढकाल दोहोरिने संभावना बढेको थियो । तर, एक्कासी ठाकुर र महतो पक्ष कमजोर भएपछि अब अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र बलियो बन्न लागे र संसद पुनर्स्थापना भएका कारण मन्त्रीहरु यादव पक्षले पठाउने स्थिति आयो ।
त्यसपछि ढकालले अर्को रणनीति अख्तियार गरेकाे खबर छ। सदस्यसचिव दोहोरिनका लागि ढकालले आफ्नी बहिनी नरमाया ढकाललाई गुट परिवर्तन गर्न लगाए ।
क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकालकाे साेर्सफाेर्समा आर्थिक चलखेलसहित महतोले ढकाललाई सांसद बनाएका थिए । महतो पक्षकी तिनै ढकाल संसद पुनर्स्थापना भएपछि यादव पक्षमा खुलेकी छिन् ।
२०७८ साउन २ गते शनिवार यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा ढकाल सहभागी भईन् । भाइलाई पशुपति विकास कोषको सदस्यसचिव दोहो¥याउने खेलसँगै ढकालको गुट परिवर्तन भएको जसपाभित्र चर्चा चलेको छ ।
यो गुट परिवर्तनले लुम्बिनी प्रदेश पनि प्रभावित हुनेछन् । ढकालको गुट परिवर्तनले लुम्बिनी प्रदेशकी जसपा सांसद कल्पना पाण्डेले पनि गुट परिवर्तन गर्न सक्ने आंकलन गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेर मन्त्री भएकी पाण्डेको उठबस र सम्बन्ध ढकाल परिवारसँगै रहेको स्रोत बताउछ ।
नरमाया ढकाल र कल्पना पाण्डेलाई प्रदीप ढकाल र नवराज लम्सालको साँठगाँठकै कारण उपल्लो तहका मधेशी नेतालाई रिझाएर सांसद बनाइएको स्रोत बताउछ । त्यसैले काठमाडौंको तरंग लुम्बिनी प्रदेशसम्म हल्लिने अवस्था रहेको छ ।



