काठमाडाैं । २०७६ पौष ०२ गते नेपाली सेना र काठमाण्डौं महानगरपालिका बीच वीरेन्द्र अस्पताल, छाउनीमा हेमोडाईलाईसिस (मृगौला सम्बन्धी) सेवा उपलब्ध गराउने सम्बन्धमा भएको समझदारी (MoU) अनुरुप २०७८ आषाढ २७ गते काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट संयुक्त रुपमा वीरेन्द्र अस्पतालमा खडा भएको हेमोडाईलाईसिस युनिटको एक समारोहका बीच समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
महानगरपालिकाबाट प्राप्त भएको रु. ३ करोड रकमबाट हेमोडाईलाईसिसका लागि आवश्यक भौतिक पूर्वाधार, हेमोडाईलाईसिस मेसिन गोटा ८, रिप्रोसेसिङ मेसिन थान १, पानी शुद्धिकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरु जडान गरिएको तथा संचालनको लागि आवश्यक जनशक्ति ७ जना (MBBS Doctor-1, Nurses-3, Paramedic-1, Cleaner-1 र Focal Person-1) समेत महानगरपालिकाले नै उपलब्ध गराउने भएकाे छ ।
साथै, उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका महानगरका मृगौलाका Sero Negative बिरामीहरुलाई निशुल्क दुई सिफ्टमा सेवा प्रदान गर्ने योजना अनुसार ८ वटा हेमोडाईलाईसिस मेसिनबाट ४८ जना बिरामीहरुलाई साताको दुई पटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ ।
उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, काठमाडौं महानगरपालिकाका उपमेयर तथा अन्य पदाधिकारीहरु लगायत विभिन्न मिडियाका सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।



