काठमाडौं । नेपाल प्रहरीमा अनौपचारिक पोशाकमा खटिनेलाई घुमुवाको संज्ञा दिने गरिएको छ । घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् । घुमुवा राखी असुली गर्ने प्रचलन हटाउन धेरै प्रयास भए । हरेक आइजीपी नियुक्त हुनासाथ घुमुवा राखी अतिरिक्त असुली गर्ने क्रम अन्त गर्ने भन्छन् । तर त्यसपछि सबैले बिर्सदै जान्छन् ।
प्रदेश नम्बर २ मा सबैभन्दा बढी घुमुवा राखिने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैका प्रदेश प्रमुख र जिल्ला तथा गणका हाकिमहरूमाथि घुमुवा राखी अतिरिक्त आम्दानी लिने गरेको आरोप लाग्दैआएको छ । अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने हुँदैआएको आरोप प्रहरीले भोग्दै आएको छ ।
प्रदेश नम्बर २ मा नेपाल प्रहरीका प्रमुख परिवर्तन भएका छन् । प्रदेश नम्बर २ को प्रमुखमा डीआइजी उमेश रञ्जितकार सरुवा भएका छन् । आइजीपी सचिवालय अन्तर्गतको उजुरी छानबिनमा समेत कार्यरत रहिसकेका उनले विगतमा राखिएका घुमुवाहरू यथावत राख्छन् कि हटाउँछन् भन्ने चासोका साथ हेरिएको छ । १० महिनामात्र सेवावधि रहेका रञ्जितकारले यसअघि असुलीका लागि खटिएका घुमुवालाई राखेमा उनी समेत बदनाम हुने प्रहरी स्रोत बताउँछ । आइजीपी शैलेश थापा क्षेत्रीसँगै उनी २०७९ वैशाख १८ गते अवकाश हुँदैछन् ।
प्रदेश नम्बर २ बाट ८ वटा जिल्लामा घुमुवा खटाइका छन् । पर्सामा हवल्दार श्याम साह सोनार, रामबाबु सिंह, राजु साह खटिएका थिए । बारामा सन्जय साह कल्वारलाई परिचालन गरिएको छन् ।
त्यसैगरी, रौतहटमा हवल्दार राजमंगल सिंह र सर्लाहीमा सिपाही रामसेवक ठाकुर खटिएका छन् । यीमध्ये केही घुमुवा त १० बर्षदेखि एउटै जिल्लामा कार्यरतच छन् । तिनैमध्येका हुन्, रौतहटमा कार्यरत जयमंगल सिंह । उनी १० बर्षदेखि रौतहटमा छन् ।
विगतमा आइजीपी सर्वेन्द्र खनालले नै प्रहरी केन्द्रीय कार्यालयबाटै सई कृष्णदेव साहको नेतृत्वमा तराईमा घुमुवा परिचालन गरेकोमा विवादमा तानिएका थिए । तर वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीले भने केन्द्रबाट घुमुवा खटाएका छैनन् । उनले २ नम्बरमा लामो समयदेखि कार्यरत धेरै घुमुवालाई पहाडी जिल्लाामा सरुवा गरी शुद्धिकरण अभियान थालेका थिए । तर अहिले पनि पर्सा, बारा, रौतहट र सर्लाहीमा घुमुवा राखेर असुली अभियान चलिरहेको छ ।
सर्लाहीका घुमुवा रामसेवक ठाकुरले त भारतसँग जोडिएको बलरा नाकाबाट भारततर्फ केराउदेखि मदिरा भारततर्फ तस्करी धन्दालाई संरक्षण गर्दै कमाउँदै आएको प्रहरी श्रोत बताउछ । भारतबाट कपडा नेपालतर्फ तस्करीको लाइन चलाउन दिएको आरोप ठाकुरले खेप्दै आएका छन् । ठाकुरले बिजय चौधरी, बिजय पुकार, सुनिल सिंह, राजाराम ठाकुर, सरोज यादव र मलंगवाका पटेल थर भएका व्यापारीलाई तस्करीको लाइन दिएका छन् ।



