काठमाडौं । ‘नेपाल नागरिक अभियान’ले सरकार र राजनीतिक दलको असफलताले मुलुक अनिश्चियको अध्याँरो सुरुङमा पसेको भन्दै सर्वपक्षीय राष्ट्रिय गोलमेच गरेर निकास दिन माग गरेको छ ।
अभियानले ०७८ जेठ १० गते एक अपिल सार्वजनिक गर्दै कोरोना महामारीसँगै अहिलेको राजनीतिक संकटको परिपक्व ढंगले निकास खोज्न माग गरेको हो ।
उसले राज्यका निकाय र सरकारबाट पटक–पटक उल्लंघन भएर संविधान औचित्यहीन सावित भएको ठहर पनि गरेको छ । संविधानको विरोधमा आम जनसमुदायले गरेको प्रदर्शनलाई उसले त्यसको दृष्टान्तको रूपमा प्रस्तुत गरेको छ ।
संविधान औचित्यहीन भइसकेकाले गोलमेच गरेर देशलाई निकास दिनुपर्ने उसको भनाइ छ । त्यस्तो गोलमेच सम्मेलनमा राजाका प्रतिनिधि राख्न उसले माग गरेको खछ ।
‘पटकपटक राज्य सरकारबाट नै उल्लंघन गरी औचित्यहीन सावित भएको वर्तमान संविधानकै विरोधमा आम जनसमुदाय सडकमा उत्रिएर विरोध भइरहेको परिप्रेक्ष्यमा निषेधको मानसिकताबाट माथि उठी राजनैतिक निकासका लागि राज प्रतिनिधि, सबै दलहरू, नागरिक अभियानका प्रतिनिधिहरूको सर्वपक्षीय राष्ट्रिय गोलमेचको पहल नहुनु राजनीतिक अपरिपक्वताको सूचक होईन र ?’ अभियानका संयोजक डा. ठाकुरमोहन श्रेष्ठद्वारा २०७८ जेठ ११ गते मंगलबार जारी अपिलमा भनिएको छ ।
कोभिड–१९ को संक्रमणबाट जनताले अकाल मृत्युवरण गरे पनि राजनीतिक दलहरूमा न्यूनतम मानवीय संवेदनशीलतासमेत नदेखिएको आरोप पनि अभियानले लगाएको छ ।
राष्ट्रमाथि आइपरेको संकटलाई पार लगाउँदै नागरिकका जीवन रक्षा गर्नुपर्नेमा राज्य सत्ता र व्यवस्था सञ्चालन गर्नेहरू सत्ता स्वार्थको दाउपेचमा लागेर नागरिकलाई अभिभावकविहीन र असहाय बनाएको अभियानको ठम्याइ छ ।
प्रतिनिधिसभा विघटनलाई लिएर दलहरू विभाजित बनिरहेका बेला अभियानले स्वास्थ्य संकटकाल लगाएर सत्ता टिकाइरहने दाउमा प्रधानमन्त्री र राष्ट्रपति लागेको आरोप लगाएको छ ।
देशका प्रजातान्त्रिक शक्ति, विभिन्न संघ संस्थाहरु, प्राज्ञ बुद्धिजीवी, पत्रकार, मानवअधिकारवादीको भूमिकाप्रति पनि अभियानले असन्तुष्टि जनाएको छ । राजनीतिक दलको अकर्मण्यता र बेइमानीले देश अस्तव्यस्त भए पनि यो सचेत समुदायले सशक्त आवाज उठाउन नसकेको अभियानको ठम्याइ छ ।
‘नेपाल अन्तर्राष्ट्रिय दाता मित्र राष्ट्र शुभचिन्तक मुलुकहरु तथा नेपालको विकासको साझेदार अन्तर्राष्ट्रिय संघ संस्थाहरु किन राज्य सरकार र ठूला दलहरु यस्ता भयानक गल्ती प्रति आंखा चिम्लेर मुकदर्शक बनेर समर्थन जनाइ रहेका छन्,’ अभियानले प्रश्न गरेको छ ।
नागरिक अभियान राजसंस्था, सनातन हिन्दू राष्ट्र र प्रजातन्त्रको वकालत गरेर एक वर्षअघिबाट चलाइएको क्याम्पियन हो । यसको नेतृत्व ठाकुरमोहन श्रेष्ठले गरेका छन् । उनी सशस्त्र प्रहरी बलका अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक हुन् ।



