काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवालाई आफ्नो समर्थन नरहेको पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पठाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो दल, माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम र एमालेको माधव नेपाल पक्षका सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्न शीतलनिवास पुगेका छन् । आफ्ना सांसदको हस्ताक्षरसमेत लिएर देउवा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न पुगेपछि ओली र ठाकुरले पत्र लेखेर दलको समर्थन नरहेको प्रष्ट पारेका हुन् ।
शीतलनिवास स्रोतले एमाले र जसपा दुवै दलबाट देउवालाई समर्थन प्राप्त नभएको व्यहोराको पत्र प्राप्त भएको जनाएको छ ।
संविधानको धारा ५ मा उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
उपधारा २ मा ७६(१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान छ ।
यसको अर्थ प्रधानमन्त्रीमा दाबी गर्ने प्रतिनिधिसभाको सदस्यले सांसदको नभएर दलको समर्थन जुटाउनुपर्छ । देउवाले दलको समर्थनबाट नभई सांसदबाट बहुमत सिद्ध गरेकाले उनको दाबी कमजोर हुने संविधानविद्हरूको तर्क छ ।



