काठमाडौं । पूर्व महापञ्च र पञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि यसपटक रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यसअघि राप्रपाले २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने निर्णय गरेकोमा सक्रिय सदस्यता वितरण र स्थानीय तहहरूको अधिवेशनका लागि समय अपुग भएको भन्दै २०७८ जेठ २२ देखि २५ गतेसम्मका लागि सारिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमणको ग्राफ बढेकाले पछिल्लो निर्धारित समयमा महाधिवेशन हुने निश्चित भने छैन । तैपनि, अबको एक महिनापछि हुने तय भएको महाधिवेशनलाई लक्ष्य गरेर अहिलेदेखि नै राप्रपामा चहलपहल बढेको छ ।
तीन टुक्रामा विभाजित भएर एक बनेको राप्रपामा अहिले पशुपतिशमशेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् । पार्टी एकताका निम्ति भागबन्डा मिलाउन संक्रमणकालीन समयका लागि तीन अध्यक्षको प्रबन्ध गरिए पनि अबको महाधिवेशनबाट भने एक जना मात्र रहनेछन् । एकल अध्यक्ष बनेर राप्रपालाई हाँक्न अहिले सामूहिक नेतृत्वमा रहेका तीनवटै अनुहारले रुचि देखाएका छन् ।
राष्ट्रवादी शक्ति एकीकृत गर्न खेलेको भूमिका र सिनियारिटीलाई मूल्यांकन गरेर आफूलाई सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने मत राणाको छ । थापा भने संगठनमा आफ्नो मजबुती देखाएर नेतृत्व हत्याउने ध्याउन्नमा छन् । लोहनीचाहिँ थापा र राणा ‘टेस्टेड’ भइसकेकाले उनीहरूको असफलता देखाएर त्यसको लाभ लिने दाउमा छन् ।
अहिलेका तीन अध्यक्षबीच नेतृत्वमा सहमति जुट्ने हो भने निर्वाचनबिनै राप्रपाको आगामी नेतृत्व चयन गर्नुपर्ने धारणा पनि राखिँदैछ । तर यस्तो आवाज राप्रपामा निकै सानो भोलुममा छ । राणा, थापा र लोहनी तीनै जना टेस्टेड भएको र आकर्षण गराउन सक्ने ल्याकत नभएकाले यिनलाई बिदा गरेर नयाँलाई अवसर दिनुपर्ने बहस राप्रपामा चल्न थालेको छ ।
कमल थापामा आपत्ति
सबैभन्दा बढी आपत्ति चाहिँ राणा र लोहनीमा भन्दा थापाको नाममा छ । राप्रपामा परिवारवाद लाद्ने, एजेन्डा बेचेर सत्ताका निम्ति सम्झौता गरेकाले थापालाई नेतृत्व दिँदा पार्टीमा थप दुर्दशा आइलाग्ने भएकाले उनीबाट मुक्त गर्नुपर्ने भन्दै केही नेता अहिलेदेखि नै माहोल सिर्जना गर्न सक्रिय भएका छन् । ‘अहिलेका तीन अध्यक्ष र नयाँ अनुहारको रुचि र सक्रियताले राप्रपामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था क्षीण बन्दै गएको छ,’ राप्रपाका एक नेताले भने ।
धवल शम्सेरहरूकाे पनि रहर
राप्रपाबाट पुराना अनुहारलाई बिदा गर्ने बहस उब्जिरहेका बेला नयाँ पुस्ताबाट पनि नेतृत्वमा दाबी गर्ने सिलसिला सुरु भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धवलशमशेर जबराले राप्रपाको भावी नेतृत्वका लागि दाबी प्रस्तुत गर्दैछन्। बौद्धिक, अनुभवी र राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बनाएका धवल शम्सेरले अन्तिममा पशुपति शम्सेरलाई सघाउने गुप्त समझदारी बनेको श्रोत बताउछ ।
त्यसैगरी नेपाल सरकारको कालो सूचीमा परेको कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे र २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा झापाबाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्र लिङ्देनलाई पनि अध्यक्षमा दाबेदारी प्रस्तुत गर्न सुझाव दिइएको छ । तर अहिलेसम्म धवलबाहेक कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर नयाँ र पुराना पुस्ताबीच स्पष्ट दुई लाइन देखिएको छ । त्यसैले राप्रपालाई नजिकबाट नियालिरहेकाहरू यसपटक राप्रपाका पुराना पुस्ताका नेतासँग नयाँ पुस्ता टिक्न सकेमा राप्रपा नेतृत्वका लागि रोचक प्रतिस्पर्धा हुने सम्भावना बढी देखिरहेका छन् ।



